भर्खरै :

आश्वासन

आश्वासन

“कृष्ण ! यसपटक तिम्रो कुनै हालतमा पनि हामी स्थायी गराई छाड्छौँ । तिम्रो इमानदारी र लगनशीलतालाई हामी सबैले कदर गरेका छौँ ।” अफिसबाट स्थायीको लागि विज्ञापन निस्केपछि एक हाकिमले कृष्णलाई फेरि आश्वासन दिए ।
“यसपटक पनि स्थायी नभए मेरो जिन्दगी नै गयो नि सर ! मेरो आफ्नो भन्ने कोही छैन । गर्ने नगर्ने तपाईँहरूकै हातमा छ ।” कृष्णले भने । उनी दस वर्ष काम गरिसकेका ज्यालादारी कर्मचारी थिए । इमानदार र लगनशील कर्मचारीहरूको नामावलीमा दर्ज गरिसकेको भए पनि स्थायी हुन नसकेका कृष्णलाई हाकिमको आश्वासन पनि चुनावको बेलामा नेताहरूले दिने आश्वासनजस्तो लाग्यो ।
पछिल्लो विज्ञापनमा उनी स्थायी हुनेमा धुक्क थिए । हाकिमहरूले त्यतिबेला भनेका थिए, “कृष्ण ! तिम्रो स्थायीको लागि मेनेजर साहेब र हामीले सिफारिस गरिसकेका छौँ । जीएम साहेबले पनि हुन्छ भनिसकेका छन् । अब तिमी धुक्क भए हुन्छ ।”
हाकिमहरूको आश्वासनले उनले कसैलाई पैसा र पावर लडाउन पर्ने आवश्यकता देखेनन् । मेहनत र लगनशीलताको परिणाम राम्रो नै हुन्छ भनी उनले सोचेका थिए । तर, परिणाम उल्टो निस्केपछि उनी आश्चर्यमा परे ।
धेरै माया गर्ने र स्थायी गरिदिने हाकिमको आश्वासन पाएका कृष्णको नतिजा उल्टो भएपछि सबै अचम्मित भए । तर, सागर निर्भिक भई सबैको अगाडि भन्ने गर्थे, “कृष्णले पैसा बुझाउन सकेनन् र भएन । लोकतन्त्र आएपछि मन्त्रीदेखि कर्मचारीसम्म सबै भ्रष्ट भएका छन् । लाखौँ लाख बुझाएर आएका हाकिमहरूले बिना पैसाले काम गर्दछ भनी सोच्नु मूर्खतामात्र हो ।”
आखिर भएको वास्तविकता त्यही थियो । त्यतिबेला सँगै काम गरेका र सँगै फाराम भरेका मदनले पनि भनेका थिए, “कृष्ण ! मैले भनेको मान्नुस्, हाकिमहरूको आश्वासनमा नलाग । हाम्रा हाकिमहरूले आश्वासन दिए पनि काम गर्ने मानिस अर्कै हो । त्यो थाहा छ तपाईँलाई ? त्यसको इतिहास र स्वभाव थाहा नभएको पनि होइन । मलाई पनि आश्वासन दिएका थिए हाकिमहरूले । तर, मैले खन्चुवाहरूले नखाइकन काम गर्दैन भनी सोचेर पैसाको बन्दोबस्ततिर लागे र मेरो भयो । नत्र कहाँ हुन्थ्यो मेरो मात्र ।”
स्थायी भएको अर्को एकजना साथीले पनि उसकै गल्ती देखाउँदै भने, “लोकतन्त्रको पर्याय भनेको पावर र पैसा हो । बिनापावर र पैसाले यहाँ केही काम हुँदैन । सानातिना हाकिमहरू आफ्नो काम गराउन आश्वासन दिन्छन् भने नेताहरू चुनाव जित्न आश्वासन दिन्छन् । आश्वासनमा विश्वास गर्नु भनेकै नै मूर्ख हुनु हो । हाकिमहरूको आश्वासनमा लागेर तपाईँले ठुलो गल्ती गर्नुभयो । ”
साथीहरूको कुराले उसले विकल्प खोज्नैपर्ने भयो । उसको अगाडि एउटै प्रश्न उठिरहयो, “के इमानदारी र लगनशीलताको विकल्प पावर र पैसामात्र हो ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *