भर्खरै :

पानीको पीडाबाट मुक्त पार्नुस् जनप्रतिनिधि महोदय !

भक्तपुर नगरपालिकाको चौथो नगरसभा बस्दैछ । सोमबार आयोजित उद्घाटनसभामा नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरवासीलाई पानी खुवाउनेबारे बोल्नुभयो । तर, तीर्खाले काकाकूल भक्तपुरवासी अझै आशैआश भोकै बासको नियति भोग्न विवश हुने छेकछन्द देखेँ ।
सन्दर्भवस एक दिन एकजना काठमाडौँवासी आफन्तसँग आफ्नो घरमा पानीको लाइन नै जोडिएको छैन भन्दा उनी आश्चर्य माने । मलाई सा¥है अप्ठेरो महसुस भयो । भक्तपुरमा जनताले पानी खान नपाएको भन्दा उनी चकित हुनुको कारण भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू नै हुनुहुन्छ । भनपाप्रतिको भरले गर्दा मानिस त्यसो सोच्दारहेछन् ।
नगरपालिकाको प्रयासलाई सराहना गर्दागर्दै पनि भन्नुपर्छ, आखिर नगरवासीले पानी खान पाउने चाहिं कहिले ? भनपा ७ मा भूमिगत पानी निस्किएको समाचार सुनेको वर्ष दिन नाघेको जस्तो लाग्छ । मेयर प्रजापतिले भन्नुभएझैं खानेपानीको दीर्घकालीन समाधानको लागि मेलम्ची खानेपानीकै भरपर्नुपर्ने अवस्था हो भने तत्कालका उपायको खोजी गर्नु जरुरी छ । किनभने मेलम्चीको पानी ‘आकाशको फल आँखातरी मर’ भन्ने उखानसँग जोडा मिल्ने किस्सा बनेको छ, नेपालीको मनमा ।
मेरो बसाइ भनपा वडा नं ८ लिबाली हो । भनपासमेतको पहलमा बनेको लिबाली आवास योजना पुरानो आवास योजना हो । तर, अझै पनि पानीजस्तो जनताको आधारभूत आवश्यकतासमेत पूरा भएको छैन । जहिलेसुकै सडक धुलाम्य हुन्छ, वर्षामा बाटो हिलाम्य हुन्छ, त्यसको बारे छुट्टै दुःख छ नै ।
आइतबार भक्तपुरका केही जनता काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा पानी माग्दै डेलिगेसन गएका रहेछन् । जनताको आक्रोश रहेको यो सङ्केतमात्र हो ।
पानीको सम्पूर्ण जिम्मेवारी भनपाको होइन होला । भनपासँग त्यति ठूलो बजेट पनि छैन । तर, जिम्मेवार निकाय काउखालिलाई दबाब दिन पो पुगेन कि ? भक्तपुरमाथिको दबाब नपुगे केन्द्र किन नहान्ने ? भक्तपुरको निम्ति छुट्याइएको गत वर्षको ४ करोड रुपियाँ बजेट फ्रिज भएको बताइएको छ । कसरी कहाँनिर को चुकेको हो ? भनपाको भूमिका पो पुगेन कि ? खानेपानी लिमिटेडका कर्मचारीले घूस खाई पाइपको साँचो खोल्ने र बन्द गर्ने गरेको बारे काउखालिलाई सचेत गराउने काम के भनपाले गरेको हो ? एक जुग पुराना पाइप फुटेर पानी खेर गएको पाइन्छ, फुटेका पाइप बनाउन लगाउन भनपाले ठोस पहल गर्ला ? बोडेको बोरिङ – पानी तान्न राखिएका तीनवटा पम्पमध्ये एउटामात्र सद्दे रहेको बारे जनप्रतिनिधिहरू जानकार हुनुहुन्छ कि हुनुहुन्न ? दुइटा पम्पबाट पानी नतानेपछि पानी स्वतः घटेको बारे जिम्मेवारी कसले लिने ? लौ न जनप्रतिनिधिहरू, नागरिकलाई पानीको तनावबाट मुक्त गराउनुुस् । नगरसभालाई शुभकामना छ ।
–रास, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *