भर्खरै :

‘सरकारमा गएका “कम्युनिष्ट” हरूको स्वभाव पञ्च र काङ्ग्रेसको जस्तै’

भक्तपुर, १४ मंसिर । भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घको २७ औं वार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले सरकारमा गएका पार्टीहरूले चीनको सहयोगमा बनेका भक्तपुर इँटा कारखानालगायत उद्योगहरू राम्रोसँग सञ्चालन नगरेकाले काठमाण्डौ उपत्यकाको बढ्दो मागलाई पूर्ति गर्न निजी इँटा उद्योगहरू स्थापना हुनुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘काठमाण्डौ उपत्यका सांस्कृतिक सम्पदाको धरोहर भएको हुँदा इँटा उद्योगीहरू पर्यटन उद्योगमा लाग्नु उपयुक्त हुने धारणा नेपाल मजदुर किसान पार्टीले राख्दै आएको हो ।’’
‘‘काठमाण्डौ उपत्यका इँटा उद्योगको लागि आवश्यक माटोसमेत उपलब्ध नहुने हुँदा सरकारले देशको सन्तुलित विकासको लागि उपत्यकाबाहिर पर्याप्त सहरहरू विकास गर्ने र चुन ढुङ्गाबाट इँटा बनाउने प्रविधिलाई नेपालमा पनि कार्यान्वयन गर्नु आवश्यक छ’’ उहाँले भन्नुभयो ।
वैदेशिक रोजगारीको नाममा युवाहरू दासजस्तै बेचबिखन भइरहेको हुँदा वर्षको दुई खर्बको खाद्यान्नमात्र आयात गर्नुपर्ने र पेट्रोलियम पदार्थ, गाडी, मेसिनरीसमेत आयातले भारतसँग नेपालको रू. १२ खर्बको व्यापार घाटा रहेको सांसद सुवालले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘श्रम मन्त्रालयले म्यानपावर कम्पनीसँग चन्दा उठाउने काम बन्द गर्नुपर्दछ । दुई वटा वाइडबडी हवाईजहाज खरिदमा रू. साढे ६ अर्ब भ्रष्टाचार भएको आशङ्का गरिएको छ ।’’
संविधानमा समाजवादउन्मुख प्रावधानको अर्थ शिक्षा, स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारीको व्यवस्था हो भन्दै उहाँले सरकारमा गएका कम्युनिष्ट भनिने पार्टीहरूमा पञ्च र काङ्ग्रेसको जस्तै जनतालाई ढाँट्ने स्वभाव भएको बताउनुभयो ।
‘‘नेपाल–भारत खुला सीमा दुरूपयोग गरी ४० लाख भारतीयले नेपाली नागरिकता पाएको विषयमा छानबिन गरी विदेशीले पाएको नागरिकता रद्द गर्नुपर्दछ । नेपालीको एकता र देशको छिटो विकासको लागि प्रत्येक प्रदेशमा हिमाल–पहाड–तराई भूभाग समावेश हुने गरी संविधान संशोधन गर्नु आवश्यक छ’’, सांसद सुवालले भन्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीको देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने राजनीतिलाई समर्थन र सद्भाव राख्नुहुने सबै उद्योगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबैले सामाजिक उत्तरदायित्व बहन गर्नु जरूरी रहेको बताउनुभयो ।
प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले आफ्नो काम आफैले इमानदारीपूर्वक निर्वाह गरे अरूलाई औंला ठड्याउने अवस्था नआउने बताउनुभयो ।
सङ्घका अध्यक्ष नातिभाइ
ह्योम्बाको सभापतित्वमा सम्पन्न उक्त साधारणसभामा चाँगुनारायण नपाका मेयर सोमप्रसाद मिश्र, सङ्घका सल्लाहकार केपी अवाल, युवा व्यवसायी समाजका अध्यक्ष विश्वराम कवां, आन्तरिक राजश्व कार्यालयका सूर्यप्रसाद पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत सुबोधकुमार साह, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापति, भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र खायमली, काठमाण्डौ जिल्ला इटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष केदार गोसाई, आशराम वैद्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *