भर्खरै :

जनताको सेवा नै ठूलो धर्म हो

भक्तपुर, १८ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको सेवा गर्नेजस्तो ठूलो धर्म केही नभएको बताउनुभएको छ ।
हनुमानघाट रामायण भजनको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले पुर्खाले बनाएको सम्पत्तिले नयाँ पुस्ताको सेवा गरिरहेको र हाम्रो मौलिक पहिचान गुमाउने कार्यबाट हामी सचेत हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले हनुमानघाट परिसर सुधार गर्न गुरुयोजना तयार गरिरहेको जानकारी गराउँदै पवित्र र धार्मिक तीर्थस्थलको रूपमा परिचित हनुमानघाटको सुधारमा नगरवासीको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले नगरवासी सचेत भएमात्र सिङ्गो समाज सचेत हुने बताउँदै अनुशासित समाज निर्माणमा भक्तपुर नपा अरु नपाभन्दा फरक र विशेष ढङ्गले अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको फोहोर व्यवस्थापनको लागि उपचारपोखरी व्यवस्थापनको कार्यबारे अध्ययन अगाडि बढिरहेको बताउँदै प्रमुख प्रजापतिले विदेशी आकर्षणका प्रमुख विषय यहाँको सम्पदा र सरसफाइ नै रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले समाजको सेवाको निम्ति खोलिएको संस्थाले एकीकृत योजनाहरू बनाउँदै अगाडि जानुपर्ने र सांस्कृतिक एवम् धार्मिक महत्व बोकेको हनुमानघाट परिसरको व्यवस्थापन र सुधारको कार्य अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति बलराम प्रजापति, संगीतकार बद्रीनारायण ताम्राकार र पुजारी कविता शर्माले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *