भर्खरै :

भेनेजुयलामा साम्राज्यवादविरुद्ध पेचिलो सङ्घर्ष

ल्याटिन अमेरिकी देश भेनेजुयलामा संरा अमेरिकी साम्राज्यवादको सहायतामा संसद् सदस्य हुँवा गुएइदोले आफूलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि त्यहाँको राजनीतिक विभाजन अझ गहिरो बनेको छ । ल्याटिन अमेरिकामा पछिल्ला केही वर्षयता विभिन्न देशमा फासीवादी शासकहरूको उदय भएको छ । संरा अमेरिकी प्रतिक्रियावादी वर्गको सहायतामा सत्तासीन ती शासकहरूले सो क्षेत्रमा रहेका वामपन्थी सरकारविरुद्ध एकपछि अर्को षड्यन्त्र र जालझेल गर्दै आएका छन् । फासीवाद र वामपन्थबीचको सङ्घर्षको केन्द्र यतिबेला भेनेजुयला बनेको छ । केही समयअघि ब्राजिलमा भएको निर्वाचन फासीवाद र वामपन्थी खेमाबीचको रणमैदान बनेको थियो ।
ल्याटिन अमेरिकालाई आफ्नो आँगन ठान्ने उपनिवेशवादी मुनरो सिद्धान्त संरा अमेरिकी शासकहरूका दिमागमा अझै बलियो गरी बसेको छ । त्यो क्षेत्रमा आफूबाहेक अरु कुनै पनि शक्तिलाई संरा अमेरिकी शासक वर्ग प्रवेश निषेध गर्न चाहन्छ । ल्याटिन अमेरिकाका प्राकृतिक स्रोत साधनलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्नु संरा अमेरिका आफ्नो अधिकार ठान्छ । ल्याटिन अमेरिकी जनतालाई आफ्नो देशमा भएका प्राकृतिक स्रोत आफ्नै हितमा प्रयोग गर्नबाट बञ्चित बनाइएका छन् । त्यसै कारण ल्याटिन अमेरिकी देश आफूसँग अथाह स्रोत साधन भएर पनि गरिबी र पछौटेपनमा बाँच्न बाध्य छन् । गएको सन् २०१८ को उत्तर्राद्र्धमा हजारौँ हजार होण्डुरियाली जनता संरा अमेरिकाले सिर्जना गरेको अभाव र पछौटेपनको बदला लिन हुल बाँधेर लावालस्करका साथ अमेरिकी सिमाना पुगेका थिए । संरा अमेरिकी साम्राज्यवादका कारण होण्डुरसमा राजनीतिक अस्थिरता र आर्थिक विपन्नता भएको निष्कर्षका साथ ती जनता उत्तर अमेरिकाको यात्रामा निस्केका थिए । वाशिङ्टनको निम्ति त्यो ठूलो टाउको दुखाइको विषय बनेको छ ।
संरा अमेरिकाको यस्तै उत्पीडनविरुद्ध ल्याटिन अमेरिकी देशमा साम्राज्यवादविरोधी सरकार बन्ने गरेका छन् । बोलिभिया, क्युवा, निकारागुआ, भेनेजुयला आदि देशमा साम्राज्यवादविरोधी वामपन्थी सरकार छन् । ती देशका वामपन्थी सरकार संरा अमेरिकी साम्राज्यवादको निम्ति ठूलो टाउको दुखाइको विषय बनेका छन् । त्यसकारण कानुनी र गैरकानुनी रणनीति प्रयोग गर्दै प्रगतिशील शक्तिलाई पराजित र सत्ताच्युत गर्न सदैव लागिरहेको हुन्छ ।
भेनेजुयलामा यतिबेला हुँवा गुएइदोको कदम संरा अमेरिकाले धेरै देशमा अनेक समयमा गर्दै आएका यस्तै षड्यन्त्र र हस्तक्षेपको निरन्तरतामात्र हो । प्रजातन्त्र र संविधानवादको कुरा गरेर नथाक्ने संरा अमेरिकी शासक वर्ग अरू देशमाथि हस्तक्षेप गर्ने अवस्थामा कहिल्यै ती आदर्श पछ्याउने गर्दैन । मादुरो सरकार प्रजातान्त्रिक प्रक्रियाबाट बहुमत जनताले चुनेको सरकार हो । मादुरो सरकारविरुद्धको सत्ता विप्लवको प्रयासलाई संरा अमेरिकी सरकारले कुनै पनि अवस्थामा समर्थन गर्न प्रजातन्त्रको आदर्शले छेक्नुपर्ने हो । तर, साम्राज्यवाद संसारलाई आफ्नो तखतमा राख्न निर्लज्जतापूर्वक प्रस्तुत हुने गर्दछ । भेनेजुयलामा त्यो दृश्य देखिएको छ ।
भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको अपराधको सजायस्वरुप मादुरो सरकारले संरा अमेरिकालगायत ल्याटिन अमेरिकी फासीवादी सरकारका प्रतिनिधिलाई ७२ घण्टाभित्र देश छोड्न आदेश दिएका छन् ।
भेनेजुयलाको विषयमा पश्चिमा सञ्चारमाध्यमले गलत प्रचार गरिरहेको कुरा नौलो होइन । आज पनि अधिकांश पश्चिमा सञ्चारमाध्यमले भेनेजुयलाको अवस्थालाई अतिरञ्जनापूर्ण प्रचार गरिरहेका छन् । सञ्चारमाध्यमले प्रचार गर्ने त्यस्ता गलत समाचारलाई नै आधारमा साम्राज्यवादले हमला गरेका धेरै उदाहरणमध्ये इराकमाथिको हमला एउटा हुनसक्छ । इराकमा आमनरसंहारकारी आणविक हतियार भएको भन्दै संरा अमेरिका नेतृत्वको सैनिक गठबन्धनले त्यहाँ हमला ग¥यो । तर, इराकमा त्यस्तो हतियार कहिल्यै भेटिएन । पश्चिमा सञ्चारमध्यमले गरेका सबै प्रचार झूटा भएको घटनाक्रमले पुष्टि गरेको छ । आज भेनेजुयलाको विषयमा पश्चिमा सञ्चारमाध्यमले गरेको प्रचारयुद्धको नियत गलत छ । भेनेजुयलाको साम्राज्यवादविरोधी सरकार ध्वस्त बनाउनु नै उनीहरूको लक्ष्य देखिन्छ । तर, भेनेजुयलाका क्रान्तिकारी जनताले साम्राज्यवादविरुद्ध अन्तिम दमसम्म लडिरहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *