भर्खरै :

बालबालिका पढाउने तथा स्याहार्ने शिक्षिकाहरू प्राथमिकतामा परून्

बालबालिका पढाउने तथा स्याहार्ने शिक्षिकाहरू प्राथमिकतामा परून्

सबैभन्दा पहिला चण्डेश्वरी आधारभूत विद्यालयको उकाली ओरालीसहितको सफल ६५ वर्षको निम्ति धेरैधेरै बधाई छ । अबका वर्षहरूमा यस विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
हामी अभिभावक, शिक्षक, शिक्षिकाहरूको साझा प्राथमिकता आप्mना स–साना नानीबाबुहरूको राम्रो स्याहार, रेखदेख र सुरक्षा नै हो । आजको समयमा बालबालिकाहरूको स्वास्थ्य र शिक्षा दीक्षा सबैभन्दा महत्वपूर्ण सवाल निर्विवाद हो । बालबालिकाको असल हुर्काइ समाजको आवश्यकता पनि हो । परिवार, विद्यालय र समुदायको साझा प्रयास या परिश्रममा नानीबाबुहरूको हुर्काइ या सिकाइको अवधि सुन्दर, उत्कृष्ट बन्छ भन्ने दृष्टान्त आज हामी यो विद्यालयको प्राङ्गणमा देख्दछौँँ । हामी स्पष्ट छौँ, बालबालिकाको हुर्काइ राज्यको दायित्व हो । शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो । राज्य विमुख छ, हामीलाई यो पनि थाहा छ । त्यसकारण, शिक्षक–शिक्षिका बुबाआमा बनेर, आमाबुबा गुरु बनेर समुदाय नै बालबालिकाको अभिभावक बनेर हुर्काइलाई जोड दिनु समयको आवश्यकता पनि हो । संसारमा यस्ता राज्य पनि छन् जहाँ एक जना बालक जन्मनुपूर्व अर्थात् आमाको गर्भमा आएदेखि वयस्क, ज्येष्ठ हुँदै चिहानसम्मको जिम्मेवारी लिने गरिन्छ । सोभियत रुसमा त्यो अभ्यास भएको हामी सुन्छौँ, पढ्छौँ । अहिले प्रजग कोरिया भन्ने एउटा समाजवादी देश छ जहाँ केटाकेटीको हुर्काइलाई सबैभन्दा बढी महत्व दिइन्छ । बालबालिकाको शारीरिक, मानसिक विकास, उपचार, स्याहार, पोषणसँगै पठनपाठनको जिम्मेवारी सबै राज्यले लिन्छ । त्यहाँ सबैभन्दा बढी लगानी बालबालिकाको निम्ति हुन्छ । त्यहाँका नेताहरू भन्छन्, “Children are the King of Nations so Build the Palace for Children” ‘केटाकेटीहरू देशका राजा हुन्, तिनको निम्ति दरबार बनाऊ ।’ शिशु स्याहार, बालउद्यानमात्र होइन बालबालिकाको दरबार बनाउने राज्य पनि छ । यहाँ सिंहदरबारले बालबालिका हेर्दैन, बालबालिका प्राथमिकतामा पर्दैनन् । बालबालिका पढाउने तथा स्याहार्ने शिक्षिकाहरू प्राथमिकतामा पर्दैनन् । यद्यपि, राज्यको मुख नताकिकन अभिभावक, विद्यालय समुदायको साझा प्रयास र सक्रियतामा चण्डेश्वरी स्कूल अगाडि बढिरहेको विश्वास छ ।
बालबालिकाको पोषण र स्वस्थ हुर्काइको लागि यस विद्यालयमा दिवाखाजाको व्यवस्था छ भन्ने सुनेको छु । अभिभावकहरूको समर्थन र विद्यालय परिवारको सक्रियतामा मात्रै सामुदायिक विद्यालयहरूले यस्तो बन्दोबस्त गर्न सक्दछन् । नेपालमा ५ वर्षमुनिका १० लाखभन्दा बढी बालबालिका कुपोषणका शिकार छन् । अर्थात्, कुल बालबालिकाको ३६ प्रतिशतभन्दा बढी, १० प्रतिशत त चरम कुपोषणमा परेको स्वास्थ्य मन्त्रालयकै आँकडा हो । तसर्थ, विद्यालयमा समयसमयमा बालबालिकाको शारीरिक मानसिक स्वास्थ्य परीक्षणको लागि बालरोग विशेषज्ञहरूबाट जाँच अहिलेको न्यूनत्तम आवश्यकता हो । विद्यालय यो सवालमा पनि अगाडि छ ।
आजभोलिको बालबालिका शिक्षा प्रणाली Playway Method को खुब चर्चा छ । हाम्रो भाषामा खेलविधिबाट शिक्षण । खेलौना दिएर, खेल खेलाएर पढाउने विधि हो । “पढाउँदा–पढाउँदै खेलाउने, खेलाउँदा खेलाउँदै पढाउने” सुन्दा पनि मिठो, सिकाइ निकै उपलब्धिमूलक हुने । यस विद्यालयमा त्यो अभ्यास छ भन्ने मेरो विश्वास हो । विद्यालयको निम्ति शिक्षण सामग्री, सिकाइ सामग्रीको उपलब्धता, वातावरण अर्को महत्वपूर्ण पक्ष हो । Playway Method सरसामानको उपलब्धताबिना सम्भव छैन । शिक्षिकाहरूको तालिमबिना मुस्किल हुन्छ ।
सरकारले त्यता ध्यान दिन नसक्दा कामदारवर्गका नानीबाबु पढ्ने यस्तो विद्यालयमा बालबालिकाहरूको लागि शिक्षण सामग्री उपलब्ध गराउन समुदायले सहयोग गर्नुपर्ने देख्दछु । समाजमा उदार मन भएका, अझ भनौँ धन पनि भएका मन पनि भएका व्यक्तित्वहरूसँग विद्यालयले सहयोगको निम्ति अनुरोध गर्न आवश्यक छ । मूर्ति पूजा, दक्षिणा दान गर्नुभन्दा कैयौँ गुणा सन्तुष्टि र पुण्य विद्यालयलाई सहयोग दिँदा मिल्ने निश्चित छ । सरल भाषामा भनौँ, मन्दिर जानै पर्दैन । विद्यालय नै मन्दिर हो त्यसै भनिएको होइन । समुदायका नवधनाढ्यहरूलाई कामदार जनताले अभिभावकले सन्तान सुम्पेको यस मन्दिरसम्म कसरी ल्याउने अर्थात् तिनलाई यो मन्दिरको सेवा गर्न कसरी आमन्त्रण गर्ने भन्ने विषयमा व्यवस्थापन समितिले पकै सोचेको या योजना बनाएको हुनुपर्छ भन्ने मेरो विश्वास छ ।
एउटा चिनियाँ भनाइ छ, “शिक्षक बसे भने केटाकेटी सुत्छन्, शिक्षक उभिए भने केटाकेटी बस्छन्, शिक्षक हिँडे भने बालबालिका उभिन्छन् र शिक्षक दौडिए बालबालिका हिँड्छन् ।” यसर्थ, शिक्षकको सक्रियताले नानीबाबुको सक्रियता बढाउँछ । म यहाँ शिक्षक – शिक्षिकाको मेहनत र सक्रियता देख्दै छु । सेवाभावका साथ विद्यालय नेतृत्व र शिक्षिकाहरूको सक्रियताकै फलस्वरूप ४ जना विद्यार्थीमा सीमित भइसकेको यस विद्यालयमा आज १५० भन्दा बढी बालबालिका छन् । ११/१२ वर्षमा भएको प्रगति हो यो । Growth Index हेर्ने हो भने यो अवधिमा विद्यार्थी सङ्ख्या ३५–४० गुणाले वृद्धि भएको देखिन्छ । यो सफलता हो । यसरी नै भित्री हृदयदेखि समर्पित भएर काम गरेको खण्डमा विद्यालय योभन्दा अघि बढ्नेमा कुनै शङ्का छैन । विद्यालयका नियमन निकायले अर्थात् माथिल्लो तहले ध्यान दिएर विद्यालयका लागि आवश्यक शिक्षक दरबन्दी, भौतिक सुधारलगायतका काममा अगुवाइ गरिदिए विद्यालय योभन्दा अघि बढ्ने निश्चित छ । आजको यो उपलब्धि विद्यालयको सवल नेतृत्वबिना असम्भव हुन्थ्यो । आजसम्मको यात्रा शिक्षिकाहरूको मेहनतबिना सम्भव हुने थिएन । समुदायको सहयोग विना पनि गा¥हो हुन्थ्यो । विद्यालयमा महिला नेतृत्व छ । यो अर्को सुखद पक्ष हो ।
कुनै बेला भक्तपुर शिक्षामा निकै पछाडि थियो । यहाँ किसानका छोराछोरी शिक्षाबाट वञ्चित थिए । राजधानीको नजिकको यो भक्तपुर बत्तीमुनिको अँध्यारोजस्तै थियो । यहाँको (नेमकिपा) राजनीतिक नेतृत्व, शिक्षासेवी र समाजका अगुवाहरूले विद्यालय स्थापना र सञ्चालनसँगै किसानका छोराछोरी पढाउन अगुवाइ गर्नुभयो । यो ४–५ दशक अगाडिको कुरा हो । त्यसको धेरै पछि मात्र महिलाहरूको साक्षरता रात्रि कक्षा सञ्चालन भयो । आजभन्दा ४० वर्ष अघिसम्म पनि छोरीहरूलाई पढाइन्नथ्यो । छोरी नपढाउने समयबाट हामी छोरीहरूले स्कूल नेतृत्व गर्ने समयमा आइपुगेका छौँ । यो एक प्रणाली परिवर्तन हो । अपहेलित भक्तपुर आज शिक्षाको गन्तव्य बन्नु परिवर्तन हो । असल र जनताको सेवा गर्ने राजनीतिले यो खालको परिवर्तन सम्भव बनाउँछ । यहाँ हामी र हाम्रा बालबालिका विभिन्न समुदायबाट छौँ । नेवार, तामाङ, राई, लिम्बु, मगर, क्षेत्री, बाहुन समुदायका छन् । हामी काम गरी खानेहरू हामी मजदुरी गर्नेहरू हौँ । जातभन्दा पनि महत्वपूर्ण व्यवहार, विचार र शिक्षा हुने गर्दछ । हामी सबै मिलेर हाम्रा बालबालिकाहरूलाई यथोचित शिक्षा दिऔँ ।
यस कार्यमा सरकार जिम्मेवार बनिरहेको छैन । उसलाई शिक्षामा विभेद गर्दा फाइदा हुन्छ । उसलाई ठुला ठालुको सन्तान हेर्दैमा फुर्सद छैन । तिनीहरू धनीमानीकै पैसाले चुनाव जित्छन्† धनीमानीकै सेवा गर्छन्† हाम्रो त भोट मात्रै लिन्छन् । युवा विदेश पठाउँछन्, रोजगारी दिँदैनन्, उपचार दिँदैनन्, के हामीले तिनलाई भोट दिइरहने ? हामीलाई शोषण गर्न दिइरहने ? हाम्रा अग्रजहरूले कामगरी खाने जनताका छोराछोरीलाई शिक्षादीक्षा दिन ६५ वर्ष अघि यो विद्यालयको स्थापना गर्नुभएको थियो । यो विद्यालय सदा कामदार जनताका छोराछोरी हुर्काउन प्रतिबद्ध रहने विश्वाससहित उत्तरोत्तर प्रगतिको कामना गर्छु ।
(चण्डेश्वरी आधारभूत विद्यालयको ६४ औँ वार्षिकोत्सव समारोहमा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले दिनुभएको शुभकामना मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *