भर्खरै :

‘सबै कुरा राजनीतिक हुने गर्दछ’

भारतका विख्यात लेखिका अरुधन्ती रोयको दोस्रो नयाँ उपन्यास ‘द मिनिस्ट्रि अफ अटमस्ट ह्यापिनेस’ प्रकाशनको क्रममा छ । भारतीय संस्थापन र विश्व साम्राज्यवादविरुद्ध लगातार लेख्दै आएकी रोयका वामपन्थी विचारका प्रवक्ता मानिनुहुन्छ । लेखेकै कारण पटक पटक राज्यको कोपभाजन भोगेकी रोयको नयाँ उपन्यासबारे हालै उहाँसँग गरिएको वार्तालापको नेपाली अनुवाद प्रस्तुत छ ः
द गड अफ स्मल थिङ उपन्यास प्रकाशित भएको २० वर्ष भयो । के त्यस्तो कारण हो जसले तपाईलाई आफ्नो दोस्रो उपन्यास प्रकाशित गर्ने यो उपयुक्त समय भएको महसुस गरायो ?
बीस वर्षको अवधि पूर्णतः एउटा संयोग मात्र हो । गएका दस वर्षदेखि म ‘द मिनिस्ट्रि अफ अटमस्ट ह्यापिनेस’ लेख्दै थिएँ । लेखन कार्य सकिएलगत्तै प्रकाशककोमा पठाएँ । मेरोलागि सबैजसो समयको तालमेल निकै आश्चर्यलाग्दो रह्यो । मैले आफूले लेखेको भन्दा केही समय चाँडो वा केही समय ढिलो त्यो उपन्यास लेख्न सक्दिनथें । मलाई कुनै हतार थिएन– लेख्न समय लाग्यो र मैले त्यसलाई ठीक मानेकी छु ।

त्यस्तो मौसम पनि छ यहाँ जब मानिसहरु पढ्दैनन्, तर सत्ताहरुले भने पढेको हुन्छ । यो एकप्रकारको परीक्षणप्रति लक्षित हुने गर्दछ–कसलाई हमला गर्नु पर्दछ, कसको मुखमा ताला लगाउनु पर्दछ, कसलाई प्रतिबन्ध गरिनुपर्दछ र कसको हत्या गरिनुपर्दछ ।

 
तपाईको लागि द मिनिस्ट्रि अफ अटमस्ट ह्यापिनेस लेख्नुको अर्थ के रह्यो ?
मलाई त ५० किलोको भारी बिसाएको जस्तो लाग्यो किनभने गएका दस वर्षसम्म मभित्रै रहेका सबै कुरा आज मेरो अगाडि छन्, मभित्र होइन । तर सँगै भारतमा पुस्तक प्रकाशन गर्नु त्यत्ति ठूलो सुखद् क्षण भने होइन, विशेषतः यस्तो पुस्तकको सन्दर्भमा । त्यसकारण यो पुस्तकलाई दिन खोजिएको तौल समयान्तरमा एक हिसाबको दमनले विस्थापित गरिदिएको हुन्छ । किनभने त्यस्तो मौसम पनि छ यहाँ जब मानिसहरु पढ्दैनन्, तर सत्ताहरुले भने पढेको हुन्छ । यो एकप्रकारको परीक्षणप्रति लक्षित हुने गर्दछ–कसलाई हमला गर्नु पर्दछ, कसको मुखमा ताला लगाउनु पर्दछ, कसलाई प्रतिबन्ध गरिनुपर्दछ र कसको हत्या गरिनुपर्दछ ।
तपाईको लागि यो पुस्तक कुन विषयमा हो ?
उपन्यास कुनै निश्चित विषयमा हुनुपर्दछ वा पर्दैन भन्ने बारे म यकिनका साथ भन्न सक्दिन । मेरो विचारमा कथाले कसरी आफूलाई प्रस्तुत गर्छ भन्ने कुरा सर्वोच्च महत्वको विषय हो । निश्चय नै भाषा जीवन्त हुने गर्दछ– भाषाले आवाज बोकेको हुन्छ अथवा पात्रहरुको आवाज बोकेको हुन्छ । तर कथा बुनेर त्यसलाई खुरुखुरु भन्ने काममा म अक्षम देखिएको छु– मेरो लागि यी दुई काम (कथा बुन्नु र भन्नु) एउटा भवन र सिंगो शहरजत्तिकै भएका छन् । कथालाई तपाई कसरी नाप्नुहुन्छ ? विभिन्न दृष्टिकोणबाट तपाई कथालाई कसरी हेर्नुहुन्छ ? अनि फेरि कसरी एक अर्कोसँग ती कथाहरुलाई जोड्नुहुन्छ ? यो पुस्तक एउटा प्रयोग हो– कसरी एउटा राजनीतिक पृष्ठभूमिसामू आफ्नो जीवन भोगिरहेका पात्रहरु पनि त्यो राजनीतिक पृष्ठभूमि र पात्रहरुबाट अछुटो रहन सक्छ ?
मेरो पहिलो उपन्यास एउटा परिवारको विषयमा थियो । तर अहिलेको उपन्यास प्रष्टतः एउटा परिवारको विषयमा होइन । यदि अघिल्लो उपन्यास टुटेको हृदय भए अहिलेको उपन्यास छिन्नभिन्न मुटु हो ।
पुस्तकमा धेरै थरी आवाजहरु छन् । के तपाई आफू विभिन्न पात्रहको एउटा बृहत् उजागर गर्दैछु भन्ने कुराको सधैं हेक्का हुन्थ्यो ?
म त्यस्तो पुस्तक लेख्न चाहन्थें जसको कथा एउटा विशाल शहरको सडक जस्ता हुन् । म हिंड्दै गर्दा मैले कसैलाई पनि नउछिन्ने प्रयास गरें । म एक ठाउँमा बसेर चुरोट सल्काउँदै समय कति भयो भनी सोध्ने प्रयास गरें । म चहान्छु– सानोभन्दा सानो पात्रको पनि केही न केही कथा होस् । म कुनै समयको पृष्ठभूमि अग्रभूमि बनोस् अनि शहर एउटा व्यक्ति बनोस् । हो त्यस कारण मलाई थाहा थियो, उपन्यासमा भीडभाड हुनेछ । म त्यही चाहन्थें ।
आवाजहरु निकै फरक फरक छन् । पुस्तकको शुरुमै अन्जुम भेट्नुहुन्छ । ऊ हिजडा हो । ऊ अरु हिजडाहरुसँगै बस्छ । यदि तपाई उनीहरुसँग अभ्यस्त हुनुहुन्न भने के उनीहरुको अनुभव लेख्न तपाईको लागि गाह«ो काम हो कि होइन ?
म लिङ्गलाई विविध तरङ्गको रुपमा हेर्ने गरेको छु । तपाई यो तरङ्गको कहीं हुनुहुन्छ र म कहीं छु । सबै जना यही तरङ्गको कहीं न कहीं छौं ।
तपाईले सबैको मानवता र मानवीयतामाथि कहिल्यै पनि सन्देह गर्न पाउनुहुन्न ।
त्यसको अर्थ के यो पुस्तक एक प्रकारले तपाईलाई एउटा बाकसमा भित्र थुन्न खोजेको संसारमा आफूलाई खोजी पत्ता लगाउने प्रयत्न हो ?
मलाई त्यो कुनै एउटा कुरा हो जस्तो लाग्दैन । त्यो एउटा कथा हो ।
कहिलेकाहीं मलाई आफू त्यस्तो आईमाई भएको महसुुस गर्छु जो आफ्ना बगली र दराजमूनि पैसा लुकाउने गर्छे । म स्वंयले पुस्तक पढें र भने,‘ओहो मैले त त्यो (लुकाएको पैसा) त बिर्सें ।’
कसैले उपन्यास लेख्दा होस् वा २० वर्षको कुनै राजनीतिक लेख नै किन नहोस्, जो कोहीले समयान्तरमा लेख्ने सबै कुरा संसारलाई अर्थपूर्ण बनाउने प्रयास न हो । कुनै पनि कुरालाई तपाई किन कोणबाट हेर्नुहुन्छ भन्ने कुरा न हो लेखन भनेको ।
मानिसहरुलाई पहिचान चुन्न बाध्य बनाइएको देख्दा मलाई एकप्रकारको आतंक महसुस हुन्छ । तपाईले भारतमा हेर्नुभयो भने हामीले प्रजातन्त्र र चुनाव भन्ने गरेको सबै प्रक्रिया पनि ‘यो यो जात हो, त्यो जात हो, हामी त्यो जातको लागि काम गर्छौं’…आदिमा केन्द्रित छ । त्यसले मानिसहरुलाई एक प्रकारको त्यस्तो ठाउँमा पु¥याएको छ जो वास्तवमा उनीहरुको होइन । यो ज्यादै त्रासदीपूर्ण प्रक्रिया हो ।

पुस्तकमा प्रयुक्त भाषामा पनि ठूलो विविधता छ । पात्रहरु एउटा भाषाबाट अर्को भाषामा हामफाल्छन् । तपाईले काश्मिरी अंगे्रजी वर्ण(alphabet) समेत निर्माण गर्नुभएको छ ।…
भारतमा भाषा एउटा ठूलो विषय हो । उदाहरणको लागि, भाषा राष्ट्रवाद । हिन्दी भाषालाई राष्ट्र भाषा बनाउने पटक पटकको प्रयासका कारण दक्षिणी प्रान्तहरुमा हिंसात्मक विरोध कार्यक्रमहरु हुने गरेका छन् । विश्वको यो भागमा हामी सयौं भाषा र उपभाषिकामा बाँच्छौं, बोल्छौं, गाउँछौं र प्रार्थना गर्छौं । द मिनिस्ट्रि अफ अटमस्ट ह्यापिनेस यी विविधतामा चुर्लुम्म डुबेको छ ।
म पुस्तकका विचारको व्याख्याको क्रममा ठट्टा गर्ने गर्छुः ‘द मिनिस्ट्रि अफ अटमस्ट ह्यापिनेस, मूलस्रोतबाट अनुवाद गरिएको, अनुवादक अरुन्धती रोय ।’ किनभने यसभित्र कति धेरै भाषाहरु छन् । कति धेरै गीत र कविताका टुक्राटाक्री छन् । काश्मिरी अंग्रेजी वर्ण । जबदेखि काश्मिर जान थालें, मेलै शुरुमा गर्न थालेको काम त्यही थियो । वर्षौ वर्षको युद्धका क्रममा मानिसहरुले बनाएको शब्दहरुमा तपाई खाली ठाउँ देख्न सक्नुहुन्छ । यो अंग्रेजी र काश्मिरी दुवै थियो । तर यो युद्ध, हस्तक्षेप र पीडाको भाषा थियो । तर कहिलेकाहीं त्यसको प्रयोग मसानघाटको मज्जाकसँगै विरोधाभाषपूर्ण तरिकाले प्रयोग गरिएको छ ।
जीवन र मृत्यु पनि ठूलो मात्रामा बुन्निएको छ, अनि तिनको बीचको सीमाना निकै धमिलो बनेको छ । …
मेरो विचारमा पश्चिमा संसारमा मृत्यु थप हावी छ । काश्मिर जस्तो स्थानमा बाँच्नु भनेको मुसा(उपन्यासको पात्र)ले भने जस्तै मरेको मानिसको अभिनय गर्नु हो र मरेका मानिसहरु साँचो अर्थमा बाँचेका छन्, मानिसहरुको बीचमा उनीहरु बाँचेका छन् । आफ्नो स्वाभिमानको लागि लड्न उनीहरुले आक्रोश र शक्ति दिने गरेका छन् । त्यसैले पनि अन्जुम बस्ने गरेको मसानघाटमा धेरै कुराबीच धमिलो सीमानाको भाव छ र मानिसहरु त्यहाँ आउँछन् र जान्छन् ।

पात्रले प्रष्टतः लेखकले बोकेका वैचारिक आधारहरुलाई थोपरिएका मुखुण्डो लगाइएका घोषणापत्र जस्ता उपन्यासहरुप्रति मेरो थोरै मात्र धैर्यता छ ।

उपन्यासमा पनि प्रेम एउटा बलियो विषय बन्नु पर्छ भन्ने कुरा उपेक्षा गर्नै नसकिने जस्तो देखिन्छ । जस्तै उपन्यासमा मुसा र नागा अनि गार्सन होबार्ट र तिलो । उनीहरुबीच त्यस्तो ज्यादै जटिल सम्बन्ध छ । यो किन हो ?
यो पुस्तकमा पुरुष र महिलाबीच मात्र होइन बरु धेरै प्रकारका अनपेक्षित प्रेमका कुरा छन् । मातृत्व समेत अस्वाभाविक छ । साद्दाम हुस्सेन र अन्जुमबीच सुन्दर प्रेम छ । सबै किसिमका असामान्य मित्रता छ । मुसा, तिलो, नागा र गार्सन होबार्टबीच त्यस्तो सम्बन्ध छ जस्तो मलाई लाग्छ । तिलोले महिलाबाट जस्तो व्यवहारको अपेक्षित हुने गर्दछ, त्यस्तो हुने गर्दैन । त्यसले सबै कुरालाई सामान्य सोचभन्दा बाहिर पु¥याउँछ । सबैले प्रेमबारे पुनः सोच्नुपर्ने हुन्छ । अनि त्यही कारण कुनै पनि कुरामा ढुक्क हुने अवस्था रहँदैन ।
धेरै कोणबाट यो उपन्यास तपाईले राजनीतिबारे लेख्नुभएका धेरै लेखहरु जस्तै राजनीतिक उपन्यास हो ? के आख्यानले भिन्न तरिकाबाट राजनीतिक विचार उधिन्न सक्छ ?
मेरो लागि त्यसो भन्नु सही नहोला । तर कहिल्यै कुनै कुरा शुद्ध हुने गर्दैन । सबै कुरा राजनीतिक हुने गर्दछ । सुनौलो रङ्गको माछाको यौनजीवनसँग जोडिएको तथ्य पनि राजनीतिक हुने गर्दछ । सबै थोक । तर हो, आख्यान र गैरआख्यानबीच धेरै भिन्नता हुनुपर्दछ र हुनसक्छ । पात्रले प्रष्टतः लेखकले बोकेका वैचारिक आधारहरुलाई थोपरिएका मुखुण्डो लगाइएका घोषणापत्र जस्ता उपन्यासहरुप्रति मेरो थोरै मात्र धैर्यता छ । प्रष्टता त्यस्तो कुरा होइन जो आख्यानबाट प्राप्त हुने गर्दछ । पाठकले मेरो पुस्तक पढेपछि त्यो भेटाएको अवस्था मलाई प्रिय लाग्छ ।
Source://www.penguin.co.uk/articles/in-conversation/interview/2017/may/arundhati-roy/#xlvmJI2BOiwq5WwA.99
                                                                                                                                             अनुः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *