भर्खरै :

भक्तपुर नगरपालिकाको पन्ध्रौँ नगरसभा सम्पन्न

भक्तपुर नगरपालिकाको पन्ध्रौँ नगरसभा सम्पन्न

भक्तपुर, ३ माघ । भक्तपुर नगरपालिकाको पन्ध्रौँ नगरसभा बुधबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको पन्ध्रौँ नगरसभाको बुधबारको बैठकले भक्तपुर नगरपालिकाको नगर प्रहरी ऐन २०७५, भक्तपुर नपा शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५ र भक्तपुर नपाको शिक्षा ऐन, २०७४ मा संशोधन गर्न बनेको विधेयक प्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । उक्त बैठकले सभाका उपाध्यक्ष एवं उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत भक्तपुर नपाको बजेट रकमान्तरसम्बन्धी प्रस्ताव पनि पारित ग¥यो ।
नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष प्रजापतिले उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, अतिथि, राजनैतिक तथा सामाजिक अगुवा, बुद्धिजीवी, मजदुर, उद्योगीका साथै नगरसभा अवधिभर सहयोग गर्ने जनप्रतिनिधि र कर्मचारीलगायतमा धन्यवादज्ञापन गर्नुभयो ।
उहाँले नगरसभालाई सभाको रूपमा मात्र नभई वैचारिक र राजनैतिक स्तर उकास्ने थलोको रूपमा अभ्यास गरिरहेको धारणा राख्नुभयो ।
वि.सं. २०३१ साल माघ १० गते स्थापना भएको नेपाल मजदुर किसान पार्टी स्थापनाका आधारहरूबारे प्रस्ट पार्दै उहाँले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अवलम्बन गर्दै सामन्तवाद, पुँजीवाद, उपनिवेशवाद र साम्राज्यवादविरूद्ध अविचलित रूपमा सङ्घर्षरत रहेको बताउनुभयो ।
बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक सुरक्षाको आन्दोलनजस्ता किसान आन्दोलनको जगमा उठेको नेमकिपा महँगी र भ्रष्टाचारविरोधी आन्दोलन गर्दै देशको राजनैतिक आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गर्दै प्रमुख प्रजापतिले चुनावलाई जनताको राजनैतिक र सांस्कृतिक स्तर उठाउने एक राजनैतिक सङ्घर्षको रूपमा उपयोग गर्दै आएको बताउनुभयो ।
नगरसभाको विशेष समयमा सभासद्हरू मन्जुमैंया लाखा, रीता फसिकवा, कल्पना शिल्पकार, हेरा ख्याजु, जितेन्द्र मुनंकर्मी, नारायणप्रसाद त्वानाबासु, पुरूषोत्तम तमखु, हरिरत्न गोर्खाली, श्यामसुन्दर मातां, इन्द्रबहादुर प्याथ, सूर्यप्रसाद श्रेष्ठ, राजकुमार शिल्पकार, कृष्णसुन्दर प्रजापति, सिद्धिराम अवाल, कृष्णलाल किसी र गोविन्द दुवालले स्थानीय, नगर र नगरवासीहरूको समस्या, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा बोल्नुभयो ।
सभामा उठेका जिज्ञासामाथि सहकारी तथा लेखा समितिका संयोजक हरिप्रसाद बासुकला, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, कृषि समितिका संयोजक राजकृष्ण गोरा, निर्माण समितिका संयोजक उकेश कवां र शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य एवम् वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्वले प्रस्ट पार्नुभयो ।
२०८० पुस २५ गतेबाट सुरू भई माघ ३ गते सम्पन्न भक्तपुर नपाको पन्ध्रौँ नगरसभाले ‘शिक्षक, बालबालिका सहजकर्ता तथा विद्यालय कर्मचारी कामकाजमा खटाउने सम्बन्धी कार्यविधि २०८०’ सर्वसम्मतिबाट पारित ग¥यो भने भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ २०६५ र ख्वप कलेज अफ ल २०८०, ख्वप कलेजको विनियम २०६५, ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ को विनियम संशोधन प्रस्ताव सर्वसम्मतिबाट पारित ग¥यो । सभाले भक्तपुर नगरपालिकाको नगर प्रहरी ऐन २०७५, भक्तपुर नपा शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५ र भक्तपुर नपाको शिक्षा ऐन, २०७४ मा संशोधन गर्न बनेको विधेयक प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *