भर्खरै :

वर्गमा विभाजित समाजमा वर्गसङ्घर्ष स्वाभाविक

वर्गमा विभाजित समाजमा वर्गसङ्घर्ष स्वाभाविक

राजनीति राज्यको नीति हो । यो राज्य सञ्चालनको मरुदण्ड हो । राजनीति बेठीक भयो भने देशै नरहने स्थिति आउन सक्छ । यसकारण, राजनीति सही ढङ्गले गर्नुपर्छ । राजनीति देश र जनताप्रति समर्पित हुनुपर्छ । जसरी भए पनि दल ठुलो या शक्तिशाली बनाउने र सरकारको नेतृत्व गरेर रजाइँ गर्ने सही राजनीति होइन; जनताको राजनीति होइन । आफू शक्तिमा पुग्न या सत्तामा आफू उक्लिनको निम्ति अर्कोलाई उठ्नै नदिने, अरूलाई भाँड्ने, टुक्राउने र पछार्ने काम पनि सही राजनीति होइन । उचाल्नु र पछार्नु पनि असङ्गति हो । यस्तै असङ्गतिभित्र अनेक प्रपञ्च भइरहेको हुन्छ । अनेक छलकपट, धोका, षड्यन्त्र, जालसाजी, झूट, हत्या, हिंसा, किनबेच र फोहरी खेल भइरहेको हुन्छ । यस्ता खेलहरू समाज र देशमा मात्र होइन अन्तर्राष्ट्रिय समुदायमा पनि भइरहेको हुन्छ । सही राजनीति नहुँदा, जनताको राजनीति नहुँदा र राजनीति देश र जनताप्रति समर्पित नहुँदा देशमा अनेक आन्दोलन र सङ्घर्ष भए । आक्रमणकारी इजरायलले स्वाधीन प्यालेस्टिनमा भइरहेको बम वर्षा र आक्रमणको विरोधमा भइरहेको विरोध प्रदर्शन र सभा यसको पछिल्लो दृष्टान्त हो ।
व्यवस्था बदल्न सङ्घर्ष आवश्यक
राजनीति र व्यवस्था सही नभएसम्म आन्दोलन हुनु स्वाभाविक हो । एमसीसी सम्झौता र नागरिकता विधेयकको विरोधमा पनि देशव्यापी आन्दोलन भयो । नेमकिपाको त्यो आन्दोलन संसद् भवन परिसरमा मात्र होइन देशका दर्जनौँ जिल्लामा भयो । नेमकिपाको त्यो एमसीसीविरोधी आन्दोलनले जनतामा एमसीसीविरोधी भावना जगायो, नेपाली जनता एमसीसीको विपक्षमा रहे । नागरिकता विधेयकविरोधी आन्दोलनले जनतामा देशभक्तिको भावना जगायो, नागरिकताको कारण देशमा दूरगामी असर नपरोस्, देश कसैको कठपुतली नहोस् भन्ने खबरदारी गरायो । त्यस्तै यहाँ शिक्षक आन्दोलन, कर्मचारी आन्दोलन, उखु किसान आन्दोलन, मिटरब्याज पीडित आन्दोलन भयो । यसरी नै सुस्ता जोगाउने आन्दोलन, सीमा अतिक्रमणविरोधी आन्दोलन, कालापानीमा रहेको भारतीय सेना फिर्ता आन्दोलन पनि भयो । नेपाल र भारतको सीमामा भारतीय पक्षले एकतर्फी बनाएको तटबन्ध तथा बाँध भत्काउने अभिमान, साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले विभिन्न देशमा गरेको आक्रमणको विरोधमा र विस्तारवादी देश भारतले नेपाली भूमि मिचेको र भारतीय एकाधिकार पुँजीको विरोधमा पनि आन्दोलन भयो । यी सबै आन्दोलन र सङ्घर्षहरू देश र जनताको पक्षमा छन् ।
शोषणरहित समाजको आवश्यकता
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक यो देशमा पुँजीवादी व्यवस्था छ । अल्पमतवर्गको स्वार्थ हेर्ने यो पुँजीवादी व्यवस्थाले बहुमत जनताको सेवा गर्दैन । यो व्यवस्था बदल्न नेमकिपालगायत अन्य कम्युनिस्ट पार्टीहरू सङ्घर्षरत छन् । ती पार्टीहरू पुँजीवादी व्यवस्था बदल्न समाजवादी प्रचार अभियानमा छन् । राज्य सञ्चालनको दोस्रो मेरुदण्ड अर्थतन्त्र भएको हुँदा देशको अर्थतन्त्र मजबुत पार्ने या नपार्ने कुरा देशको राजनीतिक व्यवस्थामा भरपर्छ । अर्थतन्त्रको अग्रगति र अधोगतिले देशको अग्रगति र अधोगतिको निर्धारण गर्छ । यो पनि व्यवस्थासित सम्बन्धित हुन्छ । राज्य सञ्चालन विश्वासिलो, भरपर्दो र देश र जनताप्रति समर्पित भएन भने देशको अर्थतन्त्र कमजोर हुन्छ या सङ्कटमा पर्छ । अहिले देशको अर्थतन्त्र सङ्कटतिर घस्रिरहेको छ । यो शुभ लक्षण होइन । अर्थतन्त्रभित्र घुसेको विकृतिले देशको सिङ्गो अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ । यसले आर्थिक विसङ्गति निम्त्याउँछ; आर्थिक विषमता ल्याउँछ । आर्थिक विषमताले गरिब र धनीको खाडल गहिँरिदै जानेछ । यसले कोही भोका नाङ्गा हुन्छ त कोही भोक, रोग, शोकले पीडित भएर मर्छन् । त्यहाँ आर्थिक न्यायको अभाव हुन्छ । आर्थिक शोषण यथावत रहन्छ । शोषण रहेसम्म कामदार जनता माथि उठ्न सक्ने छैनन् । अतः शोषणरहित समाजको आवश्यकता हुन्छ । शोषणरहित समाज समाजवादी व्यवस्थामा हुन्छ । समाजवादी व्यवस्था स्थापना गर्न कम्युनिस्टहरू लाग्नुपर्छ । समाजवादी व्यवस्था दलहरू पुँजीवादी व्यवस्थामा टाँसेर स्थापना हुनेछैन । पुँजीवादी निर्वाचनमा जुन दलले बहुमत प्राप्त गरे पनि या सरकारको नेतृत्व गरे पनि बहुमत जनताको हित गर्नेछैन या समाजवादी व्यवस्था स्थापना हुनेछैन ।
कुशल प्रशासन आवश्यक
देशको अर्को समस्या प्रशासनिक विसङ्गति हो । जनताले न्याय पाउँदैनन्, भ्रष्टाचारीहरू कारबाहीमा पर्दैनन् र पक्षपात हुन्छ भने त्यो कुशल प्रशासनिक हुँदैन । कुनै प्रशासनिक निकायमा स्वेच्छाचारी चल्छ, ढिलासुस्ती हुन्छ, घुसबिना काम गर्दैन, चाकरी र चुक्लीको भरमा काम हुन्छ, सर्वसाधारण जनताको काममा वास्ता गर्दैन भने त्यस्ता प्रशासकहरू कुशल हुँदैनन् । आज कमिसन, भ्रष्टाचार, नातावाद, क्रिपावादले प्रशासनिक यन्त्रलाई कँुजो र अपाङ्ग बनाइरहेको छ ।
निष्पक्ष र स्वच्छ छविको
पैसा, धाक, धम्की, बलको आधारमा काम कारबाही हुन्छ या न्याय दिलाउँछ भने त्यस्तो प्रशासन कसरी हुन्छ ? प्रशासनले समान व्यवहार गर्नुपर्छ† बिनाघुस जनताको काम गर्नुपर्छ । सर्वसाधारण जनताको काममा बेवास्ता गर्ने, टेरपुच्छर नगर्ने, भोलि भोलि भन्दै ढिलासुस्ती गरे प्रशासनप्रति जनताको विश्वास कसरी बढ्छ ? राम्रो शासन व्यवस्था भएको देशमा राज्यप्रति मात्र होइन देशका सेना, प्रहरी, कर्मचारीप्रति पनि जनताको विश्वास हुन्छ । समाजवादी देश क्युवा र प्र्रजग कोरियामा सरकार, सेना, दल, कर्मचारी सबै मिलेर काम गरिएको हुन्छ । यसकारण, समाजको दुर्गन्धयुक्त फोहर सफा गर्न असल, इमानदार, स्वच्छ छवि र चरित्रका व्यक्तिहरू प्रशासनिक निकायमा हुनु जरुरी छ ।
वर्गमा विभाजित
समाज वर्गमा विभाजित छ । वर्गमा विभाजित समाजमा वर्ग वर्गबिच भेद, शोषण, हेला होचो, अपमान आदि हुन्छ । त्यहाँ उँच र नीचको व्यवहार भएको हुन्छ । अन्धविश्वास, जातीय विभेद रहेको हुन्छ । कुसंस्कार र कुरीतिले ढाकेको हुन्छ । त्यहाँ दुराचार, व्यभिचार, अनैतिकता, अकर्मब्यता, अमानवीय कार्य दोहोरिरहेको हुन्छ । नीति नियम पाखामा थन्काइएको हुन्छ । त्यहाँ अनुशासनहीन, चरित्रहीन, हत्या हिंसामा संलग्न अपराधीहरूको चलखेल हुन्छ । यस्ता बग्रेल्ती उदाहरणहरू सबै सामाजिक विसङ्गतिका हुन् । यस्ता विकृतिहरूलाई सज्जन, इमानदार, समाजसेवीहरूले अन्तरचक्षुले अवलोकन गरेर समुदायमा उदाङ्ग्याउनुपर्छ । विसङ्गति वा मानवीय दुर्वलताहरूको आलोचना गर्दै सुधार या परिवर्तनको निम्ति जाग्नुपर्छ, समाजमा भिज्नुपर्छ, जनतालाई बताउनुपर्छ ।
सांस्कृतिक आक्रमण अर्को खतरा
सांस्कृतिक र धार्मिक आक्रमण अर्को विसङ्गति हो । एकातिर बलियो देशले कमजोर देशमाथि देख्ने गरी आक्रमण गरेर धनजनको क्षति पु¥याइरहेको हुन्छ, देश देश जुधाएर हतियार बिक्री गरेर आम्दानी गरिरहेको हुन्छ भने अर्कोतिर चालै नपाइकन कहिले धर्म प्रचार गरेर बिथोलिरहेको हुन्छ त कहिले सांस्कृतिक आक्रमण गरिरहेको हुन्छ । समाजमा रहेका सम्प्रदायलाई धर्मधिकारीहरू घुसेर बितण्डा मच्चाएका हुन्छन्; अन्धविश्वासको कुरा फुकेर सर्वसाधारणलाई अन्योलमात्र होइन झगडा गराउने जाल फ्याकेका हुन्छन्; सांस्कृतिक वितण्डा गरी राष्ट्रिय र मौलिक संस्कृतिलाई क्षतविक्षत पार्ने मन्त्र फुकेका हुन्छन् । नेपाली समाजको मौलिक संस्कृति, पहिचानमा आँच पु¥याउने लोभलाग्दा कुरा फलाकेर मन्दविष छरिरहेको हुन्छ । कहिले मिस सुन्दरी, कहिले फेसन शो, कहिले नितम्ब प्रतियोगिता, कहिले प्रणय दिवस, कहिले प्रेम कविता प्रतियोगिता आदि गतिविधि गरेर मानिसको मन बिगार्ने, गलत बाटोमा लैजाने काममा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरूले टेवा पु¥याइरहेका हुन्छन् । यसरी कहिले धर्म, कहिले संस्कृतिको नाउँमा समाजमा विकृति छरिरहेको हुन्छ । यी सबै गतिविधिहरू समाजलाई अधोगतितर्फ धकेल्ने, समाज भाँड्ने, मानिसको चरित्र बिगार्ने विसङ्गतिहरू हुन् ।
देश जोगाऔँ देश बनाऔँ
यो बहुभाषिक, बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक देशमा जातीय विखण्डन ल्याउने प्रयास पनि नभएको होइन । संविधान निर्माणको क्रममा एक मधेस एक प्रदेश नभए देशै नरहने चेतावनी दिएका नेताहरू अहिले पनि सदनमा छन् । तराईलाई टुक्रा पार्ने र काठमाडौँ उपत्यकालाई नाकाबन्दी गर्ने चेतावनी दिएका मधेसवादी नेताहरू पनि यहाँ छन् । सांस्कृतिक, धार्मिक क्षेत्र भड्काउने, साम्प्रदायिक भावना फैलाएर जातीय द्वन्द्व निम्त्याउने षड्यन्त्र पनि यहाँ नभएको होइन । यसकारण, देश जोगाउने, देश बनाउने, देशको विकास गर्दै जनताको जीवनस्तर उठाएर बहुमत जनताको सेवा गर्ने व्यवस्था आजको आवश्यकता हो, त्यो व्यवस्था भनेको जनताको प्रजातन्त्र हुँदै समाजवादी व्यवस्था हो । यसतर्फ हामी आन्दोलित हुनुपर्छ र वर्गसङ्घर्षमार्फत व्यवस्था बदल्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *