भर्खरै :

प्रदर्शनीमा ३२५ कलाकृति

काठमाडौँ, ३० चैत (रासस)ः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गर्न लागेको नवौँ राष्ट्रिय कला प्रदर्शनीमा देशभरका २७७ कलाकारका ३२५ कलाकृति सङ्कलन भएको छ । आगामी वैशाख २ देखि १७ गतेसम्म जारी रहने सो प्रदर्शनीमा देशभरका कलाकारले सिर्जना गरेका आधुनिक तथा परम्परागत चित्रकला, आधुनिक तथा परम्परागत मूर्तिकला, लोककला, हस्तकला र अन्य सिर्जनात्मक कला सङ्कलन गरिएका हुन् । प्रदर्शनीका लागि सहभागी गराइएका कलाकृति दुई वर्षभित्र रचना गरेको र राष्ट्रियस्तरको प्रदर्शनीमा भने समावेश भएका छैनन् । प्रदर्शनीलाई सम्पन्न गर्न ६७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रदर्शनीमा सहभागी हुने कलाकारले यही चैत १५ गतेभित्र प्रतिष्ठानमा आफ्ना सिर्जना पठाइसक्नुपर्ने व्यवस्था गरिएको थियो । प्रतिष्ठानका कुलपति केके कर्माचार्य तथा वरिष्ठ कलाकार शङ्करनाथ रिमाल, शशिविक्रम शाह, उत्तम नेपाली, शङ्करराजसिंह सुवाललगायत ३० जनाको कलाकृति सङ्कलन गरिएको छ । ती कृति प्रतिस्पर्धामा समावेश छैनन् । प्रत्येक विधामा एक जनालाई रु ६० हजार राष्ट्रिय ललितकला पुरस्कार तथा दुई जनालाई रु २५ हजारको विशेष पुरस्कारको व्यवस्था गरिएको प्राज्ञ सुष्मा राजभण्डारीले जानकारी दिनुभयो । प्रत्येक प्रदेशबाट एक÷एक जनालाई रु २५ हजारको प्रदेश विशेष पुरस्कार प्रदान गरिनेछ । साथै रु २५ हजारको ललितकला लेखन पुरस्कार र सोही राशिको ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *