भर्खरै :

के सांसदहरू अर्काे चुनावको तयारी गर्दै छन् ?

– एक जिम्मेवार नागरिक
केही दिनदेखिका दैनिक वा अन्य समाचार माध्यमहरूका अनुसार सांसदहरूले आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रहरूमा एक–एक लाख वा ग्यास सिलिन्डर, घर–घरमा कर्कतपाताको छाना, ग्यास चुल्हो र अन्य सामान वितरण गर्दैछन् ।
प्रश्न उठ्दै छ – के ती सांसदहरूले विकास निर्माणको सांसद कोष खर्च गर्दैछन् ? सत्य त्यही हो भने सांसद कोष त्यसरी खर्च गर्न ऐन–नियमले मिल्दैन । यसको अर्थ हो – चाँडै उपनिर्वाचन घोषणा हुँदैछ र घोषणा हुनुभन्दा पहिले नै ‘पैसा बाँडौँ र मत किनौँ’ भन्ने हो । फेरि पनि यो प्रजातन्त्रविरोधी गतिविधि हो, त्यस्ता कुकृत्य रोक्नैपर्छ ।
काठमाडौँ उपत्यकाका केही नेवारहरू जाँड र रक्सी खाइरहेको बेला एक–दुई लाख रूपैयाँ बाँडेर जिल्लाको उपनिर्वाचन जित्ने दाउमा रहेको बताउँछन् । यदि बाँडिएका यस्ता रकम संसदीय कोषको विकास–निर्माणको होइन वा भूकम्पको बेला विदेशले दिएको रकम, जस्तापाता, दाल–भात पनि होइन भने त्यो रकम कहाँबाट आयो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । मानौँ ग्यास सिलिण्डर र ग्यास चुल्हो कुनै भारतीय कम्पनीले दान दियो होला, आफ्नो कम्पनीको प्रचारको निम्ति एक प्रकारले हाम्रा नेपाली सांसद माध्यम भएर । (जस्तालाई अर्कै शब्द उपयुक्त होला) हुनसक्छ, नेपाली जनतालाई भूकम्पमा जस्तै हावा–हुरी, बाढी र जात्राको वातावरणको बेला विदेशीले वा भारतीय शिव सेना (भाजपाको कुनै सङ्गठन) ले दिएको भए यस्तो राहत वितरण र उद्देश्य देश र जनताविरोधी सावित हुनेछ ।
यसकारण सरकारले यस्ता कानुनविरोधी गतिविधि तत्काल रोक्नु आवश्यक छ । यदि कसैले मेरै पैसा हो भनी आफ्नो पैसा बाँडेमा त्यसको स्रोत खोज्नुपर्छ । नत्र त्यो कालो धन वा घूस र लुटपाटको रकम पनि हुनसक्ने हुँदा सरकारले त्यसको छानबिन गर्नु आवश्यक छ, कर छल्न पनि नाफाखोरहरूले ‘दानपुण्य’ गरेको हुनसक्ने सम्भावना छ ।
उपत्यकामा चोरी, पकेटमार र अन्य अपराधको सङ्ख्या पहिलेभन्दा बढी हुँदै गएको कारण नक्कली दानी व्यक्तिहरू सतहमा आएको हो कि भनी सरकारले नै छानबिन गर्नु उपयुक्त हुने कुरो जनता र सरकारको ध्यान आकर्षित गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *