इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
दोस्रो खण्ड (३ भाद्र २०५२–११ भाद्र २०५२)
तानयाङ नगरतिर
८ भदौ २०५२ शुक्रबार (25 August, 1995) बिहान ८ः१५ बजे हामी तानयाङ नगर (Danyang City) मा रासायनिक मल कारखाना हेर्न नानकिङबाट गयौँ । तानयाङ नगर पुग्न चेनच्याङ नगर (ZHENJIANG Municipality) भएर जानुपर्ने रहेछ । यसकारण, हामी चेनच्याङ नगर पुग्यौँ । त्यसबेला १०ः१५ बजेको थियो । हामीले झन्डै ४० किलोमिटर भन्दा बढी नाघ्यौँ ।
मोटर चेनच्याङको एक मुख्य होटेलमा गएर रोकियो । त्यहाँ हामीलाई चेनच्याङ नगरको जनसरकारको विदेश मामलाका निर्देशक र विदेशी देशहरूसँग मैत्री सङ्घको उपाध्यक्ष र भूतपूर्व मेयर चोउ छिमिङ (ZHOU QIMING, Director of Foreign Affairs office of ZHENJIANG Municipal People’s Government, Vice President of ZHENJIANG Peoples Association for Friendship with foreign Countries) सँग परिचय गराइयो । चेनच्याङ नगरपालिकाको विदेश विभागका विभागीय प्रमुख (YUAN RU SONG, section chief, The Foreign Office of Zhenjiang Municipality) याङ रु सोङले ढोकामा हाम्रो स्वागत गर्नुभयो र हामीलाई तानयाङ नगरको जनसरकारको विदेश विभागको निर्देशक लु चेङ पिङ (Director LU ZHENG PING, The Foreign Affairs office of the People’s Government of Danyang city) र तानयाङ नगर जनसरकारको विदेश मामलाको विभागीय प्रमुख काउ लिसिन (Section Chief Cao Lixin, Foreign Affairs office Danyang Municipal People’s Government) सँग परिचय गराउनुभयो ।
अर्को कोठामा गएपछि चेनच्याङ नगर जनसरकारको विदेश मामलाको निर्देशक र विदेशीसँग मैत्री कायम गर्ने सङ्घका उपाध्यक्ष र भूतपूर्व मेयर चोउ छिमिङ (ZHOU QIMING) ले नेपाली पाहुनालाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो र त्यस मल कारखानाका प्रबन्धक हे सु कुन (HE SHU KUN) सँग पनि परिचय गराउनुभयो ।
चोउ छिमिङले भन्दै जानुभयो, “तपाईँ आज यस क्षेत्रको तीनवटा नगर हँुदै जानुहुनेछ । चेनच्याङ नगरको जनसङ्ख्या २५ लाख छ र क्षेत्रफल ३,००० वर्ग किलोमिटर छ । यो समुद्र किनारसँग पनि जोडिएको छ । त्यस बन्दरगाहमा ४०–५० लाख टनको जहाजसम्म आवत–जावत गर्न सक्छ र वर्षमा २ करोड टन सामान आयातनिर्यात गर्दछ । प्राचीनकालदेखि बन्दरगाह र जहाजको यात्रामा नाम चलेको याङसी नदीको तेस्रो मुख्य बन्दरगाह र पेचिङ तथा शाङ्घाईजस्ता प्रमुख औद्योगिक व्यापारिक एवं राजनैतिक केन्द्रसँग यसको सीधा रेल तथा सडक मार्गबाट जोडिएको छ । चेनच्याङ उद्योग, पर्यटन र शिक्षामा अगाडि छ । रासायनिक, कपडा, रेशम, मेसिनरी, बिजुलीसम्बन्धी कारखाना आदि यसका मुख्य उद्योगहरू हुन् । पत्थर कोइलाबाट बिजुली उत्पादन गरिन्छ ।
यहाँ सिङसान बिहार (मन्दिर) र तीन अधिराज्यका ऐतिहासिक स्मारक तथा अन्य दर्शनीय ठाउँहरू छन् । जापान, सिङ्गापुर र दक्षिण–पूर्वी एसियाका अन्य मित्रहरू बरोबर त्यस विहारमा तीर्थयात्रा गर्न आउँछन् । अस्तिमात्र ९१ वर्षको एक भिक्षु (उपासिका) सिङ्गापुरबाट आउनुभएको थियो ।
शिक्षा र संस्कृत्तिको क्षेत्रमा पनि चेनच्याङ अगाडि छ । यहाँ ६ वटा विश्वविद्यालय छन् । उद्योग, जहाज निर्माण, चिकित्सा आदि विभिन्न विषयका विश्वविद्यालयहरू बढी प्रसिद्ध छन् ।
आर्थिक क्षेत्रमा खुला र सुधारको नीति लिएपछि चेनच्याङले बढी प्रगति गर्न सकेको छ । यहाँ २००० भन्दा बढी संयुक्त लगानीको योजना कार्य भइरहेको छ र ५ अर्ब डलर यहाँ लगानी हँुदै छ । ताइवानको एक कम्पनी एक्लैले २० लाख टन सिमेन्ट उत्पादन गर्छ । चेनच्याङमा ढुङ्गाका पहाडहरू भएको हुनाले सिमेन्ट कारखानामा धेरै विकास भएको हो ।
जापान, ब्राजिल, टर्की, क्यानाडा, सिँगापुर, थाइल्यान्ड अब नेपालजस्तो दक्षिणपूर्वी एसियाका अन्य नगरहरूसँग पनि यसको भगिनीको सम्बन्ध छ ।
कुराकानीमै १०ः३० बज्यो । एकछिन आराम गरेर हामी तानयाङ नगरको मल कारखाना हेर्न गयौँ । तर, त्यहाँदेखि रातो बत्ती बल्ने र माइकबाट खबरदारी गर्ने प्रहरी भ्यान अगाडि–पछाडि राख्दै हाम्रो ५–६ वटा मोटरको यात्रा सुरु भयो । नानकिङ नाघेपछि नै हाम्रो पछाडि एउटा प्रहरी कार आइरहेको रहेछ ।
तानयाङको रासायनिक मल कारखाना
प्रहरी गाडीले अन्य यातायातका साधनहरूबिच बाटो बनाउँदै द्रुततर बेगमा हाम्रो दललाई लग्यो । अन्य एउटा ठाउँको कार्यक्रममा समेत जानुपरेको हुनाले १५ मिनेटभित्र हामीले ४० किलोमिटर पार गर्याैँ र १०ः४५ मा हामी कारखाना पुग्यौँ । कारखानाको मुख्यद्वारमै नेपाली मित्रलाई स्वागत भनी ठुलठुला अक्षर लेखिएको थियो । कारखानाको ढोकादेखि नै टी.भी. र अन्य समाचार माध्यमका प्रतिनिधिहरू बसेका थिए । तानयाङ नगरका जनसरकारका उपमेयर उ चि यो (WU ZHI YOU, Vice Mayor, The People’s Government of Danyang City, Jiyangsu Province) ले नेपाली पाहुनालाई स्वागत गर्न तयार भइरहेको बताउनुभयो ।
तानयाङ नगर जनसरकार र कारखानाका अन्य पदाधिकारीहरूको परिचय गराउँदै उपमेयर उ चि योले आफ्नो नगरको परिचय दिँदै जानुभयो, “तपाईँको आगमनबारे प्राचीन नगरका ८ लाख जनतालाई हामीले सूचना गरेका छौँ, हामीले तपाईँको यात्रालाई ठुलो महत्व दिएका छौँ । तपाईँको चीनको भ्रमण र बसाइँ सुखमय र रमाइलो होस् र तपाईँको सुस्वास्थ्यको कामना गर्दछौँ ।” औपचारिक कुराकानीपछि मल कारखानाका विषयमा कुराकानी भयो ।
तानयाङ रासायनिक मल कारखानाका महाप्रबन्धक हे सु कुन (HE SHU KUN) ले आफ्नो कारखानाको बारेमा बताउन सुरु गर्नुभयो, “कारखानाको तर्फबाट यहाँ काम गर्ने जनता र कामदारहरूको तर्फबाट पनि म तपाईँलाई यस कारखानामा स्वागत गर्दछु । यो कारखाना तीन तहमा विकास भएको हो । यसको स्थापना १९५८ मा भएको थियो । सुरुमा यसले २००० टनमात्रै मल उत्पादन गर्दथ्यो । १९७० मा यसले थप विकास ग¥यो र १९७० पछि यसले पेट्रोलबाट पनि रासायनिक मल बनाउन थाल्यो । अहिले यसमा काम गर्ने मजदुरहरूको सङ्ख्या १९५० छ र यसको पुँजी १ अर्ब २० करोड युआन छ । यस कारखानाले जम्मा १५ किसिमको मल उत्पादन गर्छ । दोस्रो स्थितिमा यसले ९०,००० टन उत्पादन गर्दथ्यो । अहिले यसले २४ सै घण्टा अर्थात् ३ पालो काम ग¥यो भने १ करोड ५० लाख टन उत्पादन गर्ने क्षमता राख्छ । यो देशको मध्यम वा सानो उद्योगमा पर्दछ । यसको आफ्नै ३ देखि ६००० किलोवाट बिजुली निकाल्ने कारखाना छ । १ किलोमिटरको आफ्नै रेल छ । प्राविधिक कामदार ४०० जवान छन् । हाम्रो देशको नवौँ योजनाअनुसार यस कारखानाले एक अर्ब १५ करोड युआनको आफ्नो उत्पादन बेच्ने लक्ष्य राखेको छ ।
१९७०–८० भित्रमा यसले ३०,००० क्युविक मिटर रासायनिक प्लेट बनाएको थियो । यस वर्षको अक्टोबरसम्ममा यसले २० करोड युआनको उत्पादन गर्नेछ । यो देशको ६ वटा नाउँ चलेको कारखानामध्ये एक हो र यसको मल किसानहरू सा¥है मनपराउँछन् ।”
मल केको बन्छ र कसरी बन्छ भन्ने मेरो जिज्ञासालाई महाप्रबन्धक हे सु कुनले यसरी स्पष्ट पार्नुभयो, “यो पत्थर कोइलाको कच्चा मालबाट बन्छ । यसको विषालु पदार्थलाई हटाउँछ र एमोनिया उत्पादन गर्दछ । अनि त्यसलाई वा अन्य वस्तुसँग रासायनिक प्रक्रियामा लैजान्छ । (द्वेभाषीलाई नेपाली प्राविधिक शब्दहरू आएन ।) १ टन मल उत्पादन गर्न १३०० वाट विद्युत् शक्ति चाहिन्छ । वर्षमा यस कारखानाले मल उत्पादन गर्न १ करोड ३० लाख किलोवाट विद्युत् उपभोग गर्छ ।”
यहाँको मलको मूल्य आदिबारे सोध्दा उहाँले भन्नुभयो, ५० किलो एमोनिया मल भएको एक बोरालाई सालाखाला २५ युआन अर्थात् २०० रूपैँया वा ४ अमेरिकी डलर पर्दछ ।
यहाँको मलमा १७ प्रतिशत नाइट्रेट र बोराको जम्मा भार ५० किलो हुन्छ ।
कुराकानीपछि हामी कारखाना हेर्न गयौँ । कोइलाको विषालु पदार्थ झिक्ने, अन्य पदार्थ मिलाउने, फोहर पानी सफा गर्ने र चिसो पार्ने, मल बोरामा आउने आदि प्रक्रियाहरू हे¥यौँ । मलको कारखाना पनि सा¥है गन्हाउने रहेछ ।
पेट्रोलियमबाट बन्ने मल कारखानाको स्थापना गर्न चाहिने मूल्यबारे सोध्दा ८० लाख डलर वा ६ करोड युआन पर्छ भन्ने अनुमान गरियो ।
१९६० मा मैले शाङ्घाईमा कागज कारखाना हेरेको थिएँ, पछि चिनियाँ सरकारकै सहयोगबाट नेपालमा कागज कारखाना खोलियो । पहिलो चोटि रासायनिक मल कारखाना हेर्न पाउँदा मलाई सा¥है खुसी लाग्यो । चीनसितको संयुक्त लगानीमा भए पनि तानयाङको जस्तो रासायनिक मल कारखाना नेपालमा खोल्नु आवश्यक छ भन्ने मलाई लाग्यो । नत्र, हामी नेपाली जनता र किसानहरूले हरेक वर्ष र हरेक मौसममा मलको अभाव र हाहाकार झेल्दै जानुपर्नेछ । कृषिप्रधान देशमा रासायनिक मलमा आत्मनिर्भर नभई कृषिको यथोचित विकास कसरी सम्भव हुन्छ भन्नेबारे सदन र सडकमा प्रश्न उठिरहेकै थियो ।
कारखानाको अवलोकनपछि हामी कारखानाकै अतिथि भवनमा एकछिन आराम गर्न गयौँ र कारखानाकै भान्छाघरमा खाना खायौँ । मेरो प्रश्नहरूको उत्तर दिँदै उपमेयर उ चि योले भन्नुभयो, “मेरो वार्षिक भत्ता पनि यस कारखानाको महाप्रबन्धककै जस्तै ७–८ सय युआन मात्रै पुग्छ, हामी त राजनैतिक कार्यकर्ता हाँै । देशमा २४०० जिल्ला छन् । त्यसमध्ये उत्पादन, पुँजी, शिक्षा, संस्कृति आदि हेर्दा यो ३६ नम्बरमा पर्दछ । आम्दानी कर, अन्तशुल्क, खुद्रा कर, सञ्चालन कर, उत्पादन कर आदि नै नगरपालिकाको आम्दानीको स्रोत हो । स्थानीय कर २० प्रतिशत लिइन्छ ।”
यस्ता कुराहरू मनमा खेलाउँदै तानयाङ मल कारखानाका मित्रहरूसँग बिदा लिएर हामी १२ः३० बजे ‘चीया फाई’ भन्ने गाउँ हेर्न गयौँ । अगाडि मोटर भ्यान र अन्य ४–५ वटा गाडी बेतोडले गुड्न थाल्यो । मोड मोडमा प्रहरीहरू वाकीटाकी लिएर तैनाथ थिए । गाउँ र बस्ती हुँदै हाम्रो दल बढ्दै गयो ।
चीया फाई गाउँ
नयाँ आर्थिक सुधार र खुला नीतिपछि विकास गरेको गाउँमध्ये यो गाउँ पनि एक मानिन्छ । ५ वटा नगर हेर्दै हामी २ः४५ बजे त्यस गाउँमा पुग्यौँ । वास्तवमा अब यो गाउँ नभनी नारायणघाट, हेटौँडा, महेन्द्रनगर, राजविराजभन्दा राम्रो र व्यवस्थित नगर भन्नुपर्दछ ।
त्यस गाउँको उपप्रधान लिले हाम्रो स्वागत गर्नुभयो र आफ्नो गाउँको प्रगतिबारे भन्नुभयो, “१९९२ को आधा आधीमा यहाँ आर्थिक सुधार र खुला नीतिअन्तर्गत काम सुरु भएको हो । सानो पुँजीबाट काम सुरु गरिएको थियो । आज यस गाउँको प्रतिव्यक्ति आम्दानी ३,००० युआन छ । यसको जनसङ्ख्या १९,००० छ । यहाँ एकजनालाई ४०० देखि ६०० वर्गमिटर खेतीको निम्ति जग्गा उपलब्ध छ । जग्गा सरकारको हो र हरेक किसानलाई केही रकम लिएर निजी काम गर्न दिइएको छ । यस गाउँलाई ‘प्रतिनिधि गाउँ’ भनिए तापनि यो नमुना गाउँ होइन तर १ देखि ६ स्तरमध्येको यो पनि एक गाउँ हो । चेनच्याङ क्षेत्रमा भने यो गाउँ अगाडि छ । अहिले यस गाउँमा उद्योग, पानी, आवास क्षेत्र, बिजुली, व्यापार, बैङ्क, शिक्षा, संस्कृति र यातायात तथा सञ्चारको राम्रो प्रबन्ध छ ।
२५ प्रतिशत गाउँमा यातायात पुगेको छ । ४० किलोमिटर नयाँ सडक सुविधा उपलब्ध भएको छ । ३८ प्रतिशत किसानहरूले मोटर प्रयोग गर्छन् । १९९५ जुलाईमा टेलिफोन वितरण भएको थियो, ११०० घरमा टेलिफोन छ, हरेक घरमा बिजुली र टी.भी. छ, ६० देखि ८० प्रतिशत किसानहरू ग्याँसबाट खाना पकाउँछन् । यहाँ निजी ट्याक्सी कम्पनी छ । अहिले २५ प्रतिशत किसानहरूसँग दुईतले ५–५ कोठाका आधुनिक घरहरू छन् ।
गएको वर्षमा यस गाउँको औद्योगिक उत्पादन मूल्य ६० करोड युआनको थियो र यस वर्ष ८० करोडको हुनेछ । बैङ्कमा व्यक्तिगत खाताहरूमा १० करोड युआन जम्मा गरेका छन् र प्रतिव्यक्ति सालाखाला वार्षिक आम्दानी ५००० युआन पुग्छ ।”
यस्तो धनी हुन यहाँका किसानहरूले के काम गरेका छन् भन्ने प्रश्नको उत्तरमा लिले भन्नुभयो, “सेवा उद्योग, उद्योग र कृषि नै यहाँको मुख्य काम हो । सेवा उद्योग भन्नाले व्यापार र अन्य काम हो– मोटरको पार्टपुर्जा, प्लास्टिक र रासायनिक वस्तुको व्यापार गर्नु । दोस्रो हो– ती वस्तुहरूको उत्पादन गर्नु । १८ प्रतिशत किसानहरूमात्रै कृषि कार्यमा लाग्छन् । पूर्वी चीनको बिजुलीका सामान उत्पादनमा यस गाउँको महत्व छ । ८० प्रतिशत श्रम शक्ति व्यापार र उद्योगमा छन् । २००० मानिसहरू व्यापार गर्छन् । यहाँ ताइवान र जापानको संयुक्त लगानीका उद्योगहरू छन् ।”
सांस्कृतिक गतिविधि, नाचगानको निम्ति राम्रो भवन र खेलकुदको निम्ति रङ्गशालाको बन्दोबस्त छ । अर्को वर्षसम्ममा ८० प्रतिशत मानिसहरूले नयाँ घर बनाउनेछन् । कारखानाहरू सामूहिक छन् ।
व्यापार र उद्योग गर्नेहरू कसरी किसान भए भन्ने मेरो प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, “खेतीको काम धेरै दिनसम्म हुँदैन र खेतीको मौसममा उनीहरू खेतीमा लाग्दछन् ।”
२ तले ५ वटा कोठा भएको राम्रो आधुनिक घर कसरी बनाउनुभयो भन्ने प्रश्नको उत्तरमा ३६ वर्षीया गृहिणीले भनिन्, “मेरो लोग्ने व्यापार गर्नुहुन्छ, म एउटा कम्पनीमा काम गर्छु, मैले १० कक्षासम्म पढेकी छु, यस्तो काम स्कूलमा आफैँले सिकेको थिएँ, महिनाको ५०० युआन तलब छ र घर बनाउन २–३ लाख युआन लाग्यो ।”
१२ वर्ष र ६ वर्षको केटाकेटी भएको त्यस परिवारको घर, फर्निचर र अन्य बन्दोबस्त हेर्दा नेपाली अर्थमा किसान भन्नै मिल्दैन । यस्तो किन भयो भन्ने मेरो प्रश्नको उत्तरमा लिले आफू पार्टीको सदस्य भएको र कृषिमा पूर्ण यान्त्रीकरण भएको छ भन्नुभयो । दिउँसो ३ः३० बजे त्यहाँबाट बिदा लियौँ र ६ः३० बजे नानकिङको होटेलमा पुग्यौँ ।
– समाप्त
Leave a Reply