भर्खरै :

भक्तपुर नगरपालिकाका नगर प्रहरीहरू परिचालनमा सफलता मिलोस् 

भक्तपुर नगरपालिकाका नगर प्रहरीहरू परिचालनमा सफलता मिलोस् 

भक्तपुर नगरपालिकाले २०८० चैत १५ गतेदेखि नगर प्रहरी निरीक्षकको नेतृत्वमा २२ जना कर्मचारीहरू नियुक्ति गरी आवश्यक तालिम दिँदै परिचालन गरिरहेको नगरका विभिन्न स्थानमा खटिएका नगर प्रहरीहरूबाट जानकारी प्राप्त भयो । भक्तपुर नगरपालिकाले व्यवस्था गरेको आधिकारिक वेभसाइटबाट प्राप्त जानकारीअनुसार स्थानीय सरकारको रुपमा भक्तपुर नगरपालिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास निर्माण कार्यमा सहयोग पु¥याउँदै नगर भित्र सुव्यवस्था कायम गर्न तथा नगरपालिकाको निर्णय कार्यान्वयनमा प्रभावकारिता ल्याउन नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगर प्रहरी ऐन नगरसभाबाट पारित गरी नगर प्रहरीको व्यवस्था गरिएको छ । सोहीअनुसार भक्तपुर नगरपालिकाले नगर प्रहरीहरूलाई सुरुमा नगरका महत्वपूर्ण सम्पदा क्षेत्रहरूमा सवारी साधन व्यवस्थापन, आवश्यक सुव्यवस्था कायम गर्न परिचालन गर्ने सकारात्मक पहलको रुपमा लिएको छु ।
नगर प्रहरीलाई नगरको बजार व्यवस्थापन, हकर्स नियन्त्रण, हाते र अनधिकृत व्यापार नियन्त्रण, माग्ने र अवान्छित गतिविधि नियन्त्रण, सम्पदा दुरुपयोग नियन्त्रण, अनधिकृत व्यवसायिक कारोबारहरू नियन्त्रणलगायतका क्षेत्रमा परिचालन गर्न सकेमा भक्तपुर नगरलाई अझ थप व्यवस्थित गर्न टेवा पुग्नेछ । नगरमा हाल कायम रहेका अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न र अत्याधिक सवारी चापलाई व्यवस्थित गर्न, विभिन्न बाटोहरूलाई एकतर्फी आगमनको मात्र व्यवस्था गर्न (राममन्दिरबाट पुरानो नगर क्षेत्रभित्र प्रवेश मात्र गर्ने र वंशगोपालबाट बाराही पिठमा पुरानो नगर क्षेत्रबाट बाहिर निस्कने मात्र) जस्ता क्षेत्रमा परिचालन गरी कार्यान्वयन गर्न सकिएमा भक्तपुर नगरको ट्राफिक व्यवस्थापन अझ सुचारु र व्यवस्थित हुने देखिन्छ । यसका साथै पुराना नगर क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरूको गति सीमित गर्न र हर्न निषेध गर्न समेत नगर प्रहरी परिचालन गरी कार्यान्वयन गर्न पाएमा सुनमा सुगन्ध हुन्थ्यो ।
अनियमित निर्माण रोक्न, छाडा, दोपाया, चौपाया नियन्त्रण गर्न, अखाद्य वस्तुहरूको बिक्री वितरण रोक्न, धराप व्यवस्थापन गर्न, स्थानीय जात्रा पर्वमा सरसफाइ र सुरक्षा व्यवस्था गर्न, निषेधित भित्ते लेखन, पोल ब्यानर, क्रस ब्यानर राख्न नदिन, प्रदूषण गर्ने उद्योगहरू सञ्चालन गर्न नदिन, अनधिकृत ड्रोन उडान रोक्न, दृश्य प्रदूषण हुने गरी राखिएका साइनबोर्डहरू हटाउनलगायतका विभिन्न आवश्यक क्षेत्रमा नगर प्रहरीलाई सही ढङ्गले परिचालन गरी सदुपयोग गर्न सकिएमा साँच्चिकै भक्तपुर नगरपालिका व्यवस्थित नगरपालिकाको रुपमा अगाडि बढ्ने विश्वास लिएको छु । यसर्थ, नगर प्रहरी परिचालनको विषयमा केही सञ्चारमाध्यमले नकारात्मक टिप्पणी तथा प्रचार प्रसार गरेको पाइएको छ । राम्रो उद्देश्यले भर्ना गरी परिचालन गरिएका नगर प्रहरीलाई सुव्यवस्थित ढङ्गले परिचालन गरी नगरपालिकाको उद्देश्य प्राप्त गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *