भर्खरै :

आठौँ खेलकूद ः हक्कीमा आर्मी र गण्डकी बराबरीमा

–काशीराम शर्मा बाँके, २७ चैत (रासस) ः आठौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा बुधबारदेखि हक्की प्रतियोगिता शुरु भएको छ । नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलोे खेल बराबरीमा टुङ्गिएको छ । शुरुआतदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दबाबमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि १÷१ अङ्क बाँडिएको छ । आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु)ले जानकारी दिनुभयो । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । यस्तै आजै भएको दोस्रो खेलमा प्रदेश नं ३ का विरुद्ध प्रदेश नं २ ले पाँच गोल गरेको छ । खेल अवधिभर प्रदेश नं ३ लाई दबाबमा राखेको प्रदेश नं २ का खेलाडी मनोज शाहले २४औँ मिनेटमा पहिलो गोल गरे । खेलको ३८औँ मिनेटमा प्रदेश नं २ का गोविन्द अधिकारीले दोस्रो गोल गरे । खेलको ५२औँ र ५४औँ मिनेटमा प्रदेश नं २ का क्याप्टेन हरविन्द्र सिंहले दुई गोल गरे । आक्रामकरुपमा मैदानमा उत्रिएको प्रदेश नं २ का खेलाडीले बललाई आफ्नो कोर्टतर्फ आउन दिएनन् । निरन्तर दबाबमा राख्दै प्रदेश नं २ का खेलाडी गोविन्द अधिकारीले ५६औँ मिनेटमा अर्को गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए । प्रतियोगितामा प्रदेश नं २ ले ६ पेनाल्टी कर्नर पाउँदा प्रदेशले नं ३ ले एउटा मात्र पेनाल्टी कर्नर पायो । भोलिको पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने मुख्य प्रशिक्षक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख ३ गतेदेखि सेमिफाइनलका खेल हुनेछन् भने वैशाख ४ गते फाइनल खेल हुनेछ ।
भिआइपी प्यारापिट निर्माण अन्तिम चरणमा
नेपालगञ्ज रङ्गशालामा निर्माण भइरहेको भिआइपी प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उद्घाटन मिति नजिकिँदै गर्दा भिआइपी प्याराफिट निर्माणको काम जसरी पनि सक्नैपर्ने आयोजकलाई दबाब छ । वैशाख ५ गते उद्घाटन हुने प्रतियोगितामा उद्घाटनका लागि आउने अति विशिष्ट, विशिष्ट पाहुनाका लागि भिआइपी प्यारापिटको निर्माण कार्य सक्ने गरी काम भइरहेको प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो । अध्यक्ष वलीले भन्नुभयो, “८० प्रतिशत काम सकिसकेको छ, तीन÷चार दिनभित्र बाँकी काम सकिन्छ । भिआइपी प्यारापिटसँगै रङ्गशाला व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । उद्घाटनअघि नै रङ्गशालाका सबै काम पूरा हुन्छन्”, अध्यक्ष वलीका अनुसार बर्मुडा दुबोसहित तयार पारिएको रङ्गशालाको मैदानमा लगाइएको बरमुडा दुबो पनि हुर्किसकेको छ भने फुटबल खेलका लागि मैदानमा सम्याउने काम पनि सकिएको छ । रङ्गशालाभित्र निर्माण भइरहेका अन्य भौतिक पूर्वाधारका सबै काम पनि अन्तिम चरणमा पुगेका छन् । यस्तै रङ्गशाला हाताभित्र ठूलो आकारको पौडी पोखरी निर्माणको काम पनि तीव्ररुपमा भइरहेको छ । कूल १६४ फिट लम्बाइ, ८२ फिट चौडाइ र १२ फिट गहिराइ भएको पोखरीको निर्माण हुन लागेको हो । व्यावसायिकरुपमा पनि सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको पौडी पोखरीमै प्रतियोगिता सञ्चालन गर्ने गरी काम भइरहेको अध्यक्ष वलीले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “रङ्गशालाभित्र हरियाली बनाउन विभिन्न स्थानमा रुख, बिरुवा रोप्ने काम भइसकेको छ । रङ्गशालाभित्र र बाहिर सरसफाइको काम पनि भइरहेको छ ।” वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *