भर्खरै :

हो, पुँजीवादले बलात्कार बढाउँछ

–सुविज्ञा थापा
हाम्रो देश नेपालमा महिलामाथिको बलात्कारको घटना बढ्दै गएपछि अहिले एउटा बहसले नेपालका सञ्चारमाध्यम तातिएको छ – पुँजीवादले बलात्कार बढाउँछ र बढाउँदैन भन्नेबीच । देशमा बलात्कार र हत्या हिंसा बढेको प्रश्नमा वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापाले सजिलो उत्तर दिएका थिए – बलात्कार बढ्नुको कारण पुँजीवाद । गृहमन्त्री थापाको भनाइ सही भए पनि त्यसमा आफ्नो जिम्मेवारीबाट पञ्छने सोचाइ प्रस्ट थियो ।
तर, अहिले सरकारको विरोध गरिरहेकाहरू सरकार वा गृहमन्त्रीको आलोचना र प्रतिवाद गर्ने नाउँमा पुँजीवादी व्यवस्था गलत होइन, वर्तमान सरकारमात्र अकर्मण्य र दोषी भएको तर्क अगाडि सार्दैछन् । महिलामाथि बलात्कारका घटना आज लोकतान्त्रिक गणतन्त्र भनिएको पुँजीवादी व्यवस्थामा मात्र भइरहेको होइन, विगतमा दास युग र सामन्ती राजतन्त्रात्मक कालमा पनि थियो । त्यस्तै समाजवादी व्यवस्था रहेका कतिपय देशमा पनि बलात्कारका घटना हुँदै नभएको होइनन् । बलात्कारको कारण राजनीतिक व्यवस्था स्वयं होइन कामको आशक्ति, शक्तिको दम्भ, अपराधिक र स्वार्थी प्रवृत्ति हो । तर व्यवस्थाबाट सिर्जित अवस्थाले बलात्कारका घटना घटीबढी हुने गरेका छन् । दास युग र सामन्तवादी युग त अन्याय र अत्याचारको अँध्यारो युग नै थियो । ती समाजका बर्बरता र बलात्कारको कुरा गरेर साध्य हुँदैन ।
पुँजीवादी व्यवस्थाले राजनीतिक र व्यक्तिगत स्वतन्त्रता र समानता प्रत्याभूतिको दाबी गर्छ । यस व्यवस्थामा लैङ्गिक समानता छ भनिए पनि पुँजीवादले पनि पितृसमात्मक व्यवस्थालाई भरथेग र मलजल गरिरहेकै छ । त्यसमाथि उपभोग र नाफालाई साध्य मान्ने पुँजीपतिहरूको शासन व्यवस्था भएको हुनाले महिलाहरूलाई समेत यहाँ वस्तुकरण गरिन्छ । महिलाहरूलाई उपभोग्य वस्तुको रुपमा लिने दृष्टिकोण धेरै मानिसमा हुन्छ । जब महिलालाई किनबेचको वस्तु ठानिन्छ किनबेच, खोसाखोस र चोरी र जबरजस्ती स्वाभाविक रुपमा बढ्ने हुन्छ । पुँजीवादी दृष्टिकोणका मानिसहरू कुनै राम्रा स्त्रीलाई महिलाका रुपमा भन्दा ‘माल’ वा ‘आइटम’ का रुपमा लिन्छन् र त्यसै भन्ने गर्छन् । यस्तो पुँजीवादी दृष्टिकोणका मानिस समाजवादी व्यवस्था भएका देशमा पनि हुन्छन् ।
त्यसैले समाजवादी देशहरूमा पनि बलात्कार घटना भएका छन् तर पुँजीवादी देशका तुलनामा नितान्त कम । आज हामी देख्दैछौं मानव तस्करी, बेचविखन, मानव अङ्ग तस्करी, हत्या, गुण्डागर्दी जति देख्दैछौं, ती सबै बढीभन्दा बढी पैसा कमाउनका लागि भइरहेका छन् । पुँजीवादी व्यवस्थामा पैसा नभइकन बाँच्न नसकिने र इज्जत –प्रतिष्ठा नहुने हुनाले धेरै मानिस पैसाको लागि अरुमाथि शोषण गर्ने मात्र नभई चोरी, ठगी, बलात्कार र अनेकौं अपराध कर्म गर्न पछि हट्दैनन । त्यसैले हामी भन्न सक्छौं– हो, पुँजीवादले बलात्कार बढाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *