भर्खरै :

अनुवादसम्बन्धि महत्वपूर्ण पुस्तक प्रकाशन

—तीर्थ भट्टराई
काठमाडौँ, २७ चैत (रासस)ः यस वर्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवादसम्बन्धी ‘अनुवादक परिचय कोश (२०७५)’ अर्थात् (अ डिक्सनरी अफ ट्रान्स्लेटर्स प्रकाशन गरेको छ । प्रतिष्ठानको अनुवाद विभाग प्रमुख तथा कोशका निर्देशक प्रा डा उषा ठाकुरको पहलमा प्रा डा गोविन्दराज भट्टराईको प्रधान सम्पादकत्वमा प्रकाशित सो कृतिबाट हालसम्म संस्कृत, अङ्ग्रेजी, हिन्दी, चिनियाँलगायत भाषाबाट नेपालीमा तथा नेपालीबाट अङ्ग्रेजीलगायत विश्वका भाषामा साहित्य, कला, संस्कृति, इतिहास आदिको अनुवाद गर्ने व्यक्ति तथा उनीहरुका अनुवाद कृतिबारे जानकारी पाउन सकिन्छ ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रतिष्ठानको भाषागत एवम् विषयगत कोश स्थापना गर्ने उद्देश्यानुरुप हीरक वर्षमा सोे कोश प्रकाशन गरिएको जानकारी दिनुहुन्छ । तत्कालीन उपकुलपति विष्णुविभू घिमिरेका विचारमा सो कृति अनुवाद साहित्यको इतिहास पनि हो । अनुवाद साहित्यको महत्वबारे जोसे सारामागोको भनाइ उद्धृत गर्दै प्रा डा ठाकुर भन्नुहुन्छ, “स्रष्टाहरुले राष्ट्रिय साहित्यको निर्माण गर्दछन् भने अनुवादकहरुले वैश्विक साहित्यको निर्माण गर्दछन् । कुनै पनि व्यक्तिलाई सवै भाषाको ज्ञान हुन सम्भव नभएकाले अनुवादको आवश्यकता पर्दछ ।” कृतिका प्रधान सम्पादक डा भट्टराई भन्नुहुन्छ, “अनुवाद एक द्वैभाषिक एवम् द्वैसांस्कृतिक साँघु हो ।”
नेपाली मात्र हैन सीमा पारि दार्जिलिङ, सिक्किम, आसाम र मेघालयसम्म पुगेर ज्ञात अज्ञात अनुवादकको नालीबेली कृतिमा आएको छ । कृति तयार गर्ने क्रममा काठमाडौँमै रहेका पुराना अनुवादक, लेखक पनि या त सम्पर्कमा आएनन्, या त जानकारी दिएनन्, या आफ्ना पुस्तकमा सम्पर्कको कुनै सुइँको नै दिएनन् । तथापि अनुवादक कोशमा पुरानादेखि नयाँसम्म, नेपालीदेखि भारतीय, रुसी, बेलायती, अमेरिकीलगायतको विवरण छ ।
धेरैजसो पुराना अनुवादकमा संस्कृत तथा हिन्दीबाट नेपालीमा अनुवाद गर्नेहरु जो नेपाली बनारसमा संस्कृत पढेका विद्वान्मा पर्नुहुन्छ । पुराना र ख्यातिप्राप्त अनुवादकमा मोतीराम भटृ, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा आदिलाई लिन सकिन्छ । युवककवि भट्ट आफ्नो छोटो जीवनकालमा आचार्यलाई चिनाउनेदेखि लिएर महाकवि कालीदासद्वारा रचित ‘अभिज्ञान शाकुन्तलम्’को नेपालीमा ‘शकुन्तला’ अनुवाद गर्न भ्याएर नै जानुभयो । महाकवि देवकोटाले अङ्ग्रेजीबाट नेपालीमा विभिन्न लेखकको ‘प्रसिद्घ प्रबन्ध सङ्ग्रह’, शेक्सपियरको नाटक ‘म्याकबेथ’ जस्ता कृतिको अनुवाद गर्नुभयो भने ‘राजकुमार प्रभाकर’, ‘सावित्री सत्यवान्’, ‘प्रमिथस’ आदि कृति पाश्चात्य साहित्यबाट नेपालीमा अनुवाद गर्नुभयो । त्यसैगरी कविशिरोमणि पौड्यालले कालीदासको नाटक ‘अभिज्ञान शाकुन्तलम्’ र ‘पञ्चतन्त्र’को अनुवाद गर्नुभयो । पुराना संस्कृतका विद्वान्ले धेरै संस्कृतका धर्मग्रन्थको नेपाली भाषामा अनुवाद गर्नुभएको छ । तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लैनसिंह वाङ्देलले पनि ‘विश्व कथा संग्रह नेपालीमा अनुवाद गर्नुभयो । नेकपाका संस्थापक महासचिव पुष्पलाल पनि अनुवादकमा देखिनुभएको छ जसले ‘कम्युनिष्ट मेनिफेष्टो’लाई कम्युनिष्ट घोषणापत्रमा रुपान्तरण गरिदिनुभयो ।
चक्रपाणि चालिसे, तीर्थराज तुलाधर, पूर्णबहादुर एमए, अभि सुवेदी, ईश्वर बराल, प्रा डा ठाकुर, कुलचन्द्र गौतम, गोविन्द भट्ट, कृष्णप्रकाश श्रेष्ठ, क्षेत्रप्रताप अधिकारी, खगेन्द्र सङ्ग्रौला, प्रा डा भट्टराई, जङ्गब चौहान, जयराज आचार्य, टीकाराम शर्मा, डिल्लीराज उप्रेती, तारानाथ शर्मा, नारायणप्रसाद अधिकारी, मुकुन्दनाथ रिमाल, आनन्दप्रसाद ढुङ्गाना, कृष्णविलास उपाध्याय, फणीन्द्रप्रसाद आचार्य, अनगारिका माधवी, भिक्षु अनिरुद्घ, एडब्लु कर्नेलियस, विलियम कर्कप्याट्रिक, ड्यानियल राइट, ग्रेटा राणा अनुवादकका कोटिमा पर्नुहुन्छ । यस्तै अन्य अनुवादकमा शम्भुप्रसाद ढुङ्गेल, शुक्रराज शास्त्री, योगी नरहरिनाथ, यदुनाथ खनाल, वसन्तकुमार शम्र्मा नेपाल, सत्यमोहन जोशी, सिके प्रसाईं, ऋषिकेश शाह, शान्तदास मानन्धर, राजेश गौतम, श्यामल, तीर्थप्रसाद भटृराई, महेश पौड्याल, बलराम अधिकारी, सञ्जीव उपाध्याय, शान्ति थापा (गुवाहाटी), माइकल हट, ल्यारी हार्टशेल, युयुत्सु आरडी शर्मा, अग्निबहादुर क्षेत्री (असाम), अर्जुन प्रधान र कुमार प्रधान (दार्जिलिङ), सिपी गिरी (सिक्किम) आदि हुनुहुन्छ ।
अनुवादक कोशले नेपालीमा सर्वप्रथम अनुवाद भएको कृति बेलायतका हेनरी ह्यागार्डको कृति ‘शि’ को पुष्करशम्शेर राणाले गर्नुभएको ‘शि’ शीर्षक अनुवाद नै हो भन्ने मान्यताविरुद्घ गम्भीरध्वज शाह हुन् भनी शिव रेग्मीले ‘रचना’ मासिकमा प्रकाशन गर्नु भएको महत्वपूर्ण लेखलाई पनि साभार गरी यसको रहस्य खुलाएको छ । शाहले वंकिमचन्द्र चट्टपाध्यायको उपन्यास ‘चन्द्रशेखर’लाई अङ्ग्रेजीबाट नेपालीमा सोही नाममा विसं १९७२ मा प्रकाशन गरेको अनुवाद कति महत्वपूर्ण थियो भन्ने उजागर भएको छ । शाहको नेपाली शैली यति सशक्त र राम्रो थियो कि त्यसको बालकृष्ण समले समेत प्रशंसा गरी लेखेको भनी उल्लेख गरिएको छ । समले ‘शाहको कृति मौलिक हुँदो हो त उहाँको स्थान लेखनाथ पौड्यालभन्दा कम हुने थिएन’ भन्नुभएको बाट पनि थाहा हुन्छ अनुवादकका रुपमा शाहको योगदान कति रहेछ र उनी कुन स्तरका प्रतिभा रहेछन् ।
यसैगरी नेपालीमा प्रकाशित पहिलो पद्य अनुवाद भने बनारसमा बस्ने गरेका पं रामप्रसाद सत्यालले अनुवाद गर्नुभएको अङ्ग्रेजी नाटककार शेक्सपियरको कविता ‘प्रभात वर्णन’ हो भन्ने पनि कोशमा उजागर गरिएको छ । सो कविता १९६५ माघ पूर्णिमाको ‘माधवी’ मा प्रकाशन भएको भनी शिव रेग्मीले ‘रचना’ पूर्णाङ्क १५१ विसं २०७४ मा लेख्नुभएको लेखबाट साभार गरिएको छ । कोशले यसरी इतिहासको गर्भमा लुकेका प्रतिभालाई पनि उजागर गरेको छ । कतिपय कृतिमा लेखक तथा प्रकाशकले कृतिका अनुवादकको नाम मुखपृष्ठमा उल्लेख नगरी वा भित्र पनि कहीँ स्थान नदिई अनुवादकलाई ओझेलमा पारी अन्याय गरेकामा विरोध जनाइएको छ । कोशले कतिपय अनुवादकले कठिन परिस्थितिमा पनि गरीबी, अभाव र रोगव्याधिबाट ग्रस्त हुँदाहुँदै अनुवाद गरी छोटो आयुमा पनि नेपाली साहित्यलाई ठूलो गुन लगाएको उजागर गरेको छ । लेखक र सम्पादकको नाम रहने तर अनुवादक ओझेल पर्ने स्थितिलाई कोशमा व्यङ्ग्य गरिएको छ ।
पुस्तकको सम्पादक मण्डलमा प्रा डा योगेन्द्र यादव, जयदेव भट्टराई, बलराम अधिकारी, नवीन चित्रकार र माधवप्रसाद लामिछाने हुनुहुन्छ । दुई सय ३५ पृष्ठको सो पुस्तकको मूल्य रु ३४० राखिएको छ । कतैकतै मुद्राराक्षसका कारण पनि केही त्रुटि देखिएका छन् भने केही तथ्यमा फरक परेको देख्न सकिन्छ । अनुवादकमा भानुभक्त आचार्यको नाम नदेखिनुको अर्थ भानुभक्तीय रामायण मौलिक कृति भएको भनी बुझ्न सकिन्छ । छोटो समयमा एउटा गहन काम गर्नु पर्दा अनुसन्धान वा मन्थनमा केही कमी भएकाले पनि सो भएको हुन सक्छ र ती क्रमशः सुधारिनुपर्छ । जे होस् सम्पादक मण्डलले ओझेलमा रहेका वा विस्मृतितिर जान खोजेका स्रष्टा र अनुवादकलाई खोतलेर पाठकसामु ल्याइदिएको छ । सम्पादकहरुले बाटो नै नभएको जङ्गलमा गोरेटो खनिदिनुभएको छ, यसलाई विस्तारै फराकिलो र तथ्यपूर्ण बनाउन स्रष्टा, अनुवादक, समालोचक, समीक्षक तथा पाठक सबैको योगदान आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *