भर्खरै :

कोफी अन्नानको विरासत

एन्टोनिओ गुट्रेस, संरा सङ्घका महासचिव
संयुक्त राष्ट्र सङ्घका पूर्वमहासचिव कोफी अन्नानको निधनपछि म घोत्लिने गर्दछुः उहाँलाई के कुराले विशेष बनायो ?
मेरो मनले निष्कर्ष निकालेको छ ः कोफी अन्नान हामीजस्ता पनि छन् र हामीभन्दा विशेष पनि छन् ।
कोफी अन्नान विशिष्ट विश्व नेता हुन् । उनी संसारका जोकोहीले आफैंभित्रै प्रस्ट देख्नसक्ने व्यक्तित्व पनि हुन् । गरिबी, द्वन्द्व र पीडाबाट टाढा पुगेका कसैले पनि उनलाई आफ्नो सहयोद्धाको रुपमा पाउने गर्दछन् । संरा सङ्घका सबै कनिष्ठ अधिकारीहरू उनका पदचाप पछ्याउँछन् । जीवनको अन्तिम श्वाससम्म पनि उनले युवाहरूलाई भन्न कहिल्यै छोडेनन्, ‘सधैं याद राख्नू, तिमी नेतृत्व गर्न कनिष्ठ कहिल्यै होइनौ र तिमी सिक्नको लागि पाको कहिल्यै होइनौ ।’
अन्नानले मानिसहरूलाई एकै ठाउँमा ल्याउन सक्थे, उनीहरूलाई सहज अवस्थामा राख्न सक्थे र हाम्रो मानवताको साझा लक्ष्यको लागि सबैलाई एकै सूत्रमा बाँध्न पनि सक्थे । हाम्रो समयमा त्यस्ता मानिस संसारमा निकै कममात्र छन् ।
एउटा जोक छः कूटनीतिक कला भनेको केही पनि अन्तर्वस्तु नभएको कुरा गरिरहनु हो ।
अन्नान सबै कुरा भन्न सक्थे, कहिलेकाहीं त एक शब्द पनि नबोलिकन उनी आफ्ना कुरा भन्न सक्थे । उनीभित्र गहिरो गरी बसेको आत्मसम्मान, नैतिक समझदारी र मानवताले अन्नान धेरै कुरा भनिरहेका हुन्थे । उनीसँग निकै मीठो स्वर थियो, जसले उनलाई सुनिरहेका मानिसहरूको ओठमा हाँसो ल्याउँथ्यो, कुनै सङ्गीत सुनिरहेजस्तो भान पाथ्र्यो । तर उनका शब्द ख¥हो र विवेकपूर्ण हुन्थे । कहिलेकाहीं परिस्थिति जति जति भयावह हुनेगथ्र्यो, उनको स्वर त्यत्ति नै सौम्य बनेको हुन्थ्यो । हामी उनका कुरा सुन्न कान ठाडो बनाइरहेका हुन्थ्यौं । संसार उनका कुरा सुन्न आतुर हुनेगर्दथ्यो । हामी उनका विवेकपूर्ण कुरा सुनेर धन्य हुन्थ्यौं ।
अन्नान साहसिला थिए । उनी शक्तिसामु सत्य बोल्न डराउँदैनथे । सँगै उनी आफूलाई कडा आत्मसमीक्षामा राख्ने गर्थे । संरा सङ्घका पूर्वमहासचिव डाग हाम्मरस्कोल्ड (म्बन ज्बmmबचकपवउयमि) जस्तै उनमा पनि उखुमको संसारमा उद्भवको शक्तिको रुपमा संरा सङ्घको भूमिकाबारे झण्डै अलौकिक प्रकारको अन्तश्चेतना थियो ।
यी सबै सकारात्मक पक्षले नै उनीबाट उल्लेखनीय उपलब्धि हासिल हुन सम्भव भएको हो । सहस्राब्दी विकास लक्ष्य र ‘इन लार्जर फ्रिडम’ (फराकिलो स्वतन्त्रतामा) शीर्षकको प्रतिवेदनमा प्रस्तुत उल्लेखनीय सुधारजस्ता नयाँ विचार र पहलकदमीको उनबाटै सुरुवात भएको थियो । उनले संरा सङ्घका ढोकाहरू फराकिलो बनाए । संसारभरका मानिसबीच काम गरिरहेका सङ्गठनहरूलाई नजिक ल्याएर वातावरण संरक्षण, मानवअधिकार रक्षा र एचआईभी–एड्सलगायत अरु प्राणघातक रोगहरूविरुद्ध लड्न नयाँ साझेदार सङ्गठनसँग सहकार्य गरे ।
कोफी अन्नान भनेकै संरा सङ्घ थियो र संरा सङ्घ भनेकै कोफी अन्नान थिए । उनी मेरा पनि असल मित्र थिए । हामी जीवनका धेरै बाटा सँगसँगै हिंडेका छौं ।
टिमोर–लेस्टेका जनताले आत्मनिर्णयको अधिकार खोजिरहेको समयमा हामीले सँगै काम गरेका थियौं । उनले संरा सङ्घको प्रतिनिधित्व गरेका थिए भने म पोर्चुगलको प्रधानमन्त्रीको हैसियतमा उनीसँगै काम गर्ने अवसर जुरेको थियो । टिमोर–लेस्टेका जनताको चाहनाको शान्तिपूर्ण समाधान निकाल्न हामीले सँगै काम गरेका थियौं ।
संरा सङ्घको शरणार्थी एजेन्सीलाई नयाँ नेतृत्वको खाँचो परेको बेला अन्नानले विश्वासका साथ त्यो भूमिकाको लागि आग्रह गरे । अनि कमजोरहरूमध्ये पनि कमजोर जनताको सुरक्षा र घरवासको बन्दोबस्त गर्न अथक रुपमा आफैं पनि लागे ।
कुनै बेला अन्नान बस्ने गरेको कुर्सीमा आज म छु । म लगातार उनका एकताभाव, व्यापकता र समर्पणबाट प्रभावित छु ।
उनको विचारमा भिन्नभाव संसारको लागि सबभन्दा घातक विष हो ।
महासचिवको रुपमा आफ्नो कार्यकाल सम्पन्न गरिसकेर पनि उनले कूटनीतिको अग्रमोर्चामा लडाइँ सम्हाल्न छोडेनन् । केन्यामा निर्वाचनपश्चात् भड्किएको द्वन्द्व समाधान गर्न उनी दौडिए । सिरियामा भएको निर्मम युद्धको राजनीतिक समाधान खोज्न दिलोज्यान दिएर लागे । म्यानमाका विस्थापित जनताको लागि न्याय र अधिकार सुनिश्चित गर्न बाटो खन्ने काम अन्नानबाटै भयो ।
अन्नानले थुप्रै संसार भोगे, उत्तर र दक्षिण, पूर्व र पश्चिम । तर उनले आफ्नो सबभन्दा बलियो जरा भने आफ्नै अफ्रिकी जार र पहिचानमा भेटाए ।
महान् नेल्सन मण्डेलालाई ‘मादिबा’ उपनामले पनि बोलाइन्छ । अन्नानको लागि मण्डेलाको अलगै उपनाम थियो । उनी अन्नानलाई ‘मेरो नेता’ भनेर बोलाउँथे । यो कुनै ठट्टा थिएन । अन्नान हाम्रा पनि नेता थिए ।
अन्नानको निधनभन्दा केही समयमात्र अघि मैले उनलाई संरा सङ्घमा देखेको थिएँ । त्यत्तिबेलाको उनको भंगिमा म सधैं सम्झिरहन्छुः सौम्य तथा प्रतिबद्ध, हाँस्न कुनै पनि बेला तयार तर सधैं कामको गुरुत्वाकर्षणले तानिएका व्यक्तित्व ।
आज उनी हामीबाट टाढा गएका छन् । हामी उनलाई सधैं गहिरो सम्झना गरिरहनेछौं । तर मलाई विश्वास छ, यदि हामीले अझै ध्यानपूर्वक सुने, अझै पनि हामी कोफी अन्नानका शब्द र बुद्धिमत्तापूर्ण सल्लाह सुन्न सक्दछौं ।
“कृपया अघि बढ्नुहोस् ।” उनले भनेका शब्दहरू अहिले पनि मेरा कानमा गुञ्जिरहेका छन् । “के गर्नुपर्ने हो, तपार्इंलाई राम्ररी थाहा छ । एकआपसमा माया गरौं । हाम्रो पृथ्वीलाई माया गरौं । सबै मानिसभित्र हुने मानवतालाई चिनौं । अनि समस्याहरूको समाधान निकाल्न र सुन्दर भविष्य निर्माण गर्न हामी सबै जना आएको ठाउँ संरा सङ्घलाई सहयोग गरौं ।”
भावना र तर्कको आवाजलाई अझ अघि बढाइरहौं । नैतिकता र ऐक्यबद्धताका आवाजलाई अझ बिस्तार गरिरहौं ।
संसारलाई यसअघिको कुनै पनि समयभन्दा अहिले त्यसको आवश्यकता छ ।
जब–जब हामी समस्या र कठीन समयको सामना गरिरहेका हुनेछौं, तब–तब हामी सधैं कोफी अन्नानका विरासतबाट प्रेरणा लिइरहौं । उनले हामीलाई सिकाउने गरेका ज्ञानबाट निर्देशित भएर काम गरिरहौं । उनले आफ्नो जीवन समर्पण गरेको र संसारमै परिवर्तन ल्याएको लक्ष्य हासिल गर्न उनले दिएका विचारप्रति हामी अघि बढौं ।
नेपाली अनुवादः नीरज
स्रोत–चाइन डेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *