भर्खरै :

खुल्ला गुँला बाजा प्रतियोगिता सम्पन्न देशको कला र संस्कृति हाम्रो अमूल्य सम्पत्ति

खुल्ला गुँला बाजा प्रतियोगिता सम्पन्न देशको कला र संस्कृति हाम्रो अमूल्य सम्पत्ति

भक्तपुर, २२ वैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगिता शनिबार भक्तपुर नपा वडा नं. १ भार्वाचो (कुथुबही) मा एक समारोहबिच सम्पन्न भयो । गुँला बाजा प्रतियोगितामा भनपा ३ तेखाचोको क्वनेया गुँला बाजा सञ्चालन तथा व्यवस्थापन समिति प्रथम भएको छ ।
त्यस्तै बुराँख्यो येँ, नरदेवीको ङत तुलाधर गुँला बाजा खलः द्वितीय, मध्यपुर थिमीको प्रजापति गुँला बाजा तृतीय, मथिनपा वडा नं. ५ को थिमि गुँला बाजा खलः र इतुंबहाः येँ, वडा नं. २४ को केशचन्द्र गुँला बाजा खलः ले सान्त्वना स्थान हासिल गरेका थिए ।
सोही क्रममा प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताका विजयी समूहलाई पुरस्कार वितरण गर्नुभयो ।
प्रतियोगितामा प्रथम भएको समूहलाई नगद रु. ४० हजार, द्वितीयलाई नगद रु. ३० हजार, तृतीय हुन सफल समूहलाई नगद रु. २५ हजार र सान्त्वना स्थान प्राप्त गरेको २ वटा समूहलाई रु. २० हजार प्रतिसमूह नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई रु. ५ हजार प्रदान गरिएको थियो भने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गरेको बाजा समूहलाई वाद्यवादन सामग्री पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले भक्तपुर नगरपालिकाको आयोजनामा भएको गुँला बाजा प्रतियोगिता एक सांस्कृतिक पर्वको रुपमा सञ्चालन भएको बताउँदै प्रतियोगिता आयोजनाले संस्कृतिकर्मी र कलाकारहरूमा उत्साह थपेको बताउनुभयो ।
भक्तपुर कला र संस्कृति संरक्षण र प्रवद्र्धनमा अग्रणी र जीवन्त सहरको रुपमा विकास हुँदै आइरहेको धारणा राख्दै उहाँले देशको कला संस्कृति हाम्रो अमूल्य सम्पत्ति रहेको बताउनुभयो ।
नयाँ पुस्तामा ज्ञान र सीप हस्तान्तरणले देशको मौलिक संस्कृति जगेर्नामा उल्लेखनीय योगदान पुग्ने बताउँदै उहाँले विद्यालयस्तरदेखि यस्ता सीपहरूको प्रशिक्षण दिन सके देशको कला संस्कृति जीवन्त हुने उल्लेख गर्नुभयो ।
समारोहका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवादज्ञापन गर्दै भक्तपुर नपाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा १० वटा महानगरपालिका–नपा र ४ वटा जिल्ला गरी २६ वटा बाजा खलःले सहभागिता जनाएको बताउनुभयो ।
भक्तपुरको मूर्त र अमूर्त सम्पदाहरू संरक्षण नै यहाँको विशेषता भएको बताउँदै उहाँले मौलिक संस्कृति जगेर्नामा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।
निर्णायकमण्डलका तर्फबाट डा. पुष्परत्न शाक्यले भक्तपुर नपाले बौद्ध धर्म र संस्कृतिसँग जोडिएको गुँला बाजा प्रतियोगिता आयोजना गरी उल्लेखनीय कार्य गरेको बताउँदै प्रतियोगिता आयोजनाले गुँला बाजा संरक्षण र सम्बद्र्धनमा समेत टेवा पुग्ने धारणा राख्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभएको थियो भने भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले मूल्याङ्कन परिणाम घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सहभागीहरूलाई प्रमाणपत्र र मायाको चिनो वितरण गर्नुभएको थियो भने उपप्रमुख जोशीले मूल्याङ्कनकर्ताहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
गुँला बाजा प्रतियोगितामा २६ वटा बाजा समूहले उत्साहपूर्वक सहभागिता जनाएका थिए जसमा एउटा बाजा समूहले गुँला बाजाको विशेष प्रस्तुति प्रस्तुत गरेको थियो ।
कार्यक्रमका पहिलो चरण अन्तर्गत प्रतियोगिताको उद्घाटन कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै प्रमुख प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने मूल नाराका साथ भक्तपुर नपाले बौद्ध धर्मसँग जोडिएको गुँला बाजा प्रतियोगिता आयोजना गरेको र प्रतियोगितामा विभिन्न बाजा खलःहरूको उत्साहपूर्वक सहभागिता रहेको बताउनुभयो ।
भक्तपुर नपाले यहाँको कला र संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण गर्न विद्यालयस्तरबाट स्थानीय पाठ्यक्रममा विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिँदै उहाँले सांस्कृतिक गुरुहरूको सम्मानमा पनि नपाले विशष जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उद्घाटन कार्यक्रममा दत्तात्रय नौबाजा खलःको तर्फबाट नौ बाजा प्रस्तुत गरिएको थियो ।
प्रतियोगिता सुरु हुनु अगाडि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा खुला गुँला बाजा प्रतियोगिताको उद्घाटन ¥याली भनपा ५ टौमढीबाट सुरु भई नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, नःपुखु हुँदै भार्वाचो (कुथुबही) मा पुगी सभामा परिणत भएको थियो ।
¥याली सुरु हुनुअघि भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले प्रतियोगिताको आयोजनाको उद्देश्यबारे चर्चा गर्नुभयो । गुँला बाजा प्रतियोगितामा नगरभित्रका २६ वटा बाजा टोलीले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *