भर्खरै :

नेमकिपा व्यक्तिहत्याको विपक्षमा

भक्तपुर ८ माघ । विद्यार्थीहरूलाई पनि राजनैतिक रुपले शिक्षित र सचेत गर्नु शिक्षकहरूको कर्तव्य हो । शिक्षकहरूको योगदानले देशको विकास र परिवर्तनमा ठूलो सहयोग हुनेछ ।
उक्त कुरा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजना मङ्गलबार नेमकिपाको ४५ औँ स्थापना दिवसको अवसरमा भएको शिक्षक भेलामा व्यक्त गर्नुभएको हो ।
नेपाल मजदुर किसान पार्टीले पहिलेदेखि व्यक्तिहत्याको विरोध गर्दै आएको उल्लेख गर्दै उहाँले नेपाल कम्युनिष्ट पार्टीको खोटो विचारविरुद्ध सङ्घर्ष गर्दै आएकोले नेमकिपा प्रतिक्रियावादीहरूको लागि आँखाको धुलोसरि भएको बताउनुभयो ।
नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार संसद् प्रयोग गर्दै आएको अध्यक्ष रोहितले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले पार्टी स्थापनाको उद्देश्य, पार्टीले अँगाल्दै आएको सिद्धान्त र नीति लागू गर्न शिक्षकहरू क्रियाशील भइरहनुपर्छ भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले शिक्षकहरू पनि देश र जनताको सेवा गर्न कार्यकर्ताको रुपमा काम गर्नुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षकहरूले राम्रोसँग पढाउनुपर्छ र देश र जनताको लागि पनि काम गर्नुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समितिका सचिव विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।
किसान भेला
नेमकिपाको ४५ औँ स्थापना दिवसको अवसरमा मङ्गलबार नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा किसान भेला भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेमकिपा आफ्ना मार्गदर्शक सिद्धान्त माक्र्सवाद – लेनिनवाद र माओ त्सेतुङ विचारधाराप्रति प्रतिबद्ध भएको धारणा राख्दै सत्तासीन एमाले–माओवादी आज सिद्धान्तबाट विचलित भएको धारणा राख्नुभयो ।
नेकपा नेपालको कम्युनिष्ट आन्दोलनको संशोधनवादी खेमा भएको विचार राख्दै सरकार आफै भ्रष्टाचार गर्ने भ्रष्टाचारी र जघन्य अपराधका अपराधीलाई जोगाउन लागिपरेको बताउनुभयो ।
सुवालले शासक दलका स्थानीय कार्यकर्ता पनि सरकारले गरेका यस्ता अपराध र गल्तीका भागीदार हुने भएकाले टोलटोलमा शासक दलका कार्यकर्तालाई यसबारे सचेत बनाउनुपर्ने विचार राख्नुभयो ।
उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाले खेलिरहेको भूमिकाबारे प्रकाश पार्दै संशोधनवाद र अराजकतावादविरुद्ध नेमकिपाले सम्झौताहीन सङ्घर्ष गरी कम्युनिष्ट आन्दोलनमा सिद्धान्त जोगाउने कर्तव्य पूरा गरिरहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य सृजना सैंजूले किसान आन्दोलनकै जगमा नेमकिपाको स्थापना भएको धारणा राख्दै क्रान्तिकारी किसान आन्दोलनकै प्रतिफलस्वरुप आज किसानका छोराछोरीले पनि शिक्षा प्राप्त गर्ने अवसर पाएको बताउनुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकन खोटा विचारको खण्डनमा सैद्धान्तिक सङ्घर्ष गर्दै नेमकिपा स्थापना भएको धारणा राख्दै उहाँले संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरुद्ध सुरूदेखिको सङ्घर्ष नै नेमकिपाको परिचय भएको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले नेमकिपाका अग्रजहरूले गरेको त्याग र बलिदान खेर नजाने धारणा राख्दै निः स्वार्थरूपमा जनताको सेवा गर्ने भावनाका साथ पार्टीमा लाग्नुपर्ने बताउनुभयो ।
किसान भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजू, नेक्राकिसङ्घका केन्द्रीय कोषाध्यक्ष हरिराम सुवाल, भक्तपुर जिल्ला समितिका सदस्यहरू केशवप्रसाद तिमिल्सिना र सूर्यबहादुर फोंजूले बोल्नुभएको थियो ।
दैलेख
नेमकिपाको ४५ औँ स्थापना दिवसको अवसरमा मङ्गलबार दैलेखेको आठबीस नगरपालिकास्थित राकम बजारमा एकदिने प्रशिक्षण कार्यक्रम भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले राजनीतिकरूपमा सचेत क्रान्तिकारी जनताले नै देशमा समाजवादी व्यवस्था स्थापना गर्नसक्ने बताउनुभयो ।
उहाँले पार्टीका प्रकाशनको नियमित अध्ययनले नै अन्य राजनीतिक दल र नेमकिपाबीचको भिन्नता पहिल्याउन कार्यकर्ता सक्षम हुने भएकाले पार्टी प्रकाशनको नियमित अध्ययन गर्न आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पुँजीवादी व्यवस्थाले अनेकन जालझेल गरी जनताका कार्यकर्तालाई दुःख दिने भएकाले पार्टी कार्यकर्ता त्यस्ता लोभलालचबाट टाढा रहनुपर्ने धारणा राख्नुभयो ।
उहाँले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर पनि जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार नै स्थानीय तह र सङ्घीय तथा प्रादेशिक तहका निर्वाचन उपयोग गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका सदस्य तथा आठबीस नपा वडा नं ८ का वडाध्यक्ष धनबहादुर सिजापति, नेमकिपाका आठबीस वडा नं ४ का अध्यक्ष मानबहादुर सिजापति, नेमकिपाका कार्यकर्ता हरिप्रसाद बासुकला, नेक्राविसङ्घका केन्द्रीय सदस्य ईश्वर शाही, नेक्राविसङ्घका पूर्वकेन्द्रीय सदस्य जनक माझी, टीकाराम कठायत, युवा कार्यकर्ता मीनबहादुर बाटाले बोल्नुभएको थियो ।
कैलाली
नेमकिपा स्थापना दिवसकै अवसरमा कैलालीमा महिला भेला भयो । नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले महिला हिंसा, बोक्सी, छाउपडी, बलात्कारजस्ता समस्या पुँजीवादी र सामन्तवादी समाजका रोग भएकोले ती समस्याको समाधान राजनीतिक व्यवस्था परिवर्तनसँग जोडेर हेर्न आवश्यक भएको बताउनुभयो । उहाँले महिला राजनीतिकरूपमा सचेत भए समाज परिवर्तनको आन्दोलनले अझ तीव्रता पाउने धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका सचिव गगन थापामगर, गजबहादुर दर्लामीलगायतले बोल्नुभएको थियो । कार्यक्रम लक्ष्मी बलामी मगरको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *