भर्खरै :

भक्तपुर नगरपालिकाले देशकै नमुना विश्वविद्यालय बनाउने

भक्तपुर, १४ मंसिर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीति जनताको सेवाको निम्ति हुनुपर्ने र व्यक्तिगत फाइदा, नाफा र सुविधा उपभोगको लागि राजनीति गर्न नहुने बताउनुभयो ।
एभीन्युज टेलिभिजनका प्रस्तोता जीवन कुइँकेलसँगको अन्तर्वार्तामा प्रमुख प्रजापतिले पर्यटकीय महत्व बोकेको भक्तपुर नगरपालिका यहाँको सम्पदा पुनःनिर्माण, फोहोर व्यवस्थापन र भक्तपुर नगरको मौलिकता जोगाउन भक्तपुरका जनता सक्षम भएको बताउनुभयो ।
स्थानीय तह बलियो भए जनता पनि बलियो हुने उल्लेख गर्दै उहाँले नगरवासीहरूलाई सुविधा दिने हिसाबले नगरपालिकाले काम गरिरहेको धारणा राख्नुभयो ।
‘‘भक्तपुर नगरपालिकाले विश्वविद्यालय सञ्चालनको अनुमति पाएको खण्डमा देशकै लागि सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने नमुना विश्वविद्यालय निर्माण गर्ने सोचले अगाडि बढिरहेको छ’’, प्रमुख प्रजापतिले भन्नुभयो ।
सम्पदा पुनःनिर्माणजस्तो संवेदनशील र देशको गौरवसँग जोडिएको कार्य ठेक्कापट्टामा गराउने पुरातत्व विभागको कदम गलत भएको उल्लेख गर्दै उहाँले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशलाई विदेशी हस्तक्षेप अस्वीकार्य हुने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘‘आधुनिकता चाहने नगरवासीको लागि एकीकृत जग्गा आवास योजना पनि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छ । साथै पुरानो नगरको स्वरूप र मौलिकतालाई पनि ध्यानमा राखेका छौँ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *