भर्खरै :

अन्तरनगर महिला कबड्डी प्रतियोगिता सम्पन्न, मेलौली नगरपालिका प्रथम

अन्तरनगर महिला कबड्डी प्रतियोगिता सम्पन्न, मेलौली नगरपालिका प्रथम

भक्तपुर, ३ चैत । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको अन्तरनगर महिला कबड्डी प्रतियोगिताको समापन समारोह सहिद स्मृति खेलमैदानमा शनिबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले गणतन्त्रमा समेत सहिदहरूको सपना पूरा नभएको र यसमा सिंहदरबारमा बस्ने राजनैतिक पार्टीहरू प्रमुख दोषी रहेको बताउनुभयो । सहिदहरूको सपना पूरा गर्न विद्यालय शिक्षा निःशुल्क, रोजगारी, योग्यताअनुसार काम दिनुपर्ने र दिन प्रतिदिन व्यापार घाटा बढ्दै जाँदा देशको अर्थतन्त्र खतरामा पुगेको बताउनुभयो । उहाँले सरकारबाट नै नेपालको चुरे क्षेत्र दोहन भइरहेको र तराई मरुभूमिमा परिणत हुने खतरा बढेको बताउनुभयो । नेपालका सबै नदीनाला भारतलाई सुम्पिने काम नेपाल र नेपाली जनताको हितमा नभएको स्पष्ट पार्दै अन्तरनगर कबड्डीमार्फत नपाले सहिदहरूलाई सम्झिरहेको बताउनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले भनपाले खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै आएको र घोषणापत्रअनुसार काम गर्दै आइरहेको बताउनुभयो । नपाले खेलकुद क्षेत्रमा नियमित प्रशिक्षण दिँदै आइरहेको अवगत गराउँदै अन्तरनगर खेलकुद प्रतियोगिताले नगरपालिकाबिच एक आपसमा अनुभव साटासाट गर्ने अवसर प्राप्त भएको बताउनुभयो । समाजमा महिला र पुरुषबिच असमानता रहेकोले महिलालाई खेलकुद क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले नेपालमै पहिलोपटक महिला कबड्डी प्रतियोगिता आयोजना गरेको बताउनुभयो । साथै सरकारकै नीतिका कारण युवा जनशक्ति बिदेसिनु परेको उहाँले बताउनुभयो ।
वाग्मती प्रदेश सभाका सदस्य सृजना सैंजुले भक्तपुर नपाले अन्तरनगर खेलमार्फत पालिका र पालिकाबिच खेलकुदले जोडेको बताउनुभयो । भक्तपुरको शैक्षिक, धार्मिक, रहनसहन, स्वास्थ्य, पर्यटन प्रचारप्रसार हुने र यसले नगरपालिकाबिच सहकार्य र मित्रता बढ्ने बताउनुभयो । महिलाबिचको खेलकुद प्रतियोगिताले खेलजगतमा महिलाको सक्रिय सहभागिता बढ्ने र कामदारवर्गको छोरीलाई जुझारु बन्न प्रोत्साहित हुने बताउनुभयो ।
कार्यक्रममा एसियन कबड्डी फेडेरेसनका उपाध्यक्ष बिनोद प्रजापतिले भनपाले आयोजना गरेको महिला कबड्डी प्रतियोगिताप्रति आभार प्रकट गर्दै महिला कबड्डी खेलको विकासमा भक्तपुर नगरपालिकाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले २०५५ सालमा नपाले अन्तरनगर कबड्डी प्रतियोगिता आयोजना गरेको स्मरण गर्नुभयो ।
शनिबार भएको बुटवल उपमहानगरपालिका र मेलौली नगरपालिकाबिचको फाइनल खेलमा मेलौलीले बुटवललाई ५२–२० अङ्कले पराजित ग¥यो भने मेलौलीका रविना चौधरी म्यान अफ द म्याच घोषित भए । कार्यक्रममा प्रमुख अतिथि सुवालले विजयी प्रतियोगीहरूलाई प्रमाणपत्र, शिल्ड र नगद पुरस्कार वितरण गर्नुभएको थियो ।
अन्तरनगर महिला कबड्डी खेलमा बेस्ट रेडतर्फ मेलौली नपाका रविना चौधरी, बेस्ट डिफेन्डरतर्फ मेलौली नपाका रोशनी साउद, सर्वोत्कृष्ट खेलाडीतर्फ मेलौली नपाकै जयन्ती बडु घोषित भएका थिए ।
कार्यक्रममा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य दिनुभएको थियो भने वडाध्यक्ष उपेन्द्र सुवाल र वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *