भर्खरै :

बाल विकासको पठनीय बुलेटिन ‘दि डन’ पढ्दा

बाल विकासको पठनीय बुलेटिन ‘दि डन’ पढ्दा

‘दिन कस्तो हुन्छ बिहानले देखाउँछ’ भन्ने भनाइ छ । बिहानको पनि उषाका लालीकिरण अथवा मिरमिरे उज्यालो अत्यन्त मनमोहक हुन्छ । चित्ताकर्षक मिरमिरे बिहानी अर्थात् ‘दि डन’ (The Dawn) ले शुभ दिनको लागि उमङ्ग भरिदिन्छ । सिङ्गो दिनलाई ऊर्जाशील बनाइदिन्छ । तसर्थ, मिरमिरे बिहानी अर्थात् ‘दि डन’ हर दिनको भविष्यवाणी हो, हरेक दिनको पथप्रदर्शक हो । यसरी नै एउटा सफल पथप्रदर्शकको रूपमा बाल विकास सेकेन्डरी स्कुलले ‘दि डन’ बुलेटिन प्रकाशित गर्दै आएको छ ।
यस वर्ष कार्तिक महिनामा प्रकाशित बुलेटिन १९ औँ वर्ष र पूर्णाङ्क ३७ औँ अङ्क रहेको छ । यसको आवरण पृष्ठमा प्रकाशित नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को मन्तव्यले विद्यार्थीहरूको जीवनलाई नै मार्गदर्शन गरेको छ भन्नु सान्दर्भिक हुनेछ । बाल विकास सेकेन्डरी स्कुलबाट २०७९ सालको एसईईमा सहभागी भई विद्यालयबाट बिदा भएका विद्यार्थीहरूको लागि आयोजित बधाई तथा बिदाइ कार्यक्रम एउटा रमाइलो उत्सव वा जमघट भन्दा पनि देश र जनताप्रति जिम्मेवार बन्ने अर्को एउटा महत्वपूर्ण कक्षाको रूपमा सम्पन्न भएको थियो । बिदाइ कार्यक्रमका वक्ता र स्रोताहरूको गम्भीर प्रस्तुति तथा उपस्थितिबाट प्रभावित भएर प्रमुख अतिथि नेपाल मजदुर मजदुर किसान पार्टीका अध्यक्ष रोहितले कार्यक्रमको प्रशंसा गर्नुभयो । अध्यक्ष रोहितले मन्तव्यको प्रारम्भमै भन्नुभयो, “म एउटा स्तरीय अन्तर्राष्ट्रिय सम्मेलन या अन्तरक्रियामा आएको जस्तो लाग्यो ।” शासक दलहरूको अकर्मण्यता तथा गलत नीतिकै कारण विदेसिने युवा विद्यार्थीहरूको लर्को झन्झन् लामो हुँदै आएको छ । श्रम र अध्ययनको लागि पनि विदेसिनु पर्ने चरम निराशाको घडीमा विद्यार्थीहरूबिच अध्यक्ष रोहितले ‘यही गतिमा अगाडि बढ्यौँ भने १० वर्षमा भक्तपुरको नेतृत्व महिलाहरूले गर्नेछन्’ भन्ने आशलाग्दो भविष्य झल्काउनुभयो । भक्तपुरमा ‘एक घर एक स्नातक’ को सपना देख्ने र सपना पूरा गराउन अभिप्रेरित गर्ने स्वप्नद्रष्टा अध्यक्ष रोहितले विद्यालय जीवन सकिनुको अर्थ सङ्घर्ष सकिएको नभई ‘यो जीवन सङ्घर्षको पहिलो मैदानमा प्रवेश गरेको भन्छु म’ भनेर विद्यार्थीहरूलाई सङ्घर्षको लागि थप अभिप्रेरित गर्नुभयो ।
जुनसुकै विषयका विद्यार्थीहरूले पनि विश्वको भूगोल र इतिहासबारे जानकारी राख्नुपर्नेमा जोड दिंदै आउनुभएका अध्यक्ष रोहितले साम्राज्यवादी संरा अमेरिकी परराष्ट्रमन्त्रीले अफ्रिकामा गएर चीनलाई उपनिवेशवादी र खराबभन्दा अफ्रिकी देशका कूटनीतिज्ञहरूले प्रतिरोध गरेको अन्तर्राष्ट्रिय कूटनीतिक परिघटनाहरूबारे विद्यार्थीहरूलाई बुझाउनुभयो । उहाँल नेपालका विश्वविद्यालयहरूमा इतिहासलाई सही ढङ्गमा नपढाइएको बताउनुभयो । सही ढङ्गमा इतिहास पढाउँछ कि भनेरै ख्वप विश्वविद्यालयलाई अनुमति नदिएको प्रस्ट पार्र्नुभयो । दक्षिण अफ्रिकी देशहरूमा हमला गरी जनतालाई आच्छुआच्छु पार्ने बेलायती साम्राज्यवादी सिपाहीहरूलाई बचाउन जाने प्mलोरेन्स नाइटिङ्गेलबारे लेखिएको पाठलगायत नेपाली पाठ्यपुस्तकहरू सच्याउनुपर्ने उदाहरण दिँदै अध्यक्ष रोहितले नेपाल, भुटान, सिक्किम, बर्मा र भियतनाम चीनको उपनिवेश भनी गलत इतिहास पढाउने अमेरिकी शिक्षकलाई कक्षा लिन रोकी सही ज्ञानको लागि ‘साम्राज्यवाद पुँजीवादको चरम अवस्था’ पढ्न लगाएको आफ्नो विद्यार्थी जीवनको अनुभव पनि सुनाउनुभयो ।
त्जभ म्बधल को यो अङ्कमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ख्वप विश्वविद्यालय स्थापना गर्न अनुमति नदिनुको पछाडिका कारणहरूबारे विभिन्न कोणबाट चर्चा गर्नुभयो । ख्वप विश्वविद्यालय स्थापना भएको भए १०–१५ लाख रूपैयाँमै एमबीबीएस डाक्टर पढाउने भक्तपुर नगरपालिकाले भन्दै आएको छ । आज ख्वप विश्वविद्यालय स्वीकृत भएको अवस्थामा स्थापना हुने मेडिकल कलेजमा एमबीबीएस पढ्न हकदार बनेका विद्यार्थीहरूमाझ अध्यक्ष रोहितले ख्वप विश्वविद्यालयको सन्दर्भमा गर्नुभएको विश्लेषण विद्यार्थीहरूको चासोको उचित सम्बोधन पनि हो ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसँगको अन्तरक्रियामा पनि बाल विकासका विद्यार्थीहरूले ख्वप विश्वविद्यालय स्थापना सम्बन्धमा विशेष चासोका साथ प्रश्न गरेका थिए । भक्तपुरका जनताको पहिल्यैदेखिको सपनाको रूपमा रहेको ख्वप विश्वविद्यालय स्थापना गर्न नदिनु शासक दलहरूको राजनीतिक तथा जातीय पूर्वाग्रह रहेको स्वयम् शासक दलका एकजना राष्ट्रिय सभा सदस्य अथवा सांसदले बताएको प्रसङ्ग मेयर सुनिल प्रजापतिले विद्यार्थीहरूसँग खुलाउनुभयो । भक्तपुर नगरका मेयर सुनिल प्रजापतिको नयाँ पुस्ता वा विद्यार्थीहरूसँग अन्तरक्रिया आफैँमा सुन्दर र सुदृढ भविष्यको लागि दरिलो आधारशिला हो । घरदैलो नर्सिङ सेवा, ख्वप पहिचान झल्काउने स्थानीय पाठ्यक्रम, नयाँ पुस्तालाई दुव्र्यसनीबाट बचाउने उपाय, मावि तहसम्म शिक्षा निशुल्क र अनिवार्य बनाउन सङ्घीय सरकारले जिम्मेवारी लिनुपर्ने, आफ्नै स्रोत साधनबाट सम्पदा संरक्षण गर्नुपर्ने र आत्मसम्मान वा स्वाभिमानमा ठेस लाग्ने शर्त राखेर कुनै पनि विदेशी सहयोग लिन नहुने आदि विषयमा मेयर प्रजापति र बाल विकासका विद्यार्थीहरूबिचको उल्लेखनीय साक्षात्कार यो अङ्कमा अभिलिखित छ ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले विद्यालयका विद्यार्थीहरूलाई देश र जनतालाई सेवा गर्ने राजनीतिक गोरेटोतर्फ डो¥याउने कोसिस गरिरहनुभएको छ । ‘विद्यार्थीहरूलाई राजनीतिबाट टाढा राख्नुपर्छ’ भन्दै फोहरी राजनीतिलाई बढावा दिने शिक्षक–प्रिन्सिपलहरूलाई व्यवहारबाटै जवाफ दिंदै प्रदेशसभा सदस्य गोसाईं निर्धक्कसाथ भन्नुहुन्छ, व्यक्तिगत सरसफाइजतिकै देशको राजनीतिक सरसफाइ महत्वपूर्ण । विद्यार्थी जीवनलाई धानबालीको उपमा दिई विद्यालयका विद्यार्थीलाई धानको व्याडलाई जस्तै सघन र सूक्ष्म निगरानीमा हुर्काएको र व्याड काडेर निश्चित दुरीको अन्तरमा धान रोपेजस्तै विद्यालय जीवनपछि छरिएर विभिन्न विषय अध्ययन गर्ने विद्यार्थीहरू झन् होसियार र चनाखो हुनुपर्ने सुझाव दिंदै उहाँले पढेकाले काम नगर्ने र काम गर्नेेले नपढ्ने समस्या समाधान गर्न तालमेल मिलाएर काम गर्ने र पढ्ने दुवै सँगसँगै अगाडि बढाउन मार्गदर्शन गर्नुभयो ।
१३ वर्षीय विद्यालय जीवनबाट बिदा हुँदै गरेका विद्यार्थीहरूलाई बिदाइका हात हलाउँदा भावुक बनेकी शिक्षिका सीता प्रजापतिले दिनुभएको ‘आज तपाईंहरू यो गुँड छोडेर जाँदै हुनुहुन्छ’ भन्ने सन्देशमा मातृवात्सल्य छचल्किएको छ । सुदूर क्षितिजमा विचरण गर्न, माथि माथि धेरै माथि आकाशमा उडान भर्न कष्टसाध्य तालिम दिने शिक्षिकाको आँखा रसाउनु स्वाभाविक नै हो । बिदाइ कार्यक्रममै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिले दिनुभएको ‘असल सङ्गत, असल आचरण तथा असल विचार आवश्यक’ रहेको छोटो र सटिक मन्तव्य पनि मर्मस्पर्शी छ ।
यो ३७ औँ अङ्कलाई वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सङ्क्षिप्त परिचयले पनि सङ्ग्रहणीय बनाएको छ । ‘एक यात्रीको आँखामा भक्तपुर’ शीर्षकमा भक्तपुरको निकट भविष्यको भव्य दृश्याङ्कन गरिएको सुरेन्द्रराज गोसाईंको स्वैरकाल्पनिक रचनाले ‘सय वर्षपछिको भक्तपुर’ को झल्को दिन्छ । कुनैबेला हरेक कोणबाट उपेक्षित भक्तपुर यहाँको दूरदर्शी राजनीतिक नेतृत्वकै कारण आज हरेक कोणबाट उदाहरणीय भक्तपुर बनेको छ । भक्तपुरको यो गौरवलाई अझ बढी वैभवशाली बनाउन नयाँ पुस्ता पनि दत्तचित्त भएर जुट्नु आवश्यक छ । त्यसैले नयाँ पुस्तालाई उत्प्रेरित पार्दै गोसाईं लेख्नुहुन्छ, “जो जतिसुकै बलशाली भए पनि न उसले विगत बदल्न सक्छ न त किन्न नै । बदल्न मिल्ने र आफ्नो हातमा हुने भनेको वर्तमान हो र भविष्य हो ।”
सांस्कृतिक रूपमा पिछडिएको र आर्थिकरूपले असमान आफ्नो समाजको वर्तमान र भविष्य बदल्न सङ्घर्षशील योद्धाहरूमध्ये शोभा प्रधानको नाम पनि अग्रपङ्क्तिमै आउँछ । ‘सधैं पाश्र्वभूमिकामा सन्तुष्ट हुने कामरेड शोभा’ बारे सुरेन्द्रराज गोसाईंकै अर्को शब्द चित्रले शोभा प्रधानको कष्टपूर्ण जीवन सङ्घर्षको गाथालाई प्रकाश पारेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्षको लगभग दैनिक १८–२० घण्टा चल्ने ‘घरको कार्यालय’ सम्हाल्न या व्यवस्थित बनाउन उहाँको भूमिका महत्वपूर्ण थियो । नेपाल मजदुर किसान पार्टीलाई समुल नष्ट गर्ने उद्देश्यका साथ रचिएको पञ्चायती राज्यस्तरको षड्यन्त्रको कारण शोभा प्रधानले सामान्य गृहिणी भएर मात्र बाँच्न पाउनुभएन । राजनीतिक सङ्कटकै बिच शोभा प्रधानले जेलका नेता र जनतालाई जोड्ने साँघुको जिम्मेवारी सकुशल बहन गर्नुभयो । शोभा प्रधानको व्यक्तिगत स्वास्थ्यमै समस्या पर्दा पनि उहाँ त्यसबाट सिकेर देश र जनताको सेवामा अझै समर्पित हुनुभयो । आफू स्तन क्यान्सरबाट पीडित भएपछि आफ्नो मात्र उपचार गर्न विदेश शयर गर्नेतिर उहाँले ध्यान दिनुभएन बरू ‘महिलाहरूलाई स्वास्थ्य सचेतना दिन सक्रिय रहनुभयो । महिला रोगसम्बन्धी स्वास्थ्य शिविरहरू ठाउँ–ठाउँमा चलाउन नेतृत्व गरेर उहाँले धेरैको जीवनमा गुण लगाउनु भयो ।’ देश र जनताको निम्ति अहोरात्र सङ्घर्षरत पार्टीको नेतृत्वको सेवा गरेर क्रान्तिको सेवामा जीवन अर्पण गरेका शोभा प्रधानबारे सुरेन्द्रराज गोसाईंले गर्नुभएको भावानात्मक, मार्मिक तथा तथ्यपरक शब्दचित्रले पाठकहरूको मन उद्वेलित बनाउनेछ ।
अङ्ग्रेजी भाषामा तयार पारिएको एक अफ्रिकी स्वतन्त्रता सेनानी पेट्रिस लुमुम्बाको सङ्क्षिप्त जीवनीबारे मनिषा श्रेष्ठको लेख र अङ्ग्रेजी पुस्तकबारे अङ्ग्रेजीमै जयेन्द्र श्रेष्ठकोे समीक्षात्मक लेखलगायत शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको अङ्ग्रेजी तथा नेपाली भाषामा सिर्जना गरिएका साहित्यिक रचनाहरूले बुलेटिनलाई पठनीय बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *