जुम्लामा चिटको जात्रा
- चैत्र ९, २०८१
भक्तपुर, ८ वैशाख । सम्माननीय प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भक्तपुर जिल्ला अदालतको नवनिर्मित भवन शनिबार एक कार्यक्रमबिच समुद्घाटन गर्नुभएको छ । अदालत परिसर तुमचो दुगुरे भक्तपुरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि प्रधानन्यायाधीश श्रेष्ठले ताम्रपत्र अनावरणसँगै रिबन काटेर भक्तपुर जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
पानसमा दीप प्रज्ज्वलनका साथ कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि श्रेष्ठले जिल्ला अदालत भक्तपुरको साविकको भवन धेरै पुरानो र अदालतको आवश्यकताको दृष्टिकोणबाट अपर्याप्त रहेको कुरालाई ध्यानमा राखी सर्वोच्च अदालतले भक्तपुरको जिल्ला अदालतको नयाँ भवनको निर्माण कार्य अगाडि बढाएको स्मरण गर्नुभयो ।
उहाँले भवन निर्माणमा योगदान र भूमिका खेल्ने सम्पूर्णमा धन्यवादज्ञापन गर्दै आधुनिक र सुविधासम्पन्न भवनबाट प्रवाह हुने सेवाबाट सेवाग्राहीहरूको सन्तुष्टिको स्तरमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ भवनबाट हुने न्याय सम्पादनले न्याय, सुशासन र जनआस्था वृद्धिमा थप उचाइ प्राप्त गर्नेमा सकारात्मक रहेको उहाँले बताउनुभयो ।
नेपालको संविधानले कल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यतामा अक्षुण्ण राख्दै संविधानले प्रदान गरेको भूमिका र जिम्मेवारी पूरा गर्नेतर्फबाट सबैको ध्यान जान जरूरी रहेको उल्लेख गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकालाई न्यायको धरोहर र नागरिकहरूको भरोसाको केन्द्रको रूपमा स्थापित गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो ।
न्याय सम्पादनको कार्यलाई छिटो छरिटो, गुणस्तरीय, प्रभावकारी बनाउन न्यायपालिकाले मुद्दा व्यवस्थापनलगायत विभिन्न पद्धतिगत सुधारहरूलाई आत्मसात गर्दै आएको उहाँले बताउनुभयो ।
न्यायिक सुधारका पक्षमा पछिल्लो समयमा भएका प्रयास र उपलब्धिहरूबारे जानकारी गराउँदै प्रधानन्यायाधीश श्रेष्ठले अदालतलाई प्रविधिमैत्री बनाइ सेवाग्राहीको कामलाई सहज बनाउने काममा जोड दिइरहेको बताउनुभयो ।
सबै उच्च अदालतमा भिडियो कन्फरेन्समार्फत बहस गर्न मिल्ने बनाउन आवश्यक तयारी भइरहेको बताउँदै उहाँले सूचना प्रविधिको उच्चत्तम प्रयोगमार्फत अदालतको आधुनिकीकरणका लागि अबको प्राथमिकता सूचना प्रविधिको बहुआयामिक विकास र दिगो उपयोगमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
सर्वोच्च अदालतका वरिष्ठत्तम न्यायाधीश डा. आनन्दमोहन भट्टराईले दरबार क्षेत्रस्थित जिल्ला अदालतको भवन साँघुरो हुँदा सेवा प्रवाहमा कठिनाइ महसुस भएसँगै नयाँ भवन निर्माणको आवश्यकताबोध भएको बताउँदै उहाँले नवनिर्मित आधुनिक र सुविधासम्पन्न भवनबाट गुणस्तरीय र उच्चस्तरको सेवा प्रवाह विश्वस्त हुन सकिने धारणा राख्नुभयो ।
सर्वोच्च अदालतले निकै मेहेनतका साथ पुराना मुद्दाहरूको चाप घटाउँदै पारदर्शी ढङ्गले काम गर्दै आइरहेको बताउँदै डा. भट्टराईले सर्वोच्च अदालतले सार्वजनिक सरोकारका विषयहरूलाई प्राथमिकतामा राखी जिम्मेवारीपूर्वक काम गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले संविधानको अभिभावकको भूमिका खेलिरहेको छ । भक्तपुर नपाले जस्तै अन्य स्थानीय तहले पनि काम गर्न जरूरी छ । सुशासनको क्षेत्रमा भक्तपुर नपा अब्बल रहेको छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबैको संयुक्त प्रयासले जिल्ला अदालतको विशाल र भव्य भवन निर्माण गर्न सम्भव भएको चर्चा गर्दै सेवाग्राहीहरूलाई निष्पक्ष, छिटो छरिटो र सुलभ न्याय दिएर भव्य महलको गरिमा कायम गर्ने जिम्मेवारी अदालतमा कार्यरत न्यायाधीस र कर्मचारीहरूमा आएको बताउनुभयो ।
सरकारी वकिल कार्यालय पनि अदालतसँगै भए सेवाग्राहीहरूलाई सहज हुने धारणा राख्दै उहाँले भक्तपुर नपाले त्यसको लागि पनि पहल गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “न्यायपालिकाले गरेको उत्कृष्ट निर्णयहरूले नै जनताको आस्था, विश्वास र न्यायपालिकाप्रति उच्च सम्मान प्राप्त गर्न सकिन्छ । जनताका हरेक अधिकार रक्षाको निम्ति अदालतले जहिल्यै पहरेदारको भूमिका खेल्नु आवश्यक छ ।”
प्रमुख प्रजापतिले २०७४ सालको संसदीय निर्वाचन अघि प्रतिनिधि सभामा तीन प्रतिशत र प्रदेश सभामा साढे एक प्रतिशत मत सीमा (थे्रस होल्ड) को विरूद्धमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाई दायर मुद्दा अहिलेसम्म फैसला हुन नसकेको बताउँदै उहाँले ढिलो न्याय दिनु पनि न्याय नदिनु सरह हो भन्नुभयो ।
नेपाल बार एसोसिएसन भक्तपुर जिल्ला अदालत बार इकाइ कार्य समितिका अध्यक्ष रवीन्द्र प्रधानले जिल्ला अदालत भक्तपुरको सुविधासम्पन्न नयाँ भवनबाट प्रवाह हुने न्याय सम्पादनबाट जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
उच्च अदालत पाटनका माननीय मुख्य न्यायधीश नृपध्वज निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर जिल्ला अदालतका माननीय न्यायधीश बासुदेव न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले नवनिर्मित जिल्ला अदालत भक्तपुरको प्रतिवेदन वाचन गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि प्रधानन्यायाधीश श्रेष्ठले निर्माण व्यवसायी र भवन निर्माणमा संलग्न प्राविधिकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमपश्चात प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूबाट नवनिर्मित भवनको अवलोकन गर्नुभएको थियो ।
Leave a Reply