भर्खरै :

अमेरिकी लडाकू विमानको उडान रोक्दैछौँ– ब्राउन

वासिङ्टन, ११ मंसिर  । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन् । दक्षिण कोरिया सरकारको आग्रहपश्चात उक्त निर्णय गरिएको उनले बताए ।
अमेरिकी प्रशान्त हवाई फौजको नेतृत्व गरिरहनुभएका जनरल चाल्र्स ब्राउनले प्रजग कोरियाली आणविक गतिविधिलाई सम्बोधन गर्नेगरी भइरहेका कूटनीतिक प्रयत्नमा सकारात्मक वातावरण निर्माण गर्न सैनिक अभ्यास स्थगित गरिएको बताए ।
अमेरिकाले सन् २००४ देखि गुआमस्थित हवाई अखाडामा अमेरिकी हवाई सैन्यबलले बमवर्षक बी–१बी, बी–५२ र बी–२ जहाज तैनाथ गरेको छ । यी जहाजले दक्षिण कोरियाको आकाश र सामुद्रिक क्षेत्रमा नियमित उडान गर्दछन् । यसक्रममा जापान, दक्षिण कोरया र अस्ट्रेलियाका सैनिक विमान पनि सहभागी हुने गरेका छन् ।
ब्राउनले कोरियाली प्रायःद्वीपमा बमवर्षक विमानको उडान स्थगित गरिए पनि विमानको सङ्ख्यामा भने कटौती नगरिएको बताए ।
प्रजग कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत जुनमा सिङ्गापुरमा भएको ऐतिहासिक शिखर सम्मेलन पश्चात् अमेरिका र दक्षिण कोरियाले गर्दै आएका विशाल सैन्य अभ्यासलाई सानो आकारमा सीमित गरिएको छ ।(एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *