भर्खरै :

विवाह, नाफा र पेसा

विवाह, नाफा र पेसा

विवाह दुई हृदयको मिलन मात्रै होइन, एक आर्थिक लेनदेन, नाफा, राज्य हत्याउने चालबाजी र राजनीतिक हतियार पनि हो । दास युग र सामन्तवादी कालमा विवाहको नाममा एक दास मालिकले अर्को दास मालिक र राज्यमा समेत हमलाको एउटा कारण बनाइएको हुन्छ । युरोपमा नेपोलियनको पालासम्म आफूले जितिएका राज्यका महारानीहरूलाई उनले आफ्ना महारानी बनाएका थिए । पहिले मिश्रमा पनि महारानीकै निम्ति लडाइँ भएको थियो ।
रामायणलाई एक महाकाव्यको रूपमा लिँदा युद्धको हाँक दिन रावणले सीतालाई हरण गरेका थिए । महाभारतमा द्रौपदीको घमण्डको निहुँ राखी राजसभामा उनको बेइज्जती गरेर पाँच पाण्डवलाई लडाइँको निम्ति उत्तेजित गरेका थिए – दुर्योधन र दुःसासनहरूले ।
एक राजाले अर्को राज्यका कन्या विवाह गरेर युद्धलाई तार्ने, युद्धको निहुँ बनाउने र कमजोर राज्यलाई आफूमा मिलाउन पनि विवाहको सन्देश दिन्थ्यो । स्पेनले बेलायतलाई आफ्नोमा मिलाउनकै निम्ति बेलायती कुमारी महारानीलाई विवाह गर्न असफल भएपछि स्पेनियाली राजाले त्यसबेला आफ्नो ठुलो जहाजी बेडाले बेलायतमाथि आक्रमण गरेको थियो । त्यस युद्धमा बेलायती सरकार र जनताले आफ्नो राज्य जोगाउन आफूभन्दा शक्तिशाली स्पेनलाई पराजित गरे ।
अन्य देशहरूमा पनि विभिन्न जातजाति र भाषाभाषीहरूलाई आ–आफ्नो मातहतमा राख्न, समर्थन र सहयोग पाउन त्यहाँका कन्याहरूसँग विवाहको नाटक गर्थे र ‘मित मानेर’ राज्य हत्याउँथे । शाह र राणाहरूले धेरै पछिसम्म पनि विवाहलाई हतियार बनाए । प्रजातन्त्रवादी र गणतन्त्रवादीहरूले पनि दास मालिक, सामन्त र पुँजीपतिवर्गको विवाहको सिलसिलालाई चालु राखे । एउटा पुँजीवादी कम्पनीका मालिकले अर्को कम्पनीको मालिक परिवारको बिचमा व्यापारको प्रतिस्पर्धाबाट दुवै घाटामा पुग्ने देखेर दुई परिवारमा विवाह वा सामाजिक सम्बन्ध राख्छन् – आर्थिक कारण र नाफाको निम्ति !
‘राधा र कृष्ण’, ‘सत्यवान र सावित्री’, ‘रोमियो र जुलियट’, ‘लैजा मजुनु’ जस्ता कथा र नाटक वा साहित्य हुन्भन्दा फरक नपर्ला !
दास युगमा लडाइँमा बन्दी बनाइएका व्यक्तिहरूलाई नै विजयी पक्षले काम गराउँथ्यो – कसैलाई ढुङ्गाको काम, कसैलाई काठको काम र कसैलाई खेती वा माटोको काम । तर, तिनीहरूले गरी आएको पेसा वा काम छोडेर अरू पेसा वा काम गर्न पाउँदैनथे । आज त्यसबारे चिन्तन गर्दा निश्चय पनि त्यो व्यवस्था अन्याय थियो । तर, धेरै पुस्ताले ढुङ्गा, काठ र बाटोको वा अन्य काम गर्दा गर्दै तिनीहरूले ती काममा दक्षता प्राप्त गर्थे । ढुङ्गामा काम गर्नेहरू शिलाकार वा ढुङ्गाका काम गर्नेहरू मूर्तिकारहरू भए, काठको काम गर्नेहरू सिकर्मी वा शिल्पकारहरू भए, माटोको काम गर्नेहरू कुम्हाले र किसानहरू भए । तिनीहरूले आ–आफ्नो पेसा छोडेर अन्य काम गर्न पाउँदैनथे ।
जसरी सामन्त समाजका दास युगका राम्रा र नराम्रा प्रभावहरू कायम रहे; त्यस्तै पुँजीवादी समाजमा पनि सामन्तवादी समाजका राम्रा र नराम्रा परम्परा कायम भएका हुन्छन् । त्यसले कला र शिल्पको विकास हुँदै गयो ।
सामन्तवादी व्यवस्थामा विवाह र सामाजिक सम्बन्ध आपसको पेसाअनुसार भएको देखियो – शिलाकारहरूको विवाह शिलाकारहरूसँगै, सिकर्मीहरूको शिल्पकारहरूसँगै, कुम्हाले वा किसानहरूको किसानहरूसँगै आदि । यो सिलसिला पुँजीवादी समाजको विकासको सुरुको बेलासम्म रह्यो । व्यापार, उद्योग, कलकारखानाको विकाससँगसँगै सबैले सबै किसिमका पेसा अपनाउन थालेपछि बिस्तारै जातअनुसारको विवाह वा सामाजिक सम्बन्ध पनि कमजोर हुँदै पुरानो जातीय प्रभाव कम हुँदै परिस्थितिअनुसार विवाह सुरु भयो ।
– ‘श्रमिक’ साप्ताहिक, २०८० चैत ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *