भर्खरै :

आफ्नै सन्तानले वृद्धाश्रममा छोडेपछि …

पथरी (मोरङ), १४ वैशाख । आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ! आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, तैपनि उहाँहरू आश्रममा बस्न बाध्य हुनुहुन्छ ।
विराटनगर–१३ स्थित विराटेश्वर वृद्धाश्रममा रहेकी त्रिहत्तर वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्लाको साबिक सिक्तेल–५ हो । उहाँका पाँच छोरा र एक छोरी छन्, तर भएर पनि नभए जत्तिकै छ । उहाँ भन्नुहुन्छ, “श्रीमान्को मृत्यु भएको दश वर्ष भयो । सबै छोराछोरी विवाहपछि आ–आफ्नै दुनो सोझ्याउनतिर लागेपछि म यहाँ आइपुगेँ, आफन्तले वास्ता नगरे पनि दुःखीका लागि भगवान हुँदारहेछन् ।”
उनान्सत्तरी वर्षीया सिङ्घामाया तामाङ पाठेघरको शल्यक्रियापछि विभिन्न समस्यामा हुनुहुन्छ । आमा बन्न नसक्ने भएका कारण धेरै पीडित हुनुभयो । श्रीमान्को मृत्युपछि आफन्तले दुःख दिन थाले । आफनो घर ठेगाना बताउन नचाहने उहाँ कतै केही नलागेपछि विराटनगरको विराटेश्वर वृद्धाश्रमको सहारा लिन पुगेको उहाँ बताउनुहुन्छ ।
श्रीमान् ३५ वर्षको उमेरमा लागुपदार्थ सेवनको कारण बित्नुभयो । श्रीमान् बितेपछि उहाँ बेसहारा हुनुभयो । उहाँले आफन्तलाई सहयोग पनि गर्नुभयो । तर आफूलाई पर्दा साथ दिने कोही नभएकामा उहाँ साह्रै दुःखी हुनुहन्छ ।
सुनसरी छिटाहा गाविसकी भकुमारी थापामगर शारीरिकरुपमा अशक्त देखिनुहुन्छ । उहाँ जन्मँदै यस्तै हुनुहुन्थ्यो । भकुमारी कान सुन्नुहुन्छ्, बोल्न भने सक्नुहुन्न । तीन वर्षअघि विराटेश्वर वृद्धाश्रम आइपुग्दा यस्तै हुनुहुन्थ्यो । अहिले पनि उहाँको स्वरुप बदलिएको छैन । बिहे भएको छैन । उमेर त्यस्तै ५०÷५५ जतिको हो ।
उहाँका दाजुभाइ कहिलेकाहीँ आउँछन्, जान्छन् । केही खानेकुरा छोडिदिन्छन्, फर्किन्छन् । भकुमारीलाई यतिमै पनि सन्तुष्ट मान्नुपर्ने बाध्यता छ । शारीरिक अवस्था यस्तो भए पनि उहाँजति जाँगरिली यो आश्रममा कोही छैनन् । राति ३ बजे उठेर नुहाउनुहुन्छ । आश्रमवरपर सफासुग्घर गर्नुहुन्छ ।
“उहाँलाई यस्तो अवस्थामा उहाँकै आफन्तले ल्याइदिए,” आश्रमका अध्यक्ष जगत अज्र्याल भन्नुहुन्छ, “काम लाग्न छोडेपछि वृद्धवृद्धालाई आश्रमतिर ल्याउँछन्, आफन्त भन्ने त कामलाग्दा मात्र हुँदोरहेछ ।”
वृद्धाश्रममा बस्दैमा कोही गरिब र कोही दुःखी हँुदैन भन्ने उदाहरण बनेका छन्, विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका वृद्धवृद्धा । यी वृद्धवृद्धा कोही आफन्तले स्याहारसुसार नगरेपछि आफैँ आइपुगे, कतिपयलाई आफ्नै छोराबुहारीले बूढेसकाल लागेपछि यहाँ ल्याएर छाडिदिए ।
यहाँ आश्रय लिएपछि उनीहरूले आफन्त बिर्सिएका छन्, अतीत भुलेर नयाँ जिन्दगी सुरु गरेका छन् । विराटनगर–१३ मलायारोडस्थित विराटेश्वर वृद्धाश्रममा करिब ३० वृद्ववृद्धा बस्दै आएका छन् । उहाँहरूका पनि आ–आफ्नै कथाव्यथा छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *