भर्खरै :

प्रज्ञाले अझै पूर्णता पाउन सकेन

प्रकाश सिलवाल
काठमाडौं, १८ मंसिर । मुलुुकको महत्वपूर्ण प्राज्ञिक निकाय नेपाल प्रज्ञा– प्रतिष्ठान तीन महीनादेखि पूर्ण नहुँदा वार्षिक योजना र अनुसन्धानका काम प्रभावित भएको छ ।
प्रधानमन्त्रीले पदाधिकारी रिक्त भएको एक महीनापछि गत असोज २१ मा कुलपति र सदस्य सचिवको नियुक्ति गरे पनि उपकुलपतिलगायत प्राज्ञसभा सदस्य, प्राज्ञ परिषद् सदस्य र प्रतिष्ठानको सेवा आयोग रिक्त छ । कुलपतिमा पुनः गङ्गाप्रसाद उप्रेती र सदस्य सचिवमा जगत्प्रसाद उपाध्यायलाई नियुक्तिपछि दैनिक प्रशासनिकबाहेक नीतिगत काम भएको छैन । ‘एकेडेमी’ को प्राज्ञ सदस्य बस्ने कार्यकक्ष सरसफाइ र रङरोगन गरी चिटिक्क बनाइए पनि तीन महिनादेखि रिक्त हुँदा आफूहरूले पनि पर्याप्त काम नपाएको कर्मचारी बताउँछन् ।
प्रतिष्ठानको कार्यकारी निकाय प्राज्ञ परिषद्लाई प्राज्ञसभाका निर्णय कार्यान्वयन गर्ने, सभाद्वारा दिइएका निर्देशन पालन गर्ने, गराउने तथा प्रतिष्ठानको वार्षिक कार्यक्रम तथा बजेटको सञ्चालनको जिम्मेवारी छ । पंैतीस सदस्यीय हुने प्राज्ञसभा प्रतिष्ठानको सर्वाेच्च निकाय मानिन्छ । यसले ११ सदस्यीय प्राज्ञ परिषद्लाई मार्गदर्शन र निर्देशन दिंदै वार्षिक नीति योजना तथा कार्यक्रम स्वीकृत गर्छ । यस्तै विद्वत्वृत्ति, सम्मान, प्रज्ञामानार्थ–सदस्यता तथा आजीवन–सदस्यता प्रदान, उपयुक्त व्यक्ति वा संस्थालाई कदर सम्मान वा पुरस्कारको व्यवस्था गर्ने तथा आवश्यक नियम बनाउने काम प्राज्ञ सभाले गर्छ ।
प्रतिष्ठानको अघिल्लो नेतृत्वले गत भदौ १२ मा गरेको ३३ औं प्राज्ञसभाको बैठकले चालू आवका लागि रु. १७ करोडको वार्षिक बजेट पारित गरेको थियो जसमा रु. १२ करोड नेपाल सरकार र पाँच करोड आन्तरिक आयमा राखिएको छ । सदस्य सचिव उपाध्यायले ती बजेट र कार्यक्रम प्राज्ञ परिषद्को निर्णयबाट सम्बन्धित विभागीय जिम्मेवारी दिई त्यहाँबाट सञ्चालन गर्नुपर्ने भएकाले प्राज्ञ सदस्य नहुँदा प्राज्ञिक अनुसन्धानका काम प्रभावित भएको बताउनुभयो । ठोस प्रगति नभए पनि प्रतिष्ठानले संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयलाई औपचारिकताका लागि मात्र प्रथम चौमासिकको विवरण मात्र बुझाएको छ ।
प्रतिष्ठानका लेखा शाखा प्रमुख सुमन अधिकारीले विभागीय प्राज्ञले पूर्णता पाएपछि बजेट र कार्यक्रमले गति लिने बताउनुभयो । प्रतिष्ठानमा भाषा (मातृभाषा), कोश, व्याकरण र समाजशास्त्र, संस्कृति, नेपाली भाषा, कोश, व्याकरण, दर्शनशास्त्र, पद्य, अनुवाद, समालोचना र निबन्ध, साहित्य (मातृभाषा), गद्य र आख्यान तथा बालसाहित्य र लोकवार्ता गरी ११ विभाग छन् ।
नेपाल सरकारले चालू आवको बजेट वक्तव्यमा प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठानलाई एकापसमा गाभी एउटै बनाइने उल्लेख गरे पनि उक्त घोषणा तयारीविना गरिएकाले तत्काललाई पूर्ववत् प्रतिष्ठान रहनेछन् तर अन्य दुई प्रतिष्ठानमा कुलपतिलगायत सदस्यहरू नियुक्ति हुन बाँकी छ । तीनवटै प्रतिष्ठानमा गत भदौ १९ गते पद रिक्त भएको थियो ।
विसं २०६३ अघि कमलादीस्थित प्रतिष्ठानले तीन वटै क्षेत्रको प्राज्ञिक कार्यको नेतृत्व गर्दै आएकामा पछिल्लो जनान्दोलनको भावना र विधागत मान्यतालाई सम्मान गर्दै २०६४ मा अलग अलग ऐनबाट तीन प्रतिष्ठान बनाइएको थियो ।
अलग अलग प्रतिष्ठान भए पनि कार्यक्षेत्र दोहोरिएको, भौतिक पूर्वाधार र जनशक्तिको अभाव भएको तथा सोचेजस्तो काम अघि नबढेको मात्र नभई आपसी विवादसमेत भएका कारण पुनः गाभ्ने राय पनि आएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *