भर्खरै :

अरुन्धतीको दोस्रो उपन्यास पनि बुकर पुरस्कारको लागि छनौट

भारतीय लेखिका अरुन्धती रोयको उपन्यास द मिनिस्ट्रि अफ अटमस्ट ह्यापिनेस यो वर्षको द म्यान बुकर पुरस्कारको लागि छनौटमा परेको छ । सो पुरस्कारको लागि सन् २०१६ को अक्टोबर १ देखि सन् २०१७ को सेप्टेम्बर ३० बीचमा बेलायतमा प्रकाशित भएका जम्मा १३ पुस्तकहरु छनौट सुचीमा परेका छन् ।
जम्मा १४४ वटा दर्ता गरिएका पुस्तकमध्येबाट पाँच सदस्यीय छनौट समितिले पाँच वटा पुस्तक चुनेका हुन् । द गार्जियन पत्रिकाले जनाएअनुसार छनौट समितिका सदस्यहरुले रोयको दोस्रो उपन्यासलाई ‘समृद्ध र महत्वपूर्ण पुस्तक’ भनी प्रतिक्रिया दिएका छन् ।
द मिनिस्ट्रि अफ अट्मस्ट ह्यापिनेस भारतका एक जना हिजडा महिलाको िवषयमा लेखिएको उपन्यास हो । रोयले आफ्नो पहिलो उपन्यास द गड अफ स्मल थिङ प्रकाशित गरेको बीस वर्षपश्चात आफ्नो दोस्रो उपन्यास प्रकाशित गरेकी हुन् । पहिलो उपन्यासको लागि उनले द म्यान बुकर पुरस्कार सन् १९९७ मा जितेकी थिइन् ।
यो पुरस्कारका लागि छनौट भएका पुस्तकहरुमध्ये पाउल अस्टरको ३२१, सेबास्टियन बेरीको देज विथआउट इन्ड र मोहसिन हामिदको एक्जिट वेस्ट, अली स्मिथको अट्टम आदि परेका छन् । छनौट भएका पुस्तकहरुमध्ये तीन वटा उपन्यास परेका छन् ।
१३ मध्येबाट चुनेर ६ पुस्तकको नाम आगामी सेप्टेम्बर १३ मा सार्वजनिक गरिनेछ । ती चुनिएका ५ पुस्तकका लेखकहरुले झण्डै २ हजार ५ सय पाउण्ड पुरस्कार पाउनेछन् । साथै सो पुस्तकको विशेष संस्करण प्रकाशित गरिदिनेछ । आगामी अक्टोबर १७ मा लण्डनको गाइडहलमा आयोजना हुने कार्यक्रमबीच विजेता पुस्तकलाई ५० हजार पाउण्ड बराबरको पुरस्कार प्रदान गरिनेछ ।
सन् २०१६ मा पाउल बिट्टीले आफ्नो व्यङ्ग्यात्मक उपन्यास द सेलवाउटको लागि सो पुरस्कार जितेका थिए । बिट्टी सो पुरस्कार जित्ने प्रथम अमेरिकी हुन् । सन् २०१५ मा जमाइकाका लेखक मार्लोन जेम्सले आफ्नो पुस्तक द ब्रिफ हिस्ट्री अफ सेभेन किलिङ पुस्तकको लागि पाएका थिए ।
पुरस्कारको स्थापना सन् १९६९ मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *