भर्खरै :

शासकको अकर्मण्यताले सीमा मिच्दै भारत

भक्तपुर, १४ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद सुवालले चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बनमाला टोलका जनतासँग शनिबार भेटघाट गर्नुभयो ।
भेटको क्रममा उहाँले बेलुका सुत्दा नेपाली, बिहान उठ्दा भारतीय हुनुपर्ने पीडा सीमा क्षेत्रका नेपाली जनताको रहेको चर्चा गर्नुभयो ।
“शासक दलहरूको अकर्मण्यताको कारण भारतले दिनदिनै नेपाली भूमि मिचेर सीमा क्षेत्रका नेपालीहरूलाई दुःख दिइरहेको छ । खुला सिमानाको कारण लाखौँ भारतीयहरू नेपाल प्रवेश गरी नेपालीलाई नै अल्पतमा पार्ने सम्भावना छ,” उहाँले भन्नुभयो ।
“जन्मको आधारमा नेपाली नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता दिए देशको सार्वभौमिकता सड्ढटमा पर्ने भएकोले त्यसको विरोध गर्नुपर्छ”, सांसद सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “चुनावताका नेकपाले एनसेलका पदाधिकारीसँग रू. १० अर्ब घुस लिएकोले एनसेलसँग रू. ७३ अर्ब उठाउन बाँकी भए पनि उठाउन पहल नगर्नुको कारण रहेको जनतामाझ चर्चा छ ।”
“२०५१ सालको सम्पत्ति विवरणमा केपी ओलीको भक्तपुर बालकोटमा ४ आना जग्गामात्र उल्लेख भएको र हाल प्रम ओलीको नाममा १.५ रोपनी जग्गा र दुई वटा घर कहाँबाट आयो जनताले प्रश्न गर्नु जरूरी छ ।” सांसद सुवालले भन्नुभयो ।
भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने भनेर ठगहरूले जग्गा सिफारिसको लागि छुट्याइएको रू. ५० लाख झ्वाम पार्ने नियत राखेको र भक्तपुरका किसानहरूलाई उठीबास गर्ने षड्यन्त्र रहेको हुँदा जनतालाई सचेत हुन उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले पनि बोल्नुभएको थियो ।
त्यसैगरी सांसद प्रेम सुवालले चाँगुनारायण नपा वडा नं. ५ छालिङ कालिटारका जनतासँग शुक्रबार भेटघाट गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले सरकारमा जानेहरूले सुनियोजित ढङ्गले उपत्यकाका किसानहरूलाई उठिबास लगाउने काम गरिरहेको हुँदा किसानहरू सचेत हुनु जरूरी रहेको बताउनुभयो ।
भूमाफियाहरूले सरकारकै मिलेमतोमा पर्ति जग्गा कब्जा गरिरहेको चर्चा गर्दै उहाँले आफ्नो जग्गा नबेच्न किसानहरूलाई अनुरोध गर्नुभयो ।
नेमकिपाले बाली काट्ने र भर्पाइ आन्दोलनजस्ता गतिविधि गरेर किसानहरूको हक–अधिकारको लागि काम गर्दै आएको बताउँदै सांसद सुवालले भन्नुभयो, “भक्तपुरका अधिकांश किसानहरू नेमकिपाको पक्षमा छन् । किसानहरूको एकतालाई फुटाई फाइदा उठाउने षड्यन्त्र शासक दलहरूले रचिरहेको हुँदा कामदार जनता सजग हुनु आवश्यक छ ।”
तत्कालीन एमाले–माओवादीलाई आफ्नो स्वार्थअनुकूल भारतले नै मिलाइदिएको हुनाले ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारले भारतीय विस्तारवादको आदेशअनुसार नागरिकता वितरण गरेर देशघात गरेको सांसद सुवालले स्पष्ट पार्नुभयो ।
अक्टोबर क्रान्तिअघि रूसमा लेनिन नेतृत्वको बोल्सेविक पार्टी पुँजीवादी सरकारमा नगएको चर्चा गर्दै उहाँले पुँजीवादी सरकारमा गएर भाग खानेहरू कम्युनिस्ट हुनै नसक्ने र नेकपा भ्रष्ट तथा ठगहरूको पार्टी रहेको स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “बालुवाटार, शीतल निवास, सिंहदरबार ठगहरूको घेरामा छ । ओली सरकारले कामदार जनताको काम गर्नेछैन । कामदार जनता यस्तो जनतामारा सरकारको विरूद्धमा एकजुट भई सङ्घर्षरत हुनु आवश्यक छ ।”
नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपाका सांसदहरूले सांसद विकास कोषको रकम भक्तपुर नगरपालिकाभित्र खर्च नगरी अन्य नगरपालिकाहरूमा खर्च गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *