भर्खरै :

खाद्यान्न परनिर्भरताको अर्थराजनीति-टिप्पणी

–कुमार महतो
खाद्यान्नमा नेपालको परनिर्भर बढ्दै गएको छ । पछिल्लो आर्थिक वर्षमा नेपालले भारतबाट झण्डै आठ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ । नेपालले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ५२ करोडको खाद्यान्न आयात गरेको थियो । यी तथ्याङ्कले खाद्यान्नमा नेपालको भारत निर्भरता झण्डै दोहोरो अनुपातमा बढेको देखाएको छ । ‘कृषिप्रधान देश’ नेपालको निम्ति यो अवस्था निकै लज्जास्पद मात्र होइन, चिन्ताजनक पनि छ । नेपालले भारतबाट गहुँ, धान, जौ, जुनेलो, मकै, फापर, चामल, कोदोलगायतका खाद्यान्न आयात गर्ने गरेको छ ।
नेपाल कुनै बेला खाद्यान्नमा आत्मनिर्भर देश थियो । नेपालबाट भारतमा अन्न निर्यात समेत हुने गथ्र्यो । तर किसानी गर्ने जनताको अधिक्य भएको देश आज कसरी कृषि उत्पादनमा नै परनिर्भर बन्नुपरेको हो ? यसका निम्ति परम्परागत कृषि प्रणाली, जनशक्तिको अभाव, अरू सेवा क्षेत्रको विकास आदि कारण हुनसक्छन् । तर कृषि उत्पादनमा परनिर्भरताको अर्थ–राजनीतिक कारण भने राज्यको परनिर्भर चिन्तन नै हो ।
उत्पादनमूलक अर्थतन्त्रको विकासमा भन्दा राज्यले आयातमुखी अर्थतन्त्रलाई प्रश्रय दिनु नै परनिर्भरताको मुल जड हो । आफ्नो देशमा भएका प्राकृतिक तथा मानवीय स्रोत–साधनको अधिकतम परिचालन गरी आफ्ना सबै आवश्यकता आफूबाटै पुरा गर्ने लक्ष्यबाट राज्य ठीक विपरीत दिशा उन्मुख छ । उदार अर्थतन्त्रको नाममा हाम्रो देशजस्तो अल्पविकासित देशले पनि आफ्नो बजार संसारसामू खुल्ला गर्दा आफ्नो स्रोत विकास गरी आत्मनिर्भर हुने हामीसँग भएको सम्भावना क्रमशः क्षीण बन्दै गएको छ । राज्यको प्रमुख आर्थिक स्रोत आफ्नै देशको उत्पादनभन्दा पनि रेमिट्यान्स बन्दा हामी क्रमशः सबै क्षेत्रमा परनिर्भर बन्नुको विकल्प हुनेछैन ।
एकातिर तराई क्षेत्रमा रहेका चामल उद्योग क्रमशः बन्द हुँदैछन् भने अर्कोतिर चामल आयातको मात्रा बढिरहेको छ राज्यले आफ्नो देशको उत्पादनलाई प्रश्रय दिनुभन्दा खुल्ला बजारको नाममा विदेशी उत्पादनलाई समान सुविधा दिंदा निश्चयनै हाम्रो स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्नेछैन । संरा अमेरिकाजस्तो संसारको आर्थिक महाशक्ति समेतले आफ्नो देशको उत्पादनलाई संरक्षण गर्ने गरेको छ । आज चीन र संरा अमेरिकाबीच भइरहेको एउटा प्रमुख आर्थिक विवाद यो विषयमा हो । संरा अमेरिका स्वंय पनि विश्व बैङ्कको सदस्य देश भएकाले व्यापारमा संरक्षणवाद लागु गर्नुुहुँदैन, अमेरिकामा उसका स्वदेशी उत्पादन सरी चिनियाँ उत्पादनलाई खुलापन दिनुपर्दछ भन्ने माग चीनको हो । तर उदार अर्थव्यवस्थाको कट्टर पक्षपाती संरा अमेरिकाले आफ्ना स्वदेशी उत्पादनको सन्दर्भमा संरक्षणवाद लागु गरिरहेको छ । यसबाट नेपालका उदार अर्थव्यवस्थाका पक्षपाती पूँजीवादी अर्थशास्त्री र शासकहरुले सिक्न जरुरी छ कि छैन ? उदार अर्थव्यवस्थाको घोर पक्षपाती संरा अमेरिकाभन्दा नेपाल उदार अर्थतन्त्रको नाममा खुल्ला हुनु आफैमा विडम्बनापूर्ण कुरा हो ।
सारमा कृषिमा परनिर्भरताको प्रमुख कारण एकातिर नेपालभित्रै खाद्यान्नमा आत्मनिर्भर हुने राज्यको स्वाभिमानी र स्वाधीन चिन्तनको अभाव हो भने अर्कोतिर उदार अर्थतन्त्रको नाममा स्वदेशी उत्पादनलाई सम्बद्र्धन गर्नुभन्दा विदेशी उत्पादनको भेलसँग प्रतिस्पर्धा गर्न पठाउँदा हामी खाद्यान्नमा मात्र होइन, अरू धेरै क्षेत्रमा परनिर्भर बन्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *