भर्खरै :

नयाँ दिल्लीमा विशाल किसान मुक्ति मार्च

नयाँ दिल्ली, १४ मंसिर (एजेन्सी) । भारतको राजधानी नयाँ दिल्लीमा ऋण मिनाहा र किसान समस्या समाधान गर्न संसदको विरोध अधिवेशन आह्वान गर्न माग गर्दै विहीबार विशाल किसान मुक्ति मार्च आयोजना भयो ।
अखिल भारतीय किसान सङ्घर्ष समन्वय समितिको आयोजनामा भएको उक्त मार्च पूर्वी दिल्लीस्थित रामलीला मैदानबाट सुरु भई नयाँदिल्लीको केन्द्रमा अवस्थित संसद मार्गमा पुगी सभामा परिणत भएको थियो । किसान मार्चमा भारतको विभिन्न राज्यबाट प्रतिनिधित्व गरी आएका लाखौं किसानहरूको सहभागिता थियो । मार्चमा उनीहरूले किसानविरोधी नीति, साम्यवादविरोधी राजनीति तथा साम्राज्यवादको पनि विरोध गरेका थिए ।
किसान मार्चमा किसान समस्या समाधान गर्न गठित एमएस स्वामिनाथन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न संसदको संयुक्त अधिवेशन आह्वान गर्न, कृषि उपजको निम्नतम समर्थन मूल्य वृद्धि गर्न, किसानहरूको ऋण मिनाहासम्बन्धी विधेयक पारित गर्न र भूमि मजदुरको निम्नतम ज्याला वृद्धि गर्न जोडदार माग गरिएको थियो ।
किसान सभालाई सम्बोधन गर्दै भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम येचुरीले आफ्नो पार्टी सदैव किसान हितको पक्षमा सङ्घर्षरत रहेको बताउँदै भाकपा (माक्र्सवादी) ले किसान हितको लागि संसदमा अगाडि बढाएको दुईटा विधेयकको पक्षमा रहने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भारतमा मजदुर र किसानहरूको सत्ता नआएसम्म मेहनतकश जनताको दीर्घकालीन हित नहुने प्रस्ट पार्नुभयो ।
किसान मार्चमा भारतका विभिन्न कम्युनिष्ट घटकहरू सम्बद्ध किसान सङ्गठनहरूमा आवद्ध किसानहरूको उल्लेख्य सहभागिता थियो । किसान मार्चमा भारतको पञ्जाब, हरियाण, आन्ध्र प्रदेश, तेलङ्गाना, मध्य प्रदेश, राजस्थान, छत्तिसगढ, तमिल नाडु, पश्चिम बङ्गाल, उडिसा, विहार, उत्तर प्रदेश, झारखण्डलगायत राज्यका किसानहरूको सहभागिता थियो ।
अखिल भारतीय किसान सङ्घर्ष समन्वय समिति भारतभरका लगभग दुई सय ठूला–साना किसान संघ–सङ्गठनहरूको गठबन्धन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *