भर्खरै :

धनगढी प्रिमियर लिग माघ १९ देखि

काठमाडौँ, ३० कात्तिक ९रासस० ः तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता आगामी माघ १९ गतेदेखि हुने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स छन् ।
रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । अनुमानित बजेट पाँच करोड रहेको प्रतियोगिताको मुख्य प्रायोजन गर्ने विजय डिस्टिलरीले आयोजकलाई रु एक करोड १० लाख उपलब्ध गराउने एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो ।
एकेडेमीले डिपीएल दुई वर्षअघि शुरु गरेको थियो । प्रत्येक टोलीमा १५—१५ खेलाडी हुनेछन् । त्यसमा दुई बिदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टोलीमा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ । अघिल्लो संस्करणमा धनगढी विजयी भएको थियो ।
प्रतियोगितामा ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप रु एक÷एक लाख प्रदान गरिने छ । प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा कुल १९ खेल हुनेछ ।
दर्शकका लागि टिकट दर लिग चरणमा रु ५०, प्ले—अफमा रु ७० र फाइनलमा रु १०० हुनेछ भने बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियानलाई छुट्याइनेछ । सहभागी टोलीलाई ४० प्रतिशत रकम बाँडिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *