भर्खरै :

जनता सचेत बने राजनीतिमा गुण्डा र अपराधी नपस्ने

भक्तपुर, १४ वैशाख । भक्तपुर नगरपालिका वडा नं. ७ वडा कार्यालयको गतिविधि तथा आगामी योजनाबारेमा जानकारी एवम् सुझाव सङ्कलन गर्ने उद्देश्यले स्थानीयहरूको भेला शनिबार सम्पन्न भयो ।
भेलामा भनपाका प्रमुख सुनिल प्रजापतिले जनता राजनीतिकरूपमा सचेत नभए राजनीति गुण्डा, चोर डाकालगायत अनैतिक र अपराधीहरूको नियन्त्रणमा जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति र घटनाक्रमहरूबारे हामी जानकार हुनुपर्छ । इमानदार जनता जागरूक नभएमा अराजक व्यक्तिहरूले समाजलाई हानी गरी व्यक्तिगतरूपमा फाइदा लिन्छन् ।”
भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाबारे जनकारी दिँदै उहाँले भनपा वडा नं.१ स्थित रानीपोखरी तथा सिद्धिपोखरी उत्तरपट्टिको जग्गा संरक्षण तथा सरसफाइ गर्दै आएको बताउनुभयो ।
निर्वाचन घोषणापत्रअनुसार भनपाका जनप्रतिनिधिहरूले सम्पदा संरक्षण, उपचार पोखरी पुनः सञ्चालन, केवल लाइन तथा विद्युतीय तारको व्यवस्थापनमा प्राथमिकता दिदै कार्य अगाडि बढाइरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
उहाँले सूर्यमढीदेखि भार्वाचोसम्म ढुङ्गा छपाइ गर्ने काम सुरू गर्न लागेको उल्लेख गर्नुभयो ।
भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले वडामा ६० वटा योजना सम्पन्न भएको र घोषणापत्रअनुसार शिक्षा–स्वास्थ्यसम्बन्धी कामलाई प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभयो ।
उहाँले स्थानीयरूपमा उपभोक्ता पसलहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले राजनैतिक कार्यकर्ताले व्यक्तिगतभन्दा सामाजिक हितमा ध्यान दिनुपर्ने बताउनुभयो । ।
पूर्व वडा अध्यक्ष कृष्णगोविन्द खाइजुले उपभोक्ता समितिमार्फत विकास निर्माणको कामले गुणस्तर कायम भएको तर प्रशासनिक भन्झटले गर्दा निर्माण कार्यमा समस्या भइरहेको बताउनुभयो ।
नेमकिपा भनपा ७ इनाचो एकाइ समतिका अध्यक्ष कृष्णगोविन्द लाखाजुको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य हरिरत्न गोर्खालीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नारायणमान बनमाला, कृष्णकुमार दुमरू, कृष्ण दुमरू, कृष्णनारायण दुमरू, विष्णुराम दुमरू, विष्णुप्रसाद दुमरू र रामचन्द्र दुमरूले योजनासम्बन्धी सुझाव दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *