भर्खरै :

गाँस, वास जोगाउन नउठी सुखै छैन

–अञ्जन श्रेष्ठ, खोकना
नेपाल सरकारले विकासको नाममा फास्टट्राक, बाहिरी चक्रपथ, १३२ केभिको विद्युत् प्रसारण लाइन, बागमती करिडोर र बाँकी रहेको जग्गामा नयाँ बस्ती (स्मार्टसिटी) बनाउन पुरातात्विक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वको खोकना र बुङ्गमतीको बस्ती उठिवास गर्ने खालको योजना ल्याएकोमा स्थानीय जनताको आन्दोलन र विरोध चर्कंदै गएको छ । नेपालको कानुन र संविधानले सुनिश्चित गरेको व्यक्तिगत सम्पति सुरक्षा गर्ने अधिकार मिचेर न्यूनत्तम मुआब्जा तोकी जनताको जग्गा र बस्ती उठिवास गर्ने कार्यको विरोधमा शुक्रबार बुङ्गमतीदेखि मङ्गलबजारसम्म आयोजित जुलुसले स्थानीय जनतामा ऊर्जा थपेको छ, आफ्नो जग्गा र घरबार सुरक्षित गर्न आफै आन्दोलित हुुनुपर्ने सन्देश छरेको छ । गैरकानुनी ढङ्गले गरिरहेको जग्गा अधिग्रहण तथा मुआब्जा वितरण कार्यक्रम सरकारले तुरुन्तै रोक्नुपर्ने मागको स्वर पीडित बस्तीको घरआँगनमा पुगेको छ ।
खोकना र बुङ्गमतीका बासिन्दाहरू सरकारले जबरजस्ती लादेको सो योजनाको विरोधमा आन्दोलित हुनुपर्छ । प्रत्येक घर–घरका युवा युवतीमात्र होइन वृद्ध र वृद्धाहरू पनि आफ्नो गाँस, वास जोगाउन अब नउठी सुखै छैन । शुक्रबारको जुलुस प्रदर्शन र जनसभाले दिएको सन्देश पनि आफ्नो माग पूरा नभएसम्म आन्दोलित हुनुपर्छ भन्ने हो । प्रत्येक दिनझैँ खोकना र बुङ्गमतीको भेग भेगको घर आँगन या चोक–चोकमा सचेत पार्ने कार्यक्रम आवश्यक देखिन्छ । खोकना र बुङ्गमतीका बुद्धिजीवी, समाजसेवी र सामाजिक अभियन्ताहरूको जिम्मेवारी स्थानीय जनतालाई सुसूचित पार्नु हो । स्थानीय जनता सचेत र सङ्गठित भएमा या सबै जनताको साथ र सहमतिविना सरकारले आफ्नो योजना अघि बढाउँदैन । प्रम ओली साँच्चै शासक होइन सेवक भए उनले ओलीले जबरजस्ती काम अघि बढाउने छैनन् ।
उठिवास हुने कुनै पनि योजना जनताको पक्षमा हुनेछैन । तर, सरकारले जनताको उठिवास मात्र गर्न खोजेको छैन, प्राचीन सभ्यता, संस्कृति नै म्हास्ने प्रयास गरेको छ । सरकारले जानी या नजानी पुरातात्विक सम्पदा म्हास्नु हुँदैन, म्हास्न पाइँदैन । कला र संस्कृतिप्रति संस्कृतिमन्त्री मात्र होइन प्रधानमन्त्री पनि समर्पित देखिंदैन । प्राचीन शैलीमै रानीपोखरी निर्माण गर्नुपर्ने कुरो उठ्दा प्रमले पनि असहमति जनाएका थिए । मौलिक शैलीको सम्पदा बलियो नहुने भनी आधुनिक शैलीमा निर्माण गर्नुपर्ने विचार प्रमले पटक–पटक व्यक्त गरेका थिए । कला र संस्कृतिको महत्व नबुझेका संस्कृतिमन्त्री र प्रमले कला संस्कृति म्हासेर मानव बस्ती नै उठिवास गर्न अघि सरेकोमा के आश्चर्य !

Leave a Reply

Your email address will not be published. Required fields are marked *