नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
सुशिला
दक्षिण अफ्रिकी उपनिवेशवादविरोधी स्वतन्त्रता सङ्घर्षका नेता एवं दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीका महासचिव क्रिस हानीको वास्तविक नाम मार्टिन टेम्बिसिली (Martin Tembisile) थियो । उनको जन्म सन् १९४२ मा साबालीली भन्ने गाउँको ट्रान्सकेइमा भएको थियो । उनका पिताको नाम गिल्बर्ट हानी र माताको नाम मेरी हानी थियो । गिल्बर्ट एक मजदुर थिए भने मेरी एक किसान थिइन् । गिल्बर्ट र मेरीका तीन भाइछोरामध्ये क्रिस माहिलो थिए ।
क्रिसको जन्मथलो दुर्गम र विपन्न थियो । महिलाहरू पानी खोज्न पाँच किलोमिटर टाढा जानुपथ्र्यो । त्यति टाढाबाट ती महिलाहरू टाउकामा पानीका भाँडो बोकेर फर्कन्थे । एउटा साबुन र एक किलो चिनी किन्न पनि गाउँलेहरू १५ किलोमिटर टाढासम्म हिंड्नुपथ्र्यो । मानिसहरू अशिक्षित थिए ।
क्रिस औपचारिक रूपमा गाउँकै प्राथमिक विद्यालयमा भर्ना हुनुअघि उनकी फूपूले उनलाई साँवा अक्षर, अङ्क र केही बालगीत सिकाइन् । त्यसले पछि उनलाई विद्यालयमा अरू विद्यार्थीको तुलनामा अब्बल बन्न सहयोग मिल्यो । एकजना लेखकसँगको अन्तर्वार्तामा आफ्नो विगत सम्झँदै क्रिसले भनेका छन्– ‘….. मलाई सम्झना छ, मैले कथा पढेको देखेर प्रधानाध्यापक मख्ख परेका थिए । तर, वास्तवमा मैले त्यो कथा कण्ठस्थ पारेको थिएँ र किताबै नहेरी म सबै शब्द–शब्द सुनाउँथें ।’
क्रिसको घर र विद्यालयको दूरी दुई घण्टाको थियो । हरेक दिन उनी दुई घण्टा विद्यालय पुग्न र दुईघण्टा फर्कन खर्चिन्थे । विद्यालयबाट फर्केपछि क्रिस आफ्ना साथीहरूसँग मिलेर गोठाला जान्थे । गोठालाहरू गधामा चढ्थे । उनीहरू फूटबल खेल्थे । क्रिस भने लठ्ठी जुधाउनमा पोख्त थिए । उनका बालसखा माहोलीली छोम्बेनीले आफ्नो विगत सम्झँदै भने– ‘उनी त्यसमा यति सिपालु थिए, हामीमध्ये कोही त उनीसँग डराउँथ्यौं पनि । तर, उनी ज्यादै शिष्ट थिए । उनका लागि सबभन्दा महत्वपूर्ण कुरा विद्यालय बन्ने गथ्र्यो । केटीहरूप्रति उनको रूचि थिएन । उनी अरू केटाहरूले केटी जिस्काएको हेरिरहन्थे ।’ क्रिस सानैदेखि किताब भनेपछि हुरूक्क थिए । कक्षा ५ को परीक्षामा उनले सो क्षेत्रका ३७ वटा विद्यालयका विद्यार्थीमध्ये सबभन्दा उत्कृष्ट नतिजा ल्याएका थिए ।
मानवीय क्षमता र मानिसहरूका समस्याप्रति चिन्तन गर्ने बानीका कारण उनी बाल्यकालमा इसाई धर्मप्रति आस्थावान बने । उनी पादरीहरूका निःस्वार्थी जीवनपद्धतिबाट प्रभावित बने । उनी हरेक आइतबार बिदाको दिन गिर्जाघर जान्थे । गिर्जाघरका काममा सघाउँथे । तर, क्रिसका माता–पिता इसाई धर्मावलम्बी थिएनन् । उनीहरू अफ्रिकाकै मौलिक धर्म मान्थे । क्रिसको जीवनमा पछिसम्म धर्मको प्रभाव रह्यो । सन् १९६० मा कम्युनिष्ट पार्टीको सदस्य बन्दासम्म उनी गिर्जाघरका नियमित सदस्य थिए । उनले एउटा अन्तर्वार्तामा धर्मप्रति आफ्नो परिपक्व बन्दै गएको धारणा यसरी व्यक्त गरेका थिए –
‘मेरा लागि पार्टी र गिर्जाघर परिपूरक संस्था थिए । म यिनीहरूबीच कुनै विरोधाभास पाउँदिनथेँ तर जसै समय बित्दै गयो, मैले गिर्जाघर काला वर्णका जनताको सामाजिक आर्थिक प्रगतिप्रति असंवेदनशील बनेको देखेँ जब कि बाइबलले त्यसको ठीक विपरीत भनेको छ ।
त्यतिबेला (कम्युनिष्ट) पार्टी र अफ्रिकी राष्ट्रिय काङ्ग्रेस (एएनसी) ले गरिब जनताका दुःखलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई जोड दिंदै थिए र सन् १९६२ सम्ममा धर्मप्रति मेरो निष्ठा कमजोर बन्दै गएको थियो । मृत्युपछि सुन्दर जीवनका आश्वासन र बाँचिरहेको जीवनका दुःखप्रतिको बेवास्ताबीचको विरोधाभासले मेरो मन मस्तिष्कमा भूकम्प गयो । त्यही वर्ष म एमके (अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको दस्ता) मा भर्ती भएँ र गिर्जाघरमा मेरो सक्रियता क्रमशः घट्दै गयो । छोटकरीमा म के निष्कर्षमा पुगें भने जनताका दुःख हरण गर्न म संलग्न पार्टीले गिर्जाघरले भन्दा धेरै बढी काम गरिरहेको छ ।
त्यस समय मैले ईश्वरको अस्तित्वमाथि प्रश्न उठाएँ, ‘यदि ईश्वरको अस्तित्व भए जनताको दुःखमा उनी के गर्दै बसे ?’
म धर्म मान्दिनँ तर म धर्मलाई दर्शनको रूपमा बुझ्दछु – विश्व ब्रह्माण्डका रहस्यहरू उद्घाटन गर्न खोज्ने महत्वपूर्ण काममा संलग्न अरू धर्मनिरपेक्ष वा भौतिकवादी दर्शनजस्तै । मलाई लाग्छ म धर्मभित्र रहँदाभन्दा यतिबेला धर्मको मर्म मैले बढी बुझेको छु ।’
जिगुदु प्राथमिक विद्यालय र काला (Cala) माध्यमिक विद्यालयको अध्ययन पूरा गरेपछि हानी १४ वर्षको उमेरमा सन् १९५६ मा एलिसको लभडेल कलेजमा पढ्न गए । लभईल कलेज त्यतिबेला रङ्गभेदविरोधी स्वतन्त्रता आन्दोलनको केन्द्रमध्येको एक फोर्ट हेयर विश्वविद्यालय नजिक थियो । हिंडेर पन्ध्र मिनेटमा पुगिन्थ्यो ।
एलिसमा हानी र उनीजस्ता न्यून आर्थिक अवस्थाका विद्यार्थीको जीवन त्यति सहज थिएन । एलिस रेल स्टेशनबाट झर्ने बित्तिक्कै आर्थिक रूपमा सम्पन्न परिवारका विद्यार्थी ट्याक्सी चढेर आफ्नो गन्तव्य पुग्थे । तर, हानीको निम्ति त्यसरी जान सम्भव थिएन । गधाले चलाउने टाङ्गा नै उनीहरूको सहारा बन्थे ।
एलिस चिसो ठाउँ हो । हिउँजत्तिकै चिसो पानीले नुहाई–धुवाई गर्नुपथ्र्यो । फलामको चिसो खात र उध्रिएका परालका सुकुलबाहेक छात्रावासका कोठामा केही थिएन । एलिसको हावापानी चिसो भए पनि त्यहाँको राजनीतिक हावापानी सधैँ तातो हुन्थ्यो ।
सन् १९५७ मा युवा लिगको लभडेल एकाइका प्रमुख सिमन केकेनाले हानीलाई अफ्रिकी राष्ट्रिय काङ्ग्रेसमा सदस्य बनाए । केकेना त्यतिबेला स्वतन्त्रता सङ्घर्षको मुखपत्र ‘नयाँ युग’ पत्रिकाका स्थानीय प्रतिनिधि पनि थिए । काङ्ग्रेसको सदस्य बन्नुअघि नै हानी एकता आन्दोलन र त्यसको युवा सङ्गठन ‘अफ्रिकी युवा समाज (The Society of Young Africa -SOYA) का विचारबाट प्रभावित भए । सो सङ्गठनले काला जातिमाथि गोरा जातिको शोषणको मूल कारण पुँजीलाई औंल्याउँथ्यो । तथापि त्यो सङ्गठनले कुनै ठोस गतिविधि नगरेकोमा हानी असन्तुष्ट थिए । अन्यायविरूद्धको युद्ध दिमागमा मात्र रहे त्यसको कुनै अर्थ नहुनेमा उनको दृढ मत थियो । तसर्थ उनी उतिबेला सक्रिय अफ्रिकी राष्ट्रिय काङ्ग्रेसमा आबद्ध बने ।
सदस्यता दिन उम्मेदवारले आफ्नो अनुशासन र प्रतिबद्धता देखाउन केही गरेर देखाउने चलन थियो । केकेनाले एक साँझ उनलाई त्यस्तै एउटा निर्देशन दिए । निर्देशनअनुसार दुश्मन खेमाको एकजना व्यक्तिका कपडा राखिएको ग¥हुङ्गो बाकस खुसुक्क ल्याएर कहीं जलाउनुपथ्र्यो । १६ वर्ष उमेरका किशोर हानीको लागि भूमिगत गतिविधिको स्वाद चाख्ने त्यो पहिलो अवसर थियो ।
त्यो समयमा दक्षिण अफ्रिकाको ठाउँ–ठाउँमा रङ्गभेद र अन्यायविरूद्ध सङ्घर्ष चर्किरहेको थियो । सन् १९५० दशकका पछिल्ला वर्षमा दक्षिण अफ्रिकाका रङ्गभेदी प्रधानमन्त्री एचएफ भर्वर्ड (HF Verwoerd) सत्तासीन भए । उनले बान्टु स्वशासन कार्यान्वयन ऐन–४६ (१९५९) मा प्रस्तावित अवधारणाअन्तर्गत हानीको गाउँ ट्रान्सकेइलाई ‘फरक विकासको नमुना’ बनाउने घोषणा गरे । सो अनुसार काला जातिका मानिसलाई आफू जन्मी–हुर्की आएको जमिन जोत्न दिइने तर त्यसको स्वामित्व कायम नरहने बनाइयो । पछि त्यसलाई ‘बान्टुस्तान’ भन्न थालियो । ग्रामीण जनतालाई डुबाउने यो कदमविरुद्ध विख्यात कम्युनिष्ट पत्रकार गोभान् एम्बेकी (Govan Mbeki) ले सङ्घर्ष छेडे । पोर्ट एलिजावेथबाट प्रकाशित हुने ‘नयाँ युग’ पत्रिकाले त्यो सङ्घर्षलाई साथ दियो ।
‘नयाँ युग’ र दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीको विचारप्रधान पत्रिका ‘अफ्रिकी कम्युनिष्ट’ बारे हानीको कलेजका विद्यार्थीहरू छात्रावासमा, बगैंचाको रूखमुनि बसेर छलफल गर्थे । सन् १९५८ मा बम हमलाबाट ‘नयाँ युग’ को कार्यालय ध्वस्त पार्दा विद्यार्थीहरू आक्रोशित बनेका थिए ।
सन् १९५६ को डिसेम्बर ५ मा १ सय ५६ जना काला तथा गोरा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका सदस्य एवं समर्थकको गिरफ्तारीसम्बन्धी कानुनी सङ्घर्षले पनि तत्कालीन स्वतन्त्रता आन्दोलनलाई टेवा पु¥यायो । अन्ततः ४ वर्षपछि सरकार पराजित भयो र स्वतन्त्रता आन्दोलनका योद्धाहरू सरकारलाई झुकाउन सफल भए ।
सन् १९५७ को अलेक्सान्द्र बस बहिष्कार आन्दोलन त्यतिबेलाका चर्चित सङ्घर्षमध्ये पर्दछ । अलेक्सान्द्रको बस चढ्न काला जातिका मानिस कम्तीमा २० किमी हिंड्नुपर्दथ्यो । काला जातिका जनता बस्ने ठाउँ यातायातको सुविधाबाट बञ्चित गरिएको थियो । यो रङ्गभेदी सहरी योजनाको प्रतीक अलेक्सान्द्रमा बस चढ्न हजारौं सहरका बासिन्दा बहिष्कारमा उत्रे । ‘नयाँ युग’ ले यो आन्दोलनको पक्षमा प्रचार–प्रसार ग¥यो ।
सन् १९५७ को बेथल कृषि मजदुर काण्डबारे पनि ‘नयाँ युग’ पत्रिकाले लेख–रचना र समाचार प्रकाशित गरेको थियो । कालान्तरमा पूर्व त्रान्सभाल क्षेत्रका कृषि मजदुरहरूमाथिको चर्को शोषण आलु बहिस्कार आन्दोलनसम्म विकास भयो । क्रान्तिकारी कृषि मजदुर गिर्ट सिबान्डेको नेतृत्वमा रगत बगाएर उमारेको बेथालको आलु बहिस्कार आन्दोलन देशैभरि सल्कियो । दसौं हजार काला जातिका जनता यो सङ्घर्षमा सहभागी बने ।
हानीजस्ता जोशिला युवाहरूका निम्ति त्यतिबेलाका आदर्श गाबी (Gqabi) बनेका थिए । सन् १९६० को किसान विद्रोहमा गाबीले एकजना पत्रकारका रूपमा किसानहरूका जीवनको अन्तरङ्ग बुझेर निराशाजनक परिस्थितिमा उनीहरूका मित्र बने । यो किसान विद्रोहमाथि शासक वर्गले नराम्ररी दबायो । १६ जनाको हत्या भयो । धेरैलाई हतास मनस्थितिमा पु¥याएको थियो । गाबीको पनि पछि हत्या भयो ।
एम्बेकीका प्रभावशाली र जनपक्षीय लेख–रचनाले कानुनी हैसियतप्राप्त अफ्रिकी राष्ट्रिय काङ्ग्रेस र गैरकानुनी दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीलाई संयुक्त रूपमा अघि बढाउन सहयोग पु¥याएको थियो ।
सन् १९५९ को विश्वविद्यालय शिक्षा विस्तार ऐन – १९४५ अनुसार फोर्ट हेयर विश्वविद्यालयलाई एउटा संस्थामा मात्र सीमित गर्ने निर्णयविरूद्ध फोर्ट हेयर र लभडेलका युवाहरू सङ्घर्षको अर्को मोर्चा खोल्न तम्सिए । सङ्घर्ष र समयले हानी र उनका सहपाठीहरूलाई धेरै कुरा सिकायो, बहसहरू पेचिला बन्दै गए । सन् १९५९ अप्रिलमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसबाट टुक्रिएर रोवर्ट सोबुक्वेको नेतृत्वमा अखिल अफ्रिकी काङ्ग्रेस (The Africanist Congress–PAC) गठन गरियो । यसले गरिब मजदुर वर्गबीच सङ्गठनलाई जोड दियो । सुरूमा यसप्रतिको आकर्षण र विस्तार व्यापक भए पनि पछिसम्म दिगो रहन सकेन । दस वर्षको अन्तरालमा यो पार्टी छिन्नभिन्न बन्यो ।
लभडेलमा क्रिस हानीको दिनचर्या कष्टकर थियो । उनीसँग जम्मा भएको एक जोर जुत्ता र एउटा ज्याकेट थियो । अरूका सुकिला लुगा अगाडि हानीको भेषभुषा नराम्रो थियो । ‘तर, त्यो मेरो लागि महत्वपूर्ण कुरा थिएन । मुख्य कुरा त मेरो शिक्षा थियो’, हानीले भने ।
लभदेलमा प्रशासनले विपन्न विद्यार्थीहरूमाथि भेदभावपूर्ण व्यवहार गथ्र्यो । गरिब विद्यार्थीलाई कमसल खाना दिइन्थ्यो । छात्रावासमा यस्तो पक्षपातविरूद्ध हानीले साथीहरूसँग मिलेर विरोध गरे । त्यस्ता विरोध कार्यक्रममा उनीहरू अल्बर्ट लुथुली र कङ्गोका सहिद प्याट्रिस लुमुम्बाका गीत गाउँथे । कलेजभित्र एकातिर काला र गोराबीचको रङ्गभेद थियो भने अर्कोतिर पैसा भएका र नभएका बीच पनि विभेद थियो । गोरा जातिका शिक्षकहरू काला जातिका शिक्षकहरू बसेको ठाउँभन्दा अलग अलि उठेको ठाउँमा खाना खान्थे । पैसा भएका विद्यार्थीहरूले हरेक दिन मासु, घिउसँग रोटी र अन्न मिसाएको दूध खान्थे । कतिले हप्ताको तीन दिन मासु खान्थे । तर, हानीसँग एकजोर अर्को लुगा किन्न समेत पैसा थिएन । कलेजको व्यस्त तालिकाबीच शुक्रबार बेलुकी उनी आफ्नो ज्याकेट भिजाउँथे र शनिबार धोएर सुकाउँथे ।
सन् १९५८ को अन्त्यतिर हानीले लभडेलमा आफ्नो पढाइ सकाए । अङ्ग्रेजी, जोसा (अफ्रिकी भाषा), ल्याटिन, इतिहास, गणित र स्वास्थ्य उनका विषयहरू थिए । त्यही वर्ष अक्टोवरमा उनी फोर्ट हायरमा कानुन सङ्कायमा भर्ना भए । फोर्ट हायरमा नेल्सन मण्डेला, ओलिबर टाम्बो, गोभान एम्बेकी, रोबर्ट सोबुक्वे, रोबर्ट मुगाबे, क्वेट्ट मासिर, कासियर माताम्जिमा र माङ्गोसुथु बुथिलिजी आदि चर्चित व्यक्तित्वहरू पढेका थिए ।
फोर्ट हायरमा क्रिस हानी मध्यम खालका विद्यार्थी थिए । सोचेजस्तो राम्रो नतिजा परीक्षामा हासिल गर्न उनले सकेनन् । विश्वविद्यालयका विद्यार्थी नेतृत्वमध्ये हानी सबभन्दा कान्छो भए तापनि उनको प्रभाव राम्रो थियो, विद्यार्थी तथा मजदुरबीच सङ्गठन गर्नमा उनी पोख्त थिए, नारा–जुलुस एवं प्रतिबन्धित पर्चा वितरणमा उनी सदैव अगाडि हुन्थे । भूमिगत सूचना सम्प्रेषणमा उनी सिद्धहस्त थिए ।
त्यही बेला दक्षिण अफ्रिका बाहिर गोप्यरूपमा ६ महिना तालिम लिन १० जना प्रतिभावान कार्यकर्ता छनोट गर्ने निर्देशन जारी भयो । हानीले आफू नजाने बताए । त्यसताका उनी माक्र्सवादको गम्भीर अध्ययनमा जुटेका थिए । साम्यवादी सिद्धान्तप्रति उनको लगाव बढ्दै थियो । राष्ट्रिय मुक्ति र वर्ग सङ्घर्ष एक–अर्कासँग अन्तरसम्बन्धित हुने सिद्धान्तप्रति उनको मत बलियो र स्पष्ट बन्दै थियो ।
एक दिन गोभान एम्बेकी फोर्ट हायर आए । विद्यार्थीहरूले भूमिगत सङ्गठन संरचना निर्माण र विस्तारको लागि सहयोग गर्न अनुरोध गरे । त्यसै क्रममा उनले हानीलाई दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीको सदस्यता प्रदान गरे । (पुरानो कम्युनिष्ट पार्टी विघटन पछि सन् १९५३ मा नयाँ दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टी गठन गरिएको थियो ।)
सन् १९६० मा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसमाथि ठूलो सङ्कट आइप¥यो । सार्पीभिल्ले र लाङ्गामा मार्च २१ मा भएको नरसंहारमा ७० भन्दा बढी मानिस मारिनुका साथै २ सयजना घाइते भए । प्रधानमन्त्री भिर्वोरेडले श्वेत आतङ्क फैलाएको थियो । पश्चिमा देशहरूले उनीमाथि कूटनीतिक दबाब दिए पनि उनले टेरपुछार लगाएको थिएन । त्यही वर्ष राष्ट्रिय काङ्ग्रेसमाथि भिर्वोरेडले प्रतिबन्ध लगायो । त्यसपछि काङ्ग्रेसका नेता–कार्यकर्तामाथिको यातना, जेल सजाय, मानवअधिकार हननको क्रम अझ बढ्यो । काङ्ग्रेसको नीति परिवर्तनमा चौतर्फी माग आयो, सशस्त्र प्रतिरोध गर्नुपर्ने हानीजस्ता युवाहरूको मत बलियो थियो । यसैबीच सन् १९६१ डिसेम्बर १६ मा काङ्ग्रेसको सशस्त्र दस्ता एमके MK गठन भयो । यद्यपि कतिपय पार्टी नेताहरू भने सशस्त्र सङ्घर्षबारे असहज महसुस गर्दै थिए । तत्कालीन परिस्थितिबारे हानीले भने, ‘….. तर, त्यो गम्भीर प्रश्न, समीक्षा र आत्ममूल्याङ्कनको समय थियो, दुवै काङ्ग्रेस र कम्युनिष्ट पार्टीमा ।’
नेल्सन मण्डेला एमकेका कमाण्डर इन चिफ थिए । एमकेको घोषणापत्रमा लेखिएको थियो, ‘जनताको प्रतिरक्षाको अग्रभागमा एमके रहनेछ । सरकार र सरकारका जातीय दमनविरूद्ध जनताको लड्ने अस्त्र हुनेछ–एमके । यो मुक्ति, अधिकार र अन्तिम मुक्तिका लागि जनताको बलियो शक्ति हुनेछ ।
एमकेलाई स्थानीय Umkhonto we Sizue भनिन्थ्यो । स्थापनाकालदेखि एमके जातिवादी थिएन । कमाण्डर मण्डेला प्रस्ट थिएः ‘अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको नेतृत्वले सधैँ काला दक्षिण अफ्रिकी जनतालाई हिंसा प्रयोग नगर्न सिकाए । तर, यसले केही उपलब्धि भएन । यसको अर्थ हाम्रा समर्थकहरू यो नीतिप्रति सशङ्कित हुन थालेका छन् ….. ।’
हानीले एमकेको सैनिक नियम ज्यादै मन पराए । नियममा लेखिएको थियो Umkhonto जनताको युद्ध लड्दै गरेको जनताको सेना हो । यसमा हाम्रा जनताका सबभन्दा उत्पीडित, सबभन्दा शोषितका छोराछोरी समावेश छन् । यसकारण हामी गौरव र सत्यका साथ दाबी गर्छौ Umkhonto यो देशको हतियार हो ।’
एमके स्थापना भएकै दिन यसको पहिलो सशस्त्र कारबाही सुरू भयो । एमकेका प्राविधिक इञ्जिनियर डेनिस गोल्डवर्गले दुईवटा बम बनाएका थिए । एउटा बमको समय दिने औजारले काम गरेन भने अर्को बम राख्न जाँदा उनी गिरफ्तारीमा परे । प्रहरी पहिले नै उनलाई त्यस स्थानमा कुरिबसेका रहेछन् ।
यहाँसम्म आइपुग्दा क्रिस हानीको सैद्धान्तिक दृष्टिकोण क्रमशः प्रस्ट हुँदैगयो । कामाटादेखि एलिससम्मको यात्राले उनलाई धेरै कुरा सिकाएको थियो । हानीले भने –‘अब मैले धेरै काला श्रमिक देखिसकें, शोषणको निर्मम रूप देखें । दासको जस्तो ज्याला, मजदुर अधिकारविहीन अवस्था, त्यस परिस्थितिमा समाजवादप्रतिको अपिल ज्यादै व्यापक लाग्यो । श्रमिकले धन सिर्जना गर्छ तर अन्त्यमा उनीहरूको हातमा लाग्यो शून्य । उनीहरू खानका लागि चना पाउँछन् र पुँजीपतिका लागि काम गर्छन् ।
यो मेरो सामान्य बुझाइ थियो । मेरो आफ्नै भोगाइसँगै सिद्धान्तले जन्माएको सामान्य बुझाइ । मैले मजदुर आन्दोलनलाई सिद्धान्तकै रूपमा बुझेको थिइनँ ।’
फोर्ट हायरमा कानुनको पढाइ टुङ्ग्याएपश्चात क्रिस हानीले स्काफर एण्ड स्काफर (Schaeffer and Schaeffer) मा कानुनी अभ्यास थाले । पातलो कार्पेट बिछ्याइएका अँध्यारा काठे कोठाहरू र खात पारिएका छालाको जिल्दा राखिएका बाक्ला–बाक्ला पुस्तकहरूबीच उनले आफ्नो दिक्षा प्रयोग गर्दै गए । तर, त्यतिमा हानीले चित्त बुझाउन सकेनन् । २१ वर्षको उमेरमा सन् १९६२ मा उनी आफ्ना पितासँग बस्न केपटाउन हिंडे । त्यहाँ उनका बुबा निर्माण मजदुर थिए । उनका बुबा गिल्बर्ट स्थानीय लाङ्गाका बासिन्दाहरूको सङ्गठनका निर्वाचित अध्यक्ष थिए । उनको सक्रियता स्थानीय प्रशासनलाई मन परेको थिएन । त्यसकारण गिल्बर्ट र उनका साथीहरू प्रशासनबाट सताइन्थे ।
Leave a Reply