भर्खरै :

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव–२

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव–२

चौथो भ्रमण
२३ साउन – २ भदौ, २०५२ (Aug 8 – 18, 1995)

पार्टी सचिव का. ह्वाङसँग भेटघाट
ठीक ४ बजे कोरियाली मजदुर पार्टीका सचिव का. ह्वाङसँग अतिथि सदनको केन्द्रमा भेटघाट भयो । उहाँले अँगालो हाल्दै स्वागत गर्नुभयो र भन्नुभयो, “नेपाली जनता र भक्तपुरका जनताको स्वागत र न्यानोपन अहिलेसम्म ताजै छ । त्यस स्वागतलाई जीवनमा कहिल्यै बिर्सन्न ।”
कुराकानीको सिलसिलामा उहाँले हाम्रा पार्टीका नेता र कार्यकर्ताहरूको स्वास्थ्य, मेरो जहान (शोभा) र केटाकेटीको स्वास्थ्यबारे सोध्नुभयो । त्यसपछि उहाँले नेपालको वर्षा र खेतीपातीबारे सोध्नुभयो । यसपालि वर्षा र बाढीले कोरियामा ठुलो क्षति पु¥याएको र चीनमा पनि बालीनालीमा ठुलो नोक्सानी भएको कुरा उहाँले बताउनुभयो । उहाँको नेपाल र नेपाली जनताप्रतिको आत्मीयता देख्दा उहाँ साँच्चै आफ्नै परिवारका पाको मानिस लाग्थ्यो र उहाँमा पूर्वी सभ्यताको गहिरो छाप देखापथ्र्यो ।
आफ्नो देशको परिस्थितिबारे उहाँले सरल र स्पष्ट शब्दमा बताउँदै जानुभयो । पुरानो मित्रले अनुवाद पनि गर्दै जानुभयो, “हाम्रा महान् नेता का. किम इल सङको देहावसान हाम्रो देशमा बितेका वर्षहरूका सबभन्दा दुःखद घडी थियो । एक महिना अगाडि हामीले उहाँको वार्षिकी मनायौँ । जाँच भनेको दुःखमा हुन्छ । सारा जनताको यस दुःखको एक वर्षभरि का. किम जोङ इलले शोकलाई साहस र शक्तिको रूपमा बदली दिनुभयो । दुःखकै बेला जुछे विचारको पनि परीक्षा भयो । ३० वर्षसम्म महान् नेतासँगै काम गर्नुभएको हुनाले का. किम जोङ इलले दुःखको घडीमा पनि अझ ठुलो विश्वास र बल लिएर बढ्ने विश्वास जगाउनुभयो । अहिले कोरियाली जनताको निम्ति महान् नेता किम इल सङ नै का. किम जोङ इल हुनुहुन्छ । अहिले उहाँले जुछे विचारलाई नयाँ चरणमा पु¥याउनुभएको छ । शिक्षा, पार्टी, सशस्त्र सेना र सांस्कृतिक क्षेत्रमा ठुलो उपलब्धि हासिल भएको छ ।
बारम्बार उहाँलाई राष्ट्रपति बनाउने प्रस्ताव हुँदा पनि उहाँले मान्नुभएको छैन । जनताको काम गर्ने मानिसलाई पद र ओहदा नभए पनि केही फरक पर्दैन भन्दै उहाँले महान् नेता का. किम इल सङलाई सदा जनतासँगै राख्ने सुकार्यहरू गर्नुभएको हुँदा उहाँलाई अझ महान् बनाइदिएको छ ।
गहिरो सैद्धान्तिक ज्ञान, जनतालाई माया गर्ने पवित्र र उँचो नैतिकता, आफू माथिल्लो पदमा जान नचाहने भावना, पार्टी र सरकारी पदमा नबसे पनि नेतृत्व दिन सक्ने व्यक्तित्व हो भनेर सबै जनतालाई थाहा भयो । यसकारण, आज पार्टी, जनता र सेनाको माझमा एकता झन् सुदृढ भएको छ । स्वाधीनता, आत्मनिर्भरता र आत्मरक्षामै भरपरेको हुँदा हामी कोरियाली जनता दृढ र अचल छौँ, कोरिया अटल छ ।
निश्चय पनि भूतपूर्व सोभियत सङ्घ र पूर्वी युरोपका भूतपूर्व समाजवादी देशहरूको पतनले कोरियाको आर्थिक क्षेत्रमा पनि अवाञ्छनीय प्रभाव परेको छ । बाँकी भएका केही समाजवादी देशहरू पनि बजार अर्थतन्त्रमा फेरिएको छ । रणनीतिकरूपले व्यापार गर्ने देश गुमाएका छौँ । भारी उद्योग, हलुका उद्योग र सुरक्षासम्बन्धी उद्योगको बलियो जग बसिसकेको भए पनि अर्थतन्त्रमा केही अवरोध अवश्य पनि खडा भएको हो । देश अझै विभाजनको स्थितिमा रहेको र नाकाबन्दीले आर्थिक कठिनाइ भोग्नुपर्ने भएकोले नयाँ आर्थिक नीति अपनाइएको छ । त्यसको अर्थ हो – भारी उद्योगको साथै कृषि, हलुका उद्योग र विदेश व्यापारलाई महत्व दिने नयाँ अर्थनीति लागू गरियो । पुरानो कुरालाई एकै बिहान बदल्न सकिन्न तथापि नयाँ अर्थनीतिले उपलब्धि देखाउन सुरु पनि गरेको छ, अर्थात् त्यसको फाइदा देखिन थालेको छ । त्यस कार्यमा का. किम जोङ इल पनि लाग्दै हुनुहुन्छ ।”
देशको पुनःएकीकरण र अमेरिकासँगको सम्बन्धबारे उहाँले बताउनुभयो, “साँच्चै भनूँ भने अन्तर्राष्ट्रिय परिस्थितिको ठुलो हेरफेरले हामीलाई खास असर परेको छैन । हामी अहिले कोरियाको स्वतन्त्रताको ५० औँ दिवस मनाउँदै छौँ । देशको पुनःएकीकरणबारे महान् नेताले भन्नुभए जस्तै राष्ट्रिय एकता, शान्तिपूर्ण र स्वाधीनताको नीतिअन्तर्गत हुनेछ र बितेको वर्ष अक्टोबरमा संरा अमेरिकाले सम्झौतालाई कार्यान्वयन गरेन । यस साल जुलाईमा मलेसियाको राजधानी क्वालालम्पुरमा संरा अमेरिकाले कोरियाली प्रस्तावलाई स्वीकार गरेको छ ।”
रात्रिभोजमा
का. ह्वाङसँग देश–विदेशको कुराकानीपछि उहाँले निम्त्याउनुभएको रात्रिभोजमा अतिथि सदनको केन्द्रकै भोजन कक्षमा भाग लिएँ । उहाँले ‘दुई पार्टीको सम्बन्धको उत्तरोत्तर विकास, का. किम जोङ इलको सुस्वास्थ्य र का. नारायणमान बिजुक्छेको सुस्वास्थ्यको निम्ति’ टोस्ट प्रस्ताव राख्नुभयो र भोज सुरु भयो ।
बुद्ध धर्म, कन्फ्युसियस धर्म, भारत र चिनियाँ चटक (Mesmerism), जापानको धर्म, हाराकिरा (आत्महत्या गर्ने), तपस्या, आगोमा बसेर पनि नपोल्ने जस्ता आत्मालाई केन्द्रित गर्ने आदि विषयमा कुरा हुँदै गयो । मेरो कार्यक्रमको विषयमा कुरा उठ्दा निर्देशक का. लिले दिउँसो किम इल सङ विश्वविद्यालयको अवलोकनबारे बताउँदा उहाँले भन्नुभयो, “म २० वर्ष किम इल सङ विश्वविद्यालयको उपकुलपति थिएँ र त्यसपछि पार्टीमा काम गर्दै छु । मैले दुई ठाउँमा मात्रै काम गरेको छु ।” भोजको अन्तमा का. किम जोङ इलको सुस्वास्थ्य, का. ह्वाङको सुस्वास्थ्य र दुई पार्टीको सम्बन्ध विकास हुँदै जाने विश्वासमा टोस्ट प्रस्ताव राखेँ । नयाँ नयाँ कोरियाली परिकारहरू चाख्दै रात्रिभोज समाप्त भयो । का. ह्वाङलाई धन्यवाद दिई बिदा लिएँ ।
नेपालको निम्तो (२६ साउन, ०५२/11 Aug., 1995)
११ अगस्ट अर्थात् २६ साउनको ३ बजे अतिथि सदनमै कोरियाली मजदुर पार्टीको अन्तर्राष्ट्रिय विभागको उपमन्त्री र उपनिर्देशक किम योम कुन भेट्न आउनुहुने कुरा अगाडि नै खबर पाएको थिएँ । ठीक ९ बजे उहाँ तल बैठकमा आउनुभएको खबर पाएर म स्वागतको निम्ति तल गएँ । नामले नचिने पनि उहाँ पुरानै कामरेड हुनुहुन्थ्यो । मित्रतालाई नवीकरण गर्यौँ ।
उहाँले ५० औँ मुक्ति दिवसको बेला कोरियामा फेरि एकचोटि स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो र त्यसको जवाफमा ३ सेप्टेम्बरको दिन उहाँको नेपाल भ्रमणमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट पनि निम्तो दिएँ । उहाँले नेपाल मजदुर किसान पार्टी र भक्तपुरको बारेमा धेरै कुरा सुन्नुभएको र अब सेप्टेम्बर महिनामा नेमकिपाका कामरेडहरू र भक्तपुरका जनतासँग भेटघाट गर्ने मौका पाउने भएकोमा खुसी व्यक्त गर्नुभयो ।
देशविदेश, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, सैद्धान्तिक कुराहरू र दुई पार्टीबिचको सम्बन्धबारे कुराकानी भयो । कोरिया एकीकरणपछि कोरियाली जनताले ठुलो प्रगति गर्ने र हिजो पार्टी सचिव का. ह्वाङले भन्नुभएजस्तै नेपालको प्राकृतिक स्वरूपको कारण विकासको ठुलो सम्भावना छ भन्नुभयो ।
परिवार र साथीहरूको सुस्वास्थ्यको कामना गर्दै एक आपसमा बिदा लियौँ ।
ताइक्वोन्डो दरबार
पूर्वनिधारित कार्यक्रमअनुसार ५ बजे गाइडसँग ४०५ नम्बर कारमा ताइक्वोन्डो दरबार पुग्यौँ । कारका ड्रात्र का. मुन पहिलोचोटि त्यहाँ गएको हुनाले मूलढोका थाहा पाउन नसकेर फेरि घुमेर पस्नुपर्यो ।
ढोकामै अन्तर्राष्ट्रिय ताइक्वोन्डो सङ्गठनका अध्यक्ष लिक्वान चिनले हाम्रो स्वागत गर्दै भन्नुभयो, ताइक्वोन्डो अहिले १६० देशहरूमा अभ्यास गरिन्छ । ५० जवान खेलाडीहरू यहाँ अहिले अभ्यासरत छन् ।
ताइक्वोन्डोका एक महिला निर्देशिकाले त्यस ताइक्वोन्डो दरबार वा केन्द्रको परिचय दिँदै भनिन्, कोरियामा ताइक्वोन्डोलाई १९५५ देखि नयाँ ढङ्गले विकास गरिएको हो । यो खेल कोरियाको परम्परागत खेल हो । यो आत्मरक्षाको निम्ति सिकाइने खेल हो । हुन त यो कोरियाली प्राचीन सैनिक शिक्षा (Martial Art) भित्र पर्दछ । अहिले यसलाई सैनिक कला (Military Art) को रूपमा विकास गरेको छ । कोरियाली भाषामा (Tae) को अर्थ उफ्रने, लात हान्ने र खुट्टाले कुल्चिने अर्थमा लिइन्छ । क्वोन (Kwon) को अर्थ नाडीले थिच्नु र हान्नु (Piercing and crushing with fists) भन्ने हो र डो (Do) को अर्थ साहसलाई कायम राख्नु (Cultivating moral) हो ।
बुद्ध धर्मको प्रचारको सिलसिलामा गौतम बुद्धको मृत्युपछि भिक्षुहरूले चोर र डाँकुहरूको आक्रमणबाट आत्मरक्षाको निम्ति ताइक्वोन्डो सिकेका हुन्थे भन्ने कथाहरू सुनेको छु । अहिंसाका पुजारीहरूले हिंसा र हतियारबाट टाढा रहे पनि आत्मरक्षा भने गर्नै पर्दथ्यो ।
“यस ताइक्वोन्डो दरबार वा केन्द्रको उद्घाटन १९९२ मा राष्ट्रपति किम इल सङको समुपस्थितिमा भएको थियो । यो भवनको क्षेत्रफल १८,००० वर्गमिटर छ र यसमा जम्मा २४,००० स्थानहरू छन् । समुद्घाटनको बेला ६७ देशका खेलाडीहरूले भाग लिएका थिए,” महिला निर्देशिकाले भनिन् ।
ताइक्वोन्डो रङ्गशालामा प्रसारिकाले सबै विदेशी पाहुनाहरूको स्वागत गर्दै विभिन्न किसिमका ताइक्वोन्डोका खेलहरू प्रदर्शनको घोषणा गरिन् । ताइक्वोन्डोको प्रारम्भिक अभ्यासका अनेक मुद्राहरू, एकै जनाले ५ वटा सिसीहरू फुटाउने, आत्मरक्षामा केटीले केटामाथि प्रत्याक्रमण, एकैजना व्यक्तिले ५ वटा तारोमा हान्ने, टाउकोमाथि राखिएका इँटाहरू फुटाउने, उडेर तारोमाथि हान्ने, छुराबाट बच्ने, हात र दुबै खुट्टाले तारोहरूमा हान्ने, एकैचोटि ४–५ वटा तारोमा हान्ने, पाँचको विरोधमा एकले मुकाबिला गर्ने आदि अभ्यासहरू प्रदर्शित गरे ।
तारोको रूपमा फुटाएको काठका एक डेढ फिट वर्ग फूट र २ इन्च मोटो पाता हेर्दा खेल चटक होइन भन्ने लाग्यो । ग¥हौँ र बाक्लो काठ अनि विभिन्न किसिमका इँटाहरू पैतला, खुट्टाको औँला, मुक्का र नाडीले टुक्राउँदा र तिनीहरूको खेलको तीव्रताले ताइक्वोन्डो खेलाडीहरूलाई सतर्क, बलियो र फूर्ति तथा साहस प्रदान गर्ने देखिन्छ ।
खेलकुद नगरभित्रै ताइक्वोडो दरबार पनि पर्ने भएको हुँदा हामी पुनःनिर्मित सडकबाट अतिथि सदनतिर लाग्यौँ । त्यो सडकको चौडाइ १०० मिटरको छ र बाहिरबाट गाइड का. लिले पियानो कारखाना देखाए ।
निनो पास्ति गुठी
अतिथि सदन फर्केपछि इटालीका कामरेडहरूसँग उहाँहरूको अन्तर्राष्ट्रिय निनो पास्ति गुठी (International Nino Foundation) बारे र इटालीका राजनैतिक पार्टीहरूबारे कुराकानी गरेँ । निनो पास्ति गुठी क्युवा, कोरिया, लिबिया, कुर्दमा भएको नाकाबन्दी, जर्मनीका प्रगतिशील बन्दीहरू र प्यालेस्टिनीहरूको पक्षमा गरिने एक अभियान वा आन्दोलन हो भनी बताए । निनो पास्ति शान्ति र जनताको स्वाधीनताको निम्ति स्थापित संस्था हो र लिबियामाथि लगाइएको आर्थिक नाकाबन्दीको विरोधमा अप्रिल १२ को दिन माल्टाबाट त्रिपोलिको निम्ति एक जहाज बिदा भएको एक पर्चा पाएँ । त्यो अन्तर्राष्ट्रिय सङ्घर्ष प्रस्तावमा अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्ष हो, त्यस गुठीले क्युवा, इराक, कोरिया आदि देशमाथि संयुक्त राज्य अमेरिकाको इसारामा गरेका अनेक नाकाबन्दीहरूको निम्ति संरा सङ्घ र सुरक्षा परिषद्को पनि विरोध गरेको छ ।
इटालीमा राजनैतिक पार्टीहरूको नाम भन्नुभन्दा उनले दक्षिणपन्थीहरू अहिले सत्तामा रहेको, तिनीहरू नात्सीवादी हुनु, सा¥है कम मतले मात्रै विजय भएका, दक्षिणपन्थी समाजवादी पार्टी, दक्षिणपन्थी क्याथोलिक पार्टी त्यस मोर्चामा भएको बताए । प्रगतिशील वाममोर्चामा नाम फेरिएको कम्युनिस्ट पार्टी (संशोधनवाद) – प्रजातान्त्रिक पार्टी, वामपन्थी क्याथोलिक पार्टी, हरित पार्टीजस्ता सुधारवादीहरू प्रगतिशील मोर्चाको नाउँमा छन् । पुँजीवादको विकास भइसकेपछि इटालीमा दुई मुख्य पार्टी नै अगाडि छन् र निर्वाचनको अप्ठेरो नियमहरूकै कारणले पनि अन्य स–साना पार्टीहरू ती दुवै पार्टीहरूमध्ये एकसँग संयुक्त मोर्चा गर्न बाध्य भएका छन् – इटालीका साथीले बताए ।
मानव इतिहासको एक उज्ज्वल तारा (२७ साउन २०५२/12 Aug, 1995)
आज प्योङयाङको आकाश बादलले ढाकेको छ । नजीकका केही अग्ला घर, धरहरा र कारखानाका एक दुई चिम्नीमात्रै देखिन्छन् । अतिथि सदन हरियालीले धपक्क ढाकेको थियो । घाम नलागेको हुँदा सहन सक्ने गर्मी र पातलो घाम छ । ८१४५ मा विदेशी पाहुनाहरू भएको बस कुमसुसान स्मृति भवनतिर गुड्यो । विदेशी मित्रहरू आज गम्भीर देखिन्छन् । दुई तीनचोटि राष्ट्रपति भवनको रूपमा भ्रमण गरेको, का. किम इल सङसँग भेटघाट गरेको र उहाँसँग अति भव्य राजकीय रात्रिभोजमा भाग लिएको त्यो भवन आज एक वर्षपछि उहाँकै समाधिस्थल वा स्मृति भवनमा परिणत भएको छ । मनमा कता कता शोक र विषाद छाएको थियो । उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न आउनेहरूको लाम लामो थियो, तर त्यहाँको वातावरणमा मौनता र शोक छाएको थियो ।
विशाल बगैँचाजस्तो आँगन अहिले ठुलो सभा गर्न हुने चोकमा फेरिएको छ । पश्चिमको द्वारको होइन अब हामी उत्तरको द्वारको आँगनमा उभियौँ । नेपालका मन्दिरहरूमा बनाएका जस्ता खुड्किलाहरूमा पाइला टेक्नुभन्दा अघि हाम्रो खुट्टा पानी भएको पाउपोश धुने खालको सफा रबरमा टेकेर अगाडि बढ्छ । यो पूर्वेली समाजमा पवित्र स्थानमा जाँदा हात खुट्टा धुनु जत्तिकै हो ।
ठीक ९ः०० बजे द्वार खुल्यो । मान्छेको शरीरको भन्दा दोब्बर बढी ठुलो सेतो स्फटिकको किम इल सङको सालिकको अगाडि लाम लागेर पालैपालो आफ्नो टाउको झुकाएर श्रद्धालुहरूले श्रद्धाञ्जली व्यक्त गरे । त्यसपछि लहरै विस्तारै माथिल्लो तलामा राखिएको उहाँको पार्थिव शरीरको कक्ष अथवा समाधिस्थलमा पुग्यौँ । भुइँको रङ्ग कालो चम्किलो थियो भने छतको रङ्ग हलुका सुन्तला रङ्ग थियो । भित्ताहरू सेतो रङ्गको थियो । चीर निद्रामा महान् नेता का. किम इल सङ !
अन्तिम सलाम र श्रद्धाञ्जली दिँदै हामी तल झर्यौँ । कोरियाली जनताको आँखामा अझै आँसु सुकेको थिएन । शोक विह्वल जनता देखर एकछिन सबैलाई भावुक बनायो । शोक पुस्तिकामा लेखेँ, “का. किम इल सङ संसारका महान् क्रान्तिकारीहरूमध्ये एक हुनुहुन्छ । मानव जातिको इतिहासमा उहाँ एक उज्ज्वल ताराको रूपमा जगमगाइरहनु हुनेछ । कोरियाली इतिहासमा उहाँ एक अतुलनीय देशभक्त, अजेय सेनानायक, अचुक रणविद् र महान् क्रान्तिकारी हुनुहुन्छ । विश्व कम्युनिस्ट आन्दोलनमा उहाँ एक हस्ति (थाम) हुनुहुन्छ । जुछे विचारधाराका प्रणेता, उहाँ एक विचारक, महान् र माक्र्सवादी–लेनिनवादी हुनुहुन्छ । भूतपूर्व सोभियत र पूर्वी युरोपेली देशहरूमा समाजवादको पतनपछि उहाँले समाजवादको रातो झन्डालाई अझ माथि उठाउनुभयो र उहाँले संसारको सबै कम्युनिस्ट, मजदुर तथा क्रान्तिकारी पार्टीहरू र जनतालाई अझ उत्साहित गरी राख्नुभयो । प्योङयाङ घोषणापत्रको निम्ति उहाँको योगदान सदा अमर रहनेछ । नेपाली जनताका महान् मित्र का. किम इल सङलाई लाल सलाम र श्रद्धाञ्जली !”
भवनको द्वारमाथि उहाँको सुन्दर हँसिलो तस्बिर सजाइएको थियो । पश्चिमी द्वारको दायाँ–बायाँ ठुलठुला अक्षरले लेखिएको थियो – महान् नेता का. किम इल सङ सदा हामीसँगै रहिरहनुहुनेछ ।
भवनको भव्यताले फेरि मैले विश्वकर्मालाई सम्झेँ । का. किम इल सङको समाधि वा स्मृति भवनको निम्ति कोरियाली पार्टी र जनतामा ठुलो छलफल र विचारको आदानप्रदान गरेको बताइयो । केहीले रुसमा लेनिन र स्तालिनकै जस्तै र चीनमा माओ त्सेतुङको जस्तै अलगै भवन बनाउने रायहरू दिएका थिए र का. किम जोङ इलले यही राष्ट्रपति भवनमै उहाँको कार्यकक्षमै उहाँको समाधि कक्ष बनाउने राय दिनुभयो । अत्यन्त धेरै पार्टी नेता, कार्यकर्ता, पदाधिकारी र व्यापक जनताले यही रायलाई उत्कृष्ट माने । यसकारण, यसैलाई स्मृति भवन बनाइएको हो ।
त्यस कोठालाई घाम वा शीतबाट बचाउन भवनको भित्री भाग र कक्षलाई पुनःनिर्माण गरिएको रहेछ । पस्नासाथ कृत्रिम हावाले चिसो लागे पनि पार्थिव शरीर राखिएको कक्षमा त्यस्तो कुनै अनुभव हुन्न । पारदर्शक शिशाको खोलमा राखिएको पार्थिव शरीर शान्तपूर्वक चिर निद्रामा लीन भएको अनुभव हुन्थ्यो ।
अतिथि सदन फर्केपछि तल रेडियो कोरियाको प्रसारण केन्द्रको समितिका साथीहरू पर्खिरहेको खबर आयो । पाक चां गिल र अरु एकजना कामरेडलाई स्वागत गरेँ । उहाँहरूले यसपालिको कोरिया भ्रमणको बारेमा मेरो विचार भन्न आग्रह गरे ।
भव्य राष्ट्रिय पुनःएकीकरण अभियान
५ः३० बजे अतिथि सदनबाट विजयद्वार पुग्यौँ । दक्षिण कोरिया, जापान, क्यानाडा, संरा अमेरिका, चीन, रुस आदि समुद्रपार वा प्रवासमा रहेका कोरियाली सङ्गठनहरूका प्रतिनिधिहरू एवं भारत, श्रीलङ्का, लावस, मङ्गोलिया, माल्टा, फ्रान्स, स्पेन, इटाली, हल्यान्ड, बुरुन्डी, स्वीट्जरल्यान्ड र अस्ट्रेलिया आदि देशका कोरियामैत्री सङ्घ एवं कोरिया पुनः एकीकरण सहयोग समितिका प्रतिनिधिहरू उपस्थित थिए । दक्षिण कोरियाका युवा लीग, जापान र अन्य देशका कोरियाली टोलीहरूले आ–आफ्नो बाजागाजासमेत लिएर आएका थिए । उत्तर कोरियाका पुनः एकीकरण समितिका पदाधिकारीहरू र अन्य युवा, विद्यार्थी तथा कारखानाका टोलीहरू आ–आफ्नो ध्वजापताकासहित उपस्थित थिए ।
बैन्ड बाजा बजाएका युवा टोलीहरू, जापान र दक्षिणमा रहेका कोरियाली युवा र नाचगान टोलीहरू, विभिन्न देशका प्रतिनिधिहरू र अन्य सबै टोलीहरूको मार्च (यात्रा) ६ बजे सुरु भयो । सडकको दायाँ बायाँ हजारौँ हजार सङ्ख्यामा उपस्थित भई फूलको गुच्छा र पुनःएकीकरण सम्बन्धी नारा लेखिएका झन्डाहरू हल्लाउँदै ‘कोरिया एक हो’, ‘पितृभूमिलाई एक गरौँ’ भन्ने नारा लगाइरहेका थिए । पुरै एक घण्टाको मार्च (यात्रा) मा सडकका बिचमा स्कूलका बैन्ड बाजा बजाउँदै गरेका छात्रछात्राहरूको टोलीहरू कोरिया एकीकरणको उत्सव मनाइरहेका थिए । केटाकेटीदेखि बुढाबुढीसम्मको मुख पुनःएकीकरणको आशाले उज्यालो थियो । युवाहरूमा ठुलो उत्साह र जोश थियो । एक डेढ घण्टाको यात्रामा सडकका दुबैतिर लाखौँ लाख कोरियाली जनताले अभिवादन गर्दै थिए ।
कोरियाली राष्ट्रपिता किम इल सङको ठुलो सालिक भएको मानसुडे पहाडमा गएर मार्च एक जनसभामा परिणत भयो । का. किम इल सङको सालिकमा विभिन्न देशका प्रतिनिधिमण्डलका सदस्य र टोलीहरूले फूलको टोकरी र फूलको गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरे ।
कोरियाको राष्ट्रिय धुनबाट सभा सुरु भयो । भव्य राष्ट्रिय पुनःएकीकरण महोत्सव तयारीका अध्यक्ष, दक्षिण कोरियाली प्रतिनिधि, जापानमा बस्ने कोरियाली टोली तथा अन्तर्राष्ट्रिय पुनःएकीकरणको तर्फबाट फ्रान्सका का. गुए दुप्रेले क्रमशः बोल्नुभयो । अन्तमा एक प्रस्ताव प्रस्तुत भयो र सभाले ताली बजाएर त्यसलाई पारित पनि गर्यो ।
मार्च (यात्रा) को बिचमा सिमसिमे पानी पर्दै थियो – फूल बर्सेजस्तै सगुनको ! अन्तमा, एकछिन राम्रै पानी प¥यो – निथ्रुक्क भिज्ने गरी । सभा भइरहँदा पनि बिचबिचमा पानी पर्दै थियो । कागज भिज्ने डरले वक्ता र पत्रकार तथा तस्बिर खिच्नेहरूले मात्रै छाता प्रयोग गरेका थिए । कोरियाको पुनः एकीकरणप्रतिको दृढता, जोश, जागरण र उत्साह उल्लेखनीय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *