भर्खरै :

गाजामा एक आमाको अन्तिम दिन

गाजामा एक आमाको अन्तिम दिन

गाजामाथि हमला भएको ३७ औँ दिनको एक बिहान ३९ वर्षे हाना ओछ्यानबाट उठिन् र अनौठो व्यवहार गर्न थालिन् ।
“उहाँले बिहानी भजन अल–फाज्र गाउनुभयो । त्यसपछि भाँडा माझ्नुभयो र कोठा मिलाउन थाल्नुभयो । काकी, काकीका छोरीहरू, मेरा दाजुभाइ र हामी उहाँलाई देखेर हेरेको हे¥यै भयौँ । तर केही भनेनौँ ।” उनका १९ वर्षे छोरा अबौदले भने ।
हानाको घर गाजापट्टीको बिचमै पर्छ । इजरायली बमबारीले गर्दा उत्तरबाट यता आएका आफन्तहरूले घर भरिएको थियो । इजरायली सेनाले मानिसहरूलाई मध्य र दक्षिण गाजाका ‘सुरक्षितस्थल’ तिर जान आदेश दिँदै थियो ।
गाजाका कुनै पनि घरको धारामा पानी आउँदैन । उनीहरूकहाँ पनि आएको थिएन । प्यालेस्टिनमाथि हमला सुरु गरेलगत्तै इजरायलले गाजाका घरहरूमा जाने पानीको आपूर्ति बन्द गरेको छ । त्यसैले मानिसहरू ग्यालिन र बोतलहरू लिएर पानी खोज्न यताउति जान्थे ।
पानी लिन जाने जिम्मा हानाका तीन छोराहरू अबौद, अम्र (१८ वर्ष) र इस्लाम (१५ वर्ष) को भागमा थियो । तर, यो बिहान उनीहरू पानी लिएर घरको पाँचौँ तलामा पुग्दा आमाले पहिलोचोटि उनीहरूलाई सघाउने निधो गरिन् ।
“के भयो आमा ? के गर्नुभएको ?” अबौदले अडिएर सोधे ।
“केही हैन बा । घर छोडेर यहाँ आएका सबैलाई आफ्नै घरमा छु भन्ने महसुस होस् भन्ने चाहन्छु म ।” उनले जवाफ दिइन् ।
केही नभनी मनमनै कुरा खेलाउँदै अबौद सिँढी उक्लिए । हाना निकै दयालु थिइन् । यो संसारमा बाँचेका आफ्ना आमाबाका सबै सन्तानमध्ये उनी एक्ली थिइन् ।
पहिलो चोट
सन् २००८ मा इजरायली सेनाले बिना चेतावनी गाजापट्टीका सबै पुलिस चौकीमा बमबारी ग¥यो । त्यो बमबारीमा हानाले आफ्ना छोराहरूका बाबु शादी अल–सबाखीलाई गुमाइन् । सोही घटनापछि २००८–०९ को इजरायली आक्रमण सुरु भयो । ९ सय सर्वसाधारण मारिए । त्यसमध्ये पहिलो प्रहारमै २५० प्यालेस्टिनी प्रहरीहरू मारिएका थिए ।
बुबा मारिँदा अबौद ४ वर्षका थिए; अम्र तीन वर्षका र इस्लाम ३ महिनाका मात्र थिए ।
हानाले दोस्रो बिहे नगरी सन्तानका लागि बाँच्ने निधो गरिन् । उनी तिनीहरूकी आमा बनिन्, तिनको बाबु बनिन्, तिनकी दिदीबहिनी, साथी र शिक्षक बनिन् ।
दाइले सहादत पाए त के भयो, शादीका भाइ माज्दी अल–सबाखीले आफ्ना भतिजाहरूलाई हुर्काउन मद्दत गर्ने प्रतिज्ञा गरे । तिनीहरूको हुर्काइमा उनले कुनै कसर बाँकी राखेनन् । आफ्ना सन्तानसँगसँगै दाइका छोराहरूलाई पनि हुर्काइरहे ।
तर पछिल्लो युद्धको १७ औँ दिनमा इजरायली सेनाले उनलाई पनि मा¥यो । केटाहरूले फेरि आफ्ना बाबुको निधन भएको ठाने । तर, उनीहरूले शोक मनाउने समय नै पाएनन् । माज्दीको निधन भएको चार दिनपछि उनीहरूले मामा मोहम्मद अल–सबाखीलाई पनि गुमाए ।
मोहम्मद आफ्ना छोरा इब्राहिमसित खानाको खोजीमा बजार गएका थिए । त्यसैबेला इजरायलले बजारमै बम हान्यो । मारिने आठजनामध्ये ती बाबुछोरा पनि थिए ।
“माज्दी काका मरेको चोट थियो । अर्को चोट कसरी सहने ?” अबौदले भने ।
मिसाइल आक्रमण
जिन्दगी निर्दयी छ । तर, कम्तीमा आमा साथमा थिइन् ।
“ल ल, सबैजना यहाँ आओ, अबौद यहाँ आऊ !”
हानाले घरका सबैलाई एकै ठाउँ बोलाइन् । घरमा शरण लिएका सबैलाई बोलाइन् ।
उनले भनिन्, “तिमीहरू डराउनुपर्दैन ।”
“म तीन अनाथ सन्तानकी आमा हुँ । मेरो घरमा तिमीहरू कसैलाई केही हुनेछैन ।”
यत्तिकैमा अकस्मात् भित्ता भत्कियो र जताततै धुलोको मुस्लोबाहेक केही देखिएन ।
अबौद बिस्तारै उठे तर राम्ररी उभिन सकेनन् । आँखाले आमा र भाइहरूलाई यताउता खोज्न थाले । नजिकै इस्लाम थियो । उसको काँधमा चोट लागेको थियो । अबौद पनि घाइते थिए । तर, आमालाई खोज्ने हडबडीमा उनले केही पनि महसुस गरेनन् ।
कसैले मिसाइल लागेर हाना तल्लो तलामा खसेको हुनसक्ने बतायो । उनलाई पत्यार लागेन ।
“आमा हामीबिना कहीँ जानुहुन्न । हामी ठीकठाक छौँ भनी ढुक्क नभएसम्म कतै जानुहुन्न ।”
अबौदले अन्त्यमा आमालाई भेटे । आमा भुइँमा थिइन् । उनको अनुहारमा दैवी मुस्कान थियो । समय ठप्प भयो ।
“बुबाबिना म १५ वर्ष बाँचे । के अब म आमाबिना बाँच्नुपर्ने हो ?” अबौदले आफैँलाई सोधे ।
उनले आमालाई बोकेर सिँढीबाट तल ओराले । दुवैजना एम्बुलेन्स चढे । अस्पताल पुगेपछि हानालाई मृत घोषित गरियो । अबौद धरधरी रोए । तर, उनलाई सुम्सुम्याउने कोही थिएन । परिवारका बाँकी सदस्य सबै घाइते थिए । अस्पतालमा उनीहरूको उपचार चलिरहेको थियो ।
बिदाइ चुम्बन
इस्लामलाई अस्पताल लगिएको थियो । आमालाई छोडेर अबौद कान्छो भाइलाई हेर्न गए ।
उनले आमाको खबर सुनाउन सकेनन् ।
इस्लामले सोध्यो, “आमा खोइ दादा ?”
“चोट लागेको छ । तिमीलाई हेर्न आउन सक्नुहुन्न ।” अबौदले उत्तर दिए ।
दाजुले कुरा लुकाएको इस्लामलाई थाहा थियो । त्यसैले उसले अड्डी कस्यो ।
अबौदले कुरा ढाँटिरहन सक्दैनथे । आमालाई अन्त्येष्टि गर्न लैजाँदा आमालाई बिदाइ चुम्बन गर्नबाट इस्लामलाई रोकेकोमा पछुताउनुपर्ने कुरा अबौदलाई थाहा थियो ।
उनले कान्छालाई भने, “आमा मारिनुभयो इस्लाम ।” गहभरि आँसु लिएर उनले भाइलाई सधैँ हेरचाह गर्ने कसम खाए ।
“चिन्ता नलेऊ, म छु । मेरो तिमी छौ ।”
अबौद र अम्र दुई भाइ मिलेर इस्लामलाई आड दिएर आमाकहाँ लगे अन्तिम बिदाइका लागि । उनीहरूले बुबालाई भेट्न जाँदै गरेकी प्यारी आमालाई बिदाइ चुम्बन गरे ।
ती नै भाइले भने, “आराम लिनुस् आमा । बाबालाई हामी सम्झिरहन्छौँ भनिदिनुहोला ।”
त्यसपछि दुःखी मन लिएर उनीहरूले घर छोडे ।
हाना हसन अल–सबाखीसाल्ही आवासीय भवनमा उनकै घरमा मारिइन् । यो घर नुसरत शरणार्थी शिविरमा पर्छ । इजरायली सेनाले नोभेम्बर १५ को दिन सो भवनलाई तारो बनाएर बमबारी गरेको थियो । बमबारीमा हानाबाहेक अरू दुईको पनि मृत्यु भएको थियो ।
(हादील गाजाकी लेखिका हुन् ।)

स्रोत : इलोक्ट्रोनिक इन्तिफादा

सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *