भर्खरै :

सत्ता स्वार्थको लागि सिद्धान्त र विचार बन्धक राख्न नमिल्ने

सत्ता स्वार्थको लागि सिद्धान्त र विचार बन्धक राख्न नमिल्ने

काठमाडौँ, २७ पुस । नेपाली काङ्ग्रेस कम्युनिस्टविरोधी पार्टी हो । उसले पुँजीपतिवर्गको प्रतिनिधित्व गर्छ । कम्युनिस्ट पार्टी पुँजीपतिवर्ग या नेकाविरोधी पार्टी हो । उसले शोषितपीडित जनताको प्रतिनिधित्व गर्छ । यो कुरा नेकाका नेता र कम्युनिस्ट पार्टीका नेताहरूलाई राम्ररी थाहा छ । नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार मिल्दैन । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने नेकाले देशमा कम्युनिस्ट बढ्न दिँदैन, कम्युनिस्टको सरकार स्थापना गर्न दिँदैन । कम्युनिस्ट पार्टीले नेकालाई स्थान दिँदैन । तर, यहाँ सत्ता स्वार्थको निम्ति सिद्धान्त र विचार नमिल्ने ती नै पार्टीबिच गठबन्धन हुन्छ या भागबन्डा हुन्छ । नेका र कम्युनिस्ट पार्टी मिलेर बनेको गठबन्धनको सरकारले श्रमजीवीवर्गको प्रतिनिधित्व कसरी गर्छ ? सत्तारुढ कम्युनिस्ट पार्टीका नेता र मन्त्रीहरू कहिलेकाही नयाँ जनवाद र समाजवादी क्रान्तिको कुरा फुक्छन्; समाजवादी मोर्चाको कुरा फलाक्छन् । ती नै सत्तारुढ दलका नेता र मन्त्रीहरू गठबन्धनको सरकार भएकोले काम गर्न अप्ठेरो परेको, सोचेअनुसार काम नभएको भनी प्रायश्चित गर्छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी कम्युनिस्ट भनिए पनि ती दलमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको गन्ध देखिँदैन; कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार वर्गसङ्घर्षको बाटो आत्मसात गरेको देखिँदैन । कम्युनिस्ट पार्टी भनिए पनि पुँजीपतिवर्ग या पुँजीवादी व्यवस्थाकै बन्दोबस्तमा लागिरहेको कारणले पनि कम्युनिस्ट भनिने ती दलहरू नेकासँग मिलेका हुन् या घाँटी जोडेका हुन् । सिद्धान्त र विचारमा अडान या प्रतिबद्ध नभएका दलका नेताहरू छेपारोले झैँ छिनछिनमा रङ्ग फेर्छन्, अडान फेर्छन् र अवसरवादी राजनीति गर्छन् । नेकाले कम्युनिस्ट भनिने पार्टीलाई बोक्नुको कारण पनि सत्ता स्वार्थ नै हो । कम्युनिस्ट भनिने दलहरू मिलेर सत्ताबाट च्युत गर्ला भन्ने पिर नेकालाई नभएको होइन । कम्युनिस्ट भनिने पार्टीलाई जुधाएर नेकाले लड्डु झार्दै छ या फाइदा लुट्दै छ । सत्ता स्वार्थको यो राजनीति स्वच्छ र सही होइन । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको दाउ पनि त्यही हो । त्यसकारण, उनीहरू आ–आफ्नो दलको सिद्धान्त र विचारभन्दा सत्ता स्वार्थलाई ठुलो ठान्छन् र सत्ता स्वार्थको निम्ति सिद्धान्त र विचार बन्धक राख्छन् । यो लामो समयदेखि जनताले भोग्दै आएको राजनीतिक तस्बिर हो ।
सिद्धान्त र विचारको राजनीति नगर्ने या अडान नभएका दलका नेताहरू सत्ता स्वार्थमा धक्का पुग्ने बित्तिकै कहिले कोसँग कहिले कोसँग मिल्छन् ? थाहा हुँदैन । नेकालाई पन्छाएर एमाले, माओवादी र एकीकृत समाजवादी मिलेर सरकार बनाएकै हो । माओवादी र समाजवादीलाई पछार्न एमाले र नेकाको सरकार बनाउन पनि उनीहरू पछि पर्दैनन् । ठुला दलका नेताहरूको यो बहस, द्वन्द्व सबै सत्ता स्वार्थको निम्ति भइरहेको हो । काङग्रेस र कम्युनिस्टको के कुरा राजावादी दलसँग मिलेर सरकार गठन भयो, निर्वाचन लड्यो । के यो सत्ता स्वार्थ होइन ? यसरी सिद्धान्त र विचार नमिलेको दलसँग गठबन्धन गरेपछि सरकारको नेतृत्व जुन दलले गरे पनि राम्ररी काम गर्न सक्दैन; अहिले भइरहेको यही हो । त्यस्तो सरकारले कसरी सही निकास दिन सक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *