भर्खरै :

आजदेखि बिस्का जात्रा

भक्तपुर, २७ चैत ।
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा बुधबारदेखि सुरु हुँदैछ । प्रत्येक वर्ष यो जात्रा आठ रात नौ दिनसम्म मनाइन्छ । बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार बिहान भक्तपुरको दत्तात्रयबाट जनचेतना ¥याली सुरु भई इनाचो, साकोथा, दरबार क्षेत्र, इँटाछेँ, वंशगोपाल, नासमना हुँदै टौमढीमा पुगी सभामा परिणत भयो ।
सभामा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सांस्कृतिक सुन्दरता कायम गर्न र हाम्रो पहिचान बचाइ राख्न बिस्का जात्रालाई राम्रो अवसरको रुपमा सदुपयोग गरी जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आह्वान गर्नुभयो ।

पर्यटकमाझ बिस्का जात्राको गरिमा बढाउन सम्बन्धित सरोकारवालाहरूले इमानदारीपूर्वक भूमिका खेल्न आवश्यक भएको बताउनुहुँदै प्रमुख प्रजापतिले जात्रालाई अझ सभ्य, भब्य, शान्तिपूर्वक एवं मर्यादित ढंगले मनाउनु हामी सबैको कर्तब्य र दायित्व भएको बताउनुभयो ।
जात्राको समय स्वस्थबद्र्धक खानपान र सरसफाइमा ध्यान दिनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले विश्व सम्पदा सूचीमा सूचिकृत ठाउँको प्रतिष्ठा बढाउन आह्वान गर्नुहुँदै बिस्का जात्रालाई मर्यादित बनाउन समयमै जात्रा सुरु गरी तोकिएको समयमै सम्पन्न गर्न अनुरोध गर्नुभयो ।
भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले जात्रामा अवाञ्छित क्रियाकलाप गर्नेहरू सजायको भागीदार हुनुपर्ने बताउनुभयो । बिस्का जात्रामार्फत् भक्तपुरको पहिचान देश–विदेशमा प्रचार हुने बताउनुहुँदै उहाँले जात्रा शान्तिपूर्ण रुपमा सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले जात्रास्थलमा अव्यवस्थित रुपमा पसल नराख्न र पार्किङ नगर्न, जात्राको समयमा पुरानो नगर क्षेत्रमा दुईपांग्रे र चारपांग्रे सवारीसाधन नचलाउन अनुरोध गर्दै जात्राका सम्पूर्ण गतिविधि सी.सी. क्यामेरामार्फत् निगरानीमा रहने जानकारी दिनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले भैरवनाथको रथमा गुठी नाइके, पूजारी, चौगुठीलगायत तोकिएका व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न, जात्रा स्थलमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार नगर्न र शान्तिपूर्ण रुपमा जात्रा शुभारम्भ गर्न आग्रह गर्नुभयो ।
भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बिस्का जात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढिरहेको बताउँदै बिस्का जात्राको गरिमा बढाउन सामूहिक प्रयास आवश्यक भएको बताउनुभयो ।
गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले यस वर्षको बिस्का जात्रा शान्तिपूर्ण हुने विश्वास प्रकट गर्दै जात्रा तोकिएकै समयमा सुरु भए सम्भावित दुघर्टनाहरूमा कमी आउने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित उक्त जनचेतना ¥यालीमा भक्तपुर नपाका १० वटै वडाका वडाअध्यक्ष, जनप्रतिनिधिहरु, कर्मचारी, दाफा–भजन, टीम–क्लब, विद्यालय, कलेज, सहकारी संस्थालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *