भर्खरै :

इसान फुटसल प्रतियोगिता सुरु

भक्तपुर, २० पुस । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को वार्षिक क्यालेण्डरअनुसार बाल विकास सेकेन्डरी स्कूलको आयोजनामा शुक्रबारबाट अन्तरविद्यालय फुटसल प्रतियोगिता सुरु भएको छ ।
शुक्रबार एक समारोहबीच भएको उद्घाटन कार्यक्रममा बाल विकास सेकेन्डरी स्कूलका प्रिन्सिपल तथा प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले विश्वमा कम्युनिष्ट सरकार भएका देशमा शिक्षा, स्वास्थ्य तथा खेलकुद निःशुल्क तथा अनिवार्य रहेको उदाहरण प्रस्तुत गर्दै नेपालमा नक्कली कम्युनिष्टहरूको सरकार भएकोले यसतर्पm कुनै चासो नदेखाएको बताउनुभयो ।
उहाँले विद्यार्थी पढाइमा जति नै राम्रो गरे पनि उसमा देशप्रेमको भावना छैन भने ऊ कहिल्यै असल मानिस बन्न नसक्ने बताउँदै खेलाडीहरूलाई आफ्नो माटोप्रति गौरव गर्न आग्रह गर्नुभयो ।
उद्घाटन समारोहमा भक्तपुर जिल्ला फूटबल सङ्घका अध्यक्ष गौतम सुजखूले खेलाडीहरू अनुशासित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा इसानका अतिरिक्त क्रियाकलाप समितिका रमेश सुवाल र शिक्षक शङ्कर आचार्यले पनि मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत लिग चरणका सम्पूर्ण खेलहरू सम्पन्न भएका छन् । शुक्रबार भएको उद्घाटन खेलमा बाल विकास ‘ए’ ले स्कलर्स होमलाई ५–१ ले पराजित ग¥यो । दोस्रो खेलमा ब्राइट स्टार र ख्वप्रिङ एकेडेमीले १–१ गोलको बराबरी खेले । तेस्रो खेलमा बाल विकास ‘बी’ र वाइजल्याण्ड स्कूलले २–२ गोलको बराबरी खेले भने चौथो खेलमा हिमालयन ग्लोरीले ब्राइट स्टारलाई ४–२ ले पराजित ग¥यो । त्यस्तै पाँचौ खेलमा प्रभातले वाइजल्याण्डलाई ४–० ले पराजित ग¥यो । अर्को खेलमा एजे स्कूलले स्कलर्स होमलाई ४–१ ले पराजित ग¥यो । त्यस्तै अन्य खेलमा बाल विकास ‘ए’ र एजे स्कूलले ०–० को बराबरी, प्राइमले सूर्यदीपलाई २–१ अन्तरले पराजित, ख्वप्रिङ र हिमालयन ग्लोरीले १–१ को बराबरी तथा बाल विकास ‘बी’ र प्रभातले ०–० को बराबरी गरेका छन् ।
शुक्रबार सम्पन्न लिग खेलमा समूह ‘ए’ बाट बाल विकास ‘ए’ विजेता र एजे स्कूल उपविजेता, समूह ‘बी’ बाट प्राइम विजेता र सूर्यदीप उपविजेता, समूह ‘सी’ बाट हिमालयन ग्लोरी विजेता र ख्वप्रिङ उपविजेता तथा समूह ‘डी’ बाट प्रभात विजेता र बाल विकास ‘बी’ उपविजेता भएर क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका सम्पूर्ण खेलहरू पुस २२ गते आइतबार हुने आयोजक बाल विकास सेकेन्डरी स्कूलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *