भर्खरै :

माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम विजयी

माले, माल्दीभ्स, ८ असोज (एएफपी) । माल्दीभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दीभ्सको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । चुनावमा धाँधलीको आशङ्का गरिएपनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनकरुपमा पराजित हुनुभयो ।
निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणामअनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दीभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकले सडकमा खुसीयाली मनाउँदै नाचगान सुरु गरेका छन् । चुनावी नतिजाप्रति राष्ट्रपति यामीनले कुनै प्रतिक्रिया दिनुभएको छैन ।
सोलिहको पक्षमा विपक्षीले गठबन्धन निर्माण गरी चुनावी प्रचारमा उत्रिएका थिए । राष्ट्रपति यामीनले सञ्चार माध्यममाथि लगाएका प्रतिबन्धले चुनावमा धाँधली हुने आशङ्का व्यक्त गरिएको थियो ।
आइतबार सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेता जेलमा वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेता चुनावी मैदानमा थिएनन् । निर्वाचनमा विजयी घोषित नवनिर्वाचित राष्ट्रपति सोलिहले एक टेलिभिजन अन्तर्वार्तामा भन्नुभयो, “म जनताको इच्छालाई सम्मान गर्न राष्ट्रपति यामीनसँग आग्रह गर्दछु र सत्ताको शान्तिपूर्ण, सहज हस्तान्तरणका हुने अपेक्षा गर्दछु ।”
उहाँले राजनीतिक बन्दीलाई तत्काल जेलमुक्त गर्न पनि आग्रह गर्नुभयो । चुनाव हुनुअघि एमडीपीसमेत विपक्षी दलका कार्यालयमा प्रहरीले छापा मारेको थियो, तर कसैलाई पक्राउ गरिएको थिएन ।
पूर्व राष्ट्रपतिसमेत रहनुभएका एमडीपीका अध्यक्ष मोहमद नसीदले यो मतदानले मुलुकलाई लोकतान्त्रिक मार्गमा पुनःल्याउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति यामीनले हार स्वीकार्नुबाहेक अर्को विकल्प नरहेको पनि उहाँले बताउनुभयो । मोहमद नसीद हाल निर्वासनमा हुनुहुन्छ ।
यो निर्वाचनलाई चीन र भारतले महत्वका साथ हेरिरहेका छन् । संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले चुनाव स्वतन्त्र र स्वच्छरुपमा सम्पन्न नभए आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । माल्दीभ्सको यस चुनावमा दुई लाख ६२ हजार मतदाता रहेका थिए ।
माल्दीभ्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले सन् १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो । भारतले चुनावी नतिजाले लोकतान्त्रिक मूल्यमान्यतालाई पुनर्वहाली गर्ने विश्वास लिएको छ । पछिल्ला वर्षहरूमा राष्ट्रपति यामीनमाथि चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो । माल्दीभ्सका ठूला पूर्वाधार परियोजनाका लागि चीनले करोडौं डलर ऋण प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *