भर्खरै :

मिनिबस सेवा समिति भक्तपुरलाई अनुरोध

केही वर्ष अघिदेखि भक्तपुर मिनिबस सेवा समितिले चाँगुनारायण नगरपालिका स्थित छालिङ वडा नं ५ मत्स्यनारायण मन्दिरबाट भक्तपुर कमलविनायक हुँदै गोंगबु बसपार्कसम्म यात्रुबाहक बस सञ्चालनमा ल्याएपछि छालिङ्गवासी जनताले राहत महशुस गरेका थिए । दिउँसो अफिस जाने र बिहान स्कुल कलेज जाने विद्यार्थीलगायत सर्वसाधारणलाई मिनिबस सेवा समितिको यो कार्य सराहनीय लागेको थियो । तर, बस चालक र बस मालिकहरूको लापरबाहीको कारण केही समयदेखि यात्रुबाहक बस राम्रोसँग सञ्चालन भएको छैन । जता धेरै पैसा कमाउन पाईन्छ त्यतै लाग्ने चालकको प्रवृत्तिको कारण छालिङ्गवासी जनताले दुःख पाएका छन् । घन्टौंसम्म कुरेर बस्दा पनि समयमा बस नआउने र विद्यार्थीहरू स्कुल कलेज समयमा पुग्न नसक्ने समस्या सृजना भएको छ ।
भक्तपुर मिनिबस सेवा समितिदारा बस सेवा सञ्चालनमा आएको यति छोटो समयमै यस्तो लापरवाही छालिङ्गवासी भोग्नुपरेपछि जनताले विश्वास के आधारमा गर्ने ? यसको प्रत्यक्ष असर समयमै विद्यालय र कलेज पुग्नुपर्ने विद्यार्थीहरू, अशक्त, वृद्धवृद्धा लगायत सर्वसाधारणलाई परेको छालिङ्गवासी जनताले महशुस गरेका छन् । नियमित र निरन्तर बस सेवा सञ्चालन गरी जनताको सेवा गर्नु मिनिबस व्यवसायीहरुको कर्तव्य हो । साथसाथै आफूले दिएको रुटमा चालकले नियमित गाडी चलाएको छ कि छैन भनेर मिनिबस सेवा समितिले बेलाबेलामा छड्के जाँच गर्नु पनि जरुरी देखिन्छ । गलत प्रवृत्तिका चालक र बसका मालिकलाई कारबाही गरी नियमित बस सेवा सञ्चालनको लागि आवश्यक कदम चाल्न समयमै सम्बन्धित निकायको ध्यान जाओस्  ।
– सुष्मा बाटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *