भर्खरै :

हजुरबुबाको चिठ्ठी

निर्जला
प्रिय नाति अमर र नातिना अमृता,
धेरै धेरै माया !
अस्तिको पत्र पायौ होला, तर त्यसको जवाफ आई नपुग्दै पत्र लेख्दैछु । केही दिन अगाडिमात्रै शासक दलहरूले मिश्रित ढङ्गले संविधान दिवस मनाए । सत्य के हो भने पालैपालो शासनमा जान पार्टीको नाम, झण्डा, धर्म, भाषा र जातको आधारमा दलहरू खडा गरेका हुन्छन् – पुँजीपति र सामन्त वर्गले । अमेरिकामा ‘गणतान्त्रिक’ र ‘प्रजातान्त्रिक’ नाम दिइएको छ भने बेलायतमा ‘अनुदार’, ‘उदार’ र ‘मजदुर’ दल आदि । नेपालमा राप्रपा ‘हिन्दुवादी’ र ‘मधेसवादी’ जस्ता सामन्त र जमिनदार वर्गका पक्षपाती दल छन् भने नेपाली काङ्ग्रेस विदेशी एकाधिकार पुँजी ‘परस्त’ अर्थात् पुजा गर्ने पश्चिमी पुँजीपति वर्गका हिमायती ! नेकपा भनिने ‘एमाले’, ‘कम्युनिष्ट’ नाउँको राष्ट्रियरूपले भाइकाङ्ग्रेस र ‘माओवादी केन्द्र’ भारतीय एकाधिकार पुँजीको ‘मथ्यापुत्र’ आदि !
भारत र पश्चिमी ‘मित्र राष्ट्रहरू’ ले नेपालका शासक दलका नेताहरूलाई देश–विदेश भ्रमण गराउँदै वा झिलिमिली देखाउँदै चार वर्षमा नेपालको ‘समाजवादउन्मुख’ संविधान बनाउन सहयोग गरे । नेपालका शासक दलहरूले आफ्नो हितमा संविधान बनाएको अनुभव गरे भने भारतीय एकाधिकार पुँजी र पश्चिमीहरूले आ–आफ्नो हितमा प्रयोग गर्ने छिद्रहरू राख्न सफल भए । जसरी छिद्रैछिद्र भएको डोकोमा पानी अड्दैन त्यस्तै अनेक अन्योल, अस्पष्ट र छिद्रहरू भएको पुँजीवादी संविधानले न गरिब नेपाली जनताको हित हुन्छ न त नेपालकै । यसबारे म तिमीहरूलाई चिठ्ठीमा प्रस्ट लेख्ने छु ।
मेरा अमर र अमृता,
नेपालमा अहिले ७ प्रदेश र धेरै नगर तथा गाउँपालिकाहरू घोषणा भए – शासक दलहरूले आ–आफ्नो अनुकूलको सीमा कोरेर । तर ती प्रदेशका मुख्यमन्त्रीहरूले संविधानले किटान गरिदिएका प्रदेशका अधिकार ‘लौरो न हतियार’ सम्झे । दक्षिणको छिमेकी भारतमा प्रान्तीय मुख्यमन्त्रीहरू लालु यादवको जस्तो अधिकार चाहन्थे भने कोही सोभियत सङ्घको केही सोभियत गणतन्त्रहरूजस्तै संयुक्त राष्ट्र सङ्घको सदस्य बन्न पाउने र विदेशसँग समेत सम्बन्ध राख्न पाउने वा कसैले भारतमा झैं ‘अर्धसङ्घीय’ जस्तो केन्द्रले प्रान्तीय सरकार र राज्यसभासमेत भङ्ग गर्न नसक्ने, संरा अमेरिकाको जस्तो राज्यको निर्वाचित गर्भनर ‘मुख्य मन्त्री’ बन्न चाहन्थे । कसैले प्रदेशसभालाई सिक्किमले जस्तै विदेशमा मिलाउन सक्ने अधिकार भएको सम्झे वा चाहना राखे । यस अन्यौलको मुख्य कारण जनतामा आवश्यक प्रजातान्त्रिक संस्कृतिबारे जानकारी दिन र सङ्घर्षलाई अगाडि बढाउन नसक्नु नै हो भन्ने केही बुद्धिजीवीहरूको ठम्याई छ ।
मेरा प्यारा नाति र नातिनाहरू,
धेरै गाउँहरूलाई नगरपालिका घोषणा गर्न शासक दलहरूले संविधानसभाबाट संविधान पारित गराए । तर गाउँले जनतालाई गाउँ र नगरका ऐन–कानुनहरू तथा नियमहरू के के हुन् भनी शिक्षत गर्न आवश्यक सम्झेनन् । त्यस्तै कर्मचारीहरूले केही नपढेका र केही थाहा नपाएका निर्वाचित जनप्रतिनिधिहरूलाई ‘नमस्ते’ गर्नुपर्दा र आफूभन्दा बढी भत्ताको नाउँमा तलब खाएकोमा र विदेश भ्रमण गर्दा इष्र्या गरेर जनतामा असन्तोष फैलियोस् भन्ने मनोविज्ञानको कारण गाउँपालिका र नगरपालिकाहरू घोषणा गरी ‘‘अब तिमीहरू पनि सहरिया र सभ्य भयौ’’ भनी फुर्काउने काम गरे । यसको परिणाम राम्रो आएन ।
‘नपाउनेले केरा पायो बोक्रासमेत खायो’ भन्ने उखानजस्तै गाउँ र नगरपालिकाहरूले करहरू थोपे । सिराहा जिल्लाको अनार्मा गाउँपालिका – ३ का ८० वर्षे रामप्रसाद ठाकुरले ‘सरसफाइ सेवा नै नपाएका अनार्मा गाउँपालिकाका जनतासँग सरसफाइ कर लिएको रसिद’ देखाएको तस्बिर छापे । (नागरिक– आर्थिक, ५ भदौ २०७५) । समाचारको शीर्षक थियो –‘जनप्रतिनिधि र कर्मचारीको खर्च जुटाउन कर ।’
त्यस्तै त्यस समाचारपत्रमा धनगढीमाई नगरपालिकाको करबारे लेखिएको थियो – ‘‘नागरिकता प्रमाणित गर्न ३०० रूपैयाँ कर, सम्बन्ध विच्छेद सिफारिसमा दुई हजार रूपैयाँ र निवेदन, सिफारिस, नक्कलमा पनि नयाँ दस्तुर कायम गरेको र केहीमा ५० प्रतिशत कर घटाएको छ ।’’
पुरानै नगरपालिकामा समेत गाउँका इन्स्पेक्टर, जाँचकी, कानुनी सल्लाहकारजस्ता कर्मचारीहरूले घूस खाएर काम गरेको र अनेक अनियमित कार्य गरेर घर बनाएको उदाहरणहरू छन् । त्यसका दुई कारण छन् – एक, कर्मचारी बन्नुको अर्थ १० बजेदेखि ४–५ बजेसम्म कार्यालयमा बस्नु र नियमित वा अनियमित काम गरेर पैसा कुम्ल्याउनु । तिनीहरूलाई सहरको नियम, जिम्मेवारी र नागरिकहरूप्रतिको जिम्मेवारी वा कर्तव्यबारे कसैले केही बताएकै हुँदैन । बिना कुनै तालिम, शिक्षा–दिक्षा र नगरको इतिहास, सौन्दर्य, ढल, उपचार पोखरी, नक्सा पासको उद्देश्य, दूरगामी प्रभाव आदिबारे थाहै छैन । केही नगरपालिकाका वार्डहरूमा राम्रोसँग लेख–पढ गर्न जान्ने र टाइप गर्नै नजान्ने सचिवहरू समेत छन् । प्रमाणपत्र, प्रवेशिकापत्र ती कर्मचारीहरूसँग छ तर स्कूलको नाम थाहा छैन । यसको दोषी को – विद्यालय, संविधान, परीक्षा लिने तथा नियुक्ति अङ्ग वा नगरपालिका घोषणा गर्ने प्रवृत्ति आदि ?
काठमाडौं उपत्यकाका नगरपालिकाहरूमै यस्तो स्थिति छ भने दुर्गम क्षेत्रको के हाल होला ? यस्तो बेला शासक दलका नेताहरू पूर्व र वर्तमान प्रधानमन्त्रीहरू एवम् मन्त्रीहरूका तस्बिर नागरिकहरूले झलझली सम्झिरहेका होलान् ।
केही सेवाग्राहीहरू नगरपालिका र वडा कार्यालयहरूमा कराई रहेका हुन्छन् – हामीले पार्टीलाई महिना–महिनामा चन्दा दिएका छौँ, निर्वाचनमा तिम्रो मेयर र वार्ड अध्यक्षहरूलाई मत दिएका छौँ, आदि । तर ती सेवाग्राहीहरूले ठीकै भनेका होलान् । अब वडाका पार्टी समितिहरूले किन पार्टीलाई महिना–महिनामा चन्दा लिएको भन्नु पर्दैन ? के आफ्नो पार्टीले नगरपालिकामा मेयर र वडाध्यक्ष जितेमा घरको नक्सा पास नगरी घर बनाउन र नियम मिचेर घर बनाउन दिन चन्दा लिएको हो ?
ती पार्टी समितिहरूले आ–आफ्नो पार्टीको सिद्धान्त, नियम, अनुशासन र नीतिबाट शिक्षित गर्नु पर्दैनथ्यो ? साथै निर्वाचनमा मतदाताहरूसँग मत माग्दा घोषणापत्रबारे सम्झाउनु पर्दथ्यो । सो घोषणापत्रअनुसार निर्वाचित वडाले काम गरेरै देखाउनुपर्छ । मत दिंदैमा नक्सा पास नगरी घर बनाउन र अनियमितता गर्नुहुँदैन आदि सबै नियमहरू बताउनु आवश्यक छ । कर्मचारीहरू पनि जनताको करबाट तलब खाने हुनाले ऐन–नियम र जनताप्रति जिम्मेवार हुनैपर्छ, मालिक होइन बरू सेवक हौँ भन्ने भावना हुनैपर्छ ।
मेरा प्यारा नाति अमर र प्यारी नातिना अमृता,
यस्ता गुनासा, झगडा र जटिलता सम्झेर तिमीहरू देशै नफर्कने विचार नगर । हाम्रो समाज अगाडि बढ्दै छ, समस्या नभएको कुनै देश छैन । अमेरिकामा संसारमा सबभन्दा बढी हत्या र बलात्कार हुन्छ, हरेक दिन गोली काण्ड हुन्छ । (मजदुर, ६ असोज २०७५) भारत संसारमा सबभन्दा बढी किसानहरूको आत्महत्या हुने देश हो । यसकारण कहाँ जाऊँ, कहाँ गएर बसौँ भन्ने निराशा होइन बरू आफ्नै देश नेपालमा काम गर्ने अठोट गर्नुपर्छ । सत्य के हो भने नेपालमा अशिक्षित जनता पनि छन्, शिक्षित भएर पनि सा¥है स्वार्थी तथा बेइमानहरू पनि टोल–टोल र गाउँ–गाउँमा छन् । तर देशको राजनैतिक बन्दोबस्त राम्रो तथा नेता र शासकहरू निःस्वार्थी तथा इमानदार भए देश अगाडि बढ्न धेरै समय लाग्दैन ।
नेवारी भाषामा एउटा उखान छ – ‘चोरलाई लखेट्नु हुन्छ, तर समात्नु हुँदैन ।’ धेरै वर्षपछि आफ्नै घरमा काम गरेका एक व्यक्तिलाई घरपतिले दसीका साथ समात्यो र कामबाट निकाल्यो । त्यो कुरा प्रचार भएन । तर चोरले मालिकलाई बदला लिने अठोट ग¥यो, अनेक जाल–झेल गरेर पैसा कमायो टोल र गाउँमा एक जमात बनायो अनि एउटा दलको सङ्गठनमा लाग्यो । उसको घरपतिलाई गाउँमै नराख्ने नियतले गाउँ र नगरपालिकाका नियम–ऐन मिचेको उजुर गर्दै जमात खडा ग¥यो । घरपति भन्छ – ‘‘२०–२५ वर्ष भयो घर बनाएको, त्यसबेला नक्सा पास भयो अहिले किन हुन्न ?’’
सच्चाइ के हुनसक्छ भने त्यसबेलाका इन्स्पेक्टर, जाँचकी र कानुनी सल्लाहकारले पैसा खाएर नक्सा पास पुर्जी दिए होलान् अथवा आज बदला लिने व्यक्तिले निर्वाचनमा वडाध्यक्षलाई वा कर्मचारीहरूलाई हातमा लिएर किचलो ग¥यो होला । टोल र गाउँका जनतालाई उक्त व्यक्ति चोर हो भन्ने थाहा छैन होला । दोष कसको ? समयमै घरपतिले टोलवासीलाई चोरबारे थाहा दिनुपर्ने हो, सो दिएन होला ! अथवा टोलमा बढी त्यस व्यक्तिकै जात भयो होला अनि घरपति अर्कै जातको । पक्षपातले कहिलेकाहीं विषवृक्ष रोपेजस्तो हुनेबारे टोलका राजनैतिक कार्यकर्तालाई बुझाउनु आवश्यक छ ।
यस्ता घटना सहर–बजारमा बढ्दै जानेछ । भूकम्प र राजनैतिक परिवर्तनले कति पुराना नगर, वस्ती र गाउँका जनता राजधानी र अन्यत्र बसाई सरेका छन् । त्यसमध्ये केही हुल्याहा र शारीरिक बलले काम गर्ने व्यक्तिहरू समेत घर–जग्गाको व्यापार गर्न सहर पसे । २–४ वर्षपछि सोझा–सिधा जनता र चेलीबेटीलाई समेत तर्साएर शान्ति–सुरक्षामा गुहार माग्दा पनि तिनले प्रहरी प्रशासनले वास्ता नगर्ने आखिर बस्नै नसकी बसाई सरे । प्रहरीसँगको गुण्डाहरूको जान पहिचानले अन्यौलमा पर्नु स्वाभाविक हो । यसकारण समयमै खराब व्यक्तिबारे समाज र प्रशासनलाई जानकारी पत्रपत्रिकामार्फत पनि दिनुपर्ने हुन्छ ।
के साँचो हो भने – घर–जग्गा कारोबारमा सबै गुण्डा र बदमासमात्र हुन्छन् भन्ने होइन, राम्रा मानिसहरू पनि छन् र होलान् । तर गुण्डागर्दीको वा अपराधको पृष्ठभूमि भएकाहरू घर–जग्गाको व्यापारी भएमा धेरैलाई दुःख दिने स्वाभाविक भएको हुँदा सबै निर्वाचित प्रतिनिधिहरू सचेत हुन आवश्यक छ । घाँसमा सर्पहरू भएजस्तै आ–आफ्ना पार्टी र सङ्गठनमा समेत गलत मानिसहरू घुसेर आफ्नो स्वार्थसिद्ध गर्नेबारे सचेत हुनैपर्छ । मासिक चन्दा लिनुको उद्देश्य र मतदाताहरूलाई पार्टीको घोषणापत्रबारे सही जानकारी दिनु आवश्यक छ ।
नाति अमर र नातिना अमृता,
पत्र लामो भयो, तर समाजमा अनेक नपत्याउने खालका समस्याहरू र फरक–फरक जनताको भिन्न–भिन्न उद्देश्यसमेत हुने विषयको जानकारी जनतामाझ काम गरेपछि मात्र थाहा हुन्छ । यसकारण तिमीहरूले नेपाल फर्केर जनताकै माझमा काम गर्ने, जनताको दुःख, सुख र समस्या बुझ्ने हिसाबले अहिलेदेखि नै मनमा राख्नू, अनि नेपाल फर्केपछि काम गर्न सजिलो हुनेछ ।
तिमीहरूलाई सदा सम्झिरहने
– हजुरबुबा

Leave a Reply

Your email address will not be published. Required fields are marked *