भर्खरै :

अव्यवस्थित सहरीकरणको विकल्प ‘स्मार्ट सिटी’ हुन सक्दैन : अध्यक्ष बिजुक्छेँ

अव्यवस्थित सहरीकरणको विकल्प ‘स्मार्ट सिटी’ हुन सक्दैन : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, १४ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको तेस्रो वास्तुकलाको प्रवृत्ति र सम्पदा (Architectural Trends and Heritage) सम्बन्धी राष्ट्रिय सम्मेलनको शुक्रबार पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले सम्पदा संरक्षणको अर्थ भक्तपुरको प्राचीन सीप र शैलीबाट नयाँ युगको सेवा गर्नु हो भन्दै सम्पदा पुनरुत्थान गर्नुको उद्देश्य पुरानो ज्ञान र सीपलाई देश र समाजको सेवामा लगाउनु हो भन्नुभयो ।
अव्यवस्थित सहरीकरण ‘स्मार्ट सिटी’ हुन नसक्ने बताउँदै उहाँले मूर्त र अमूर्त सम्पदा संरक्षणमा विश्वविद्यालय, पुरातत्व विभाग र प्रज्ञा प्रतिष्ठानजस्ता प्राज्ञिक संस्थाहरू नै क्रियाशील हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “ऐतिहासिक सम्पदा संरक्षण र संवद्र्धनसँगसँगै प्राचीनताको अध्ययनले वर्तमानदेखि मानव जातिलाई भविष्यको गन्तव्यसम्म पुग्न सहयोग गर्छ । प्राचीन ‘रेशन मार्ग’ ले आज संसारलाई एक सूत्रमा बाँध्न सबैले सहयोग गरेको सर्वविदित छ ।”
सङ्ग्रहालय र चिडियाखानाहरूको संरक्षण गर्दा प्राचीनता र इतिहासलाई वर्तमानसँग जोड्ने काम भएको बताउँदै उहाँले डार्बिनको सिद्धान्तले समाजमा एक विकासवादी सोचको प्रादुर्भाव भएको बताउनुभयो ।
कार्यक्रमका सभापति, भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले प्राध्यापक, विद्यार्थी, आर्किटेक्ट, इन्जिनियर तथा नीति निर्माणकर्ताहरूले यस सम्मेलनमार्पmत सम्पदा संरक्षण तथा विभिन्न विषयमा गहन छलफल गरी महत्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा व्यक्त गर्दै आगामी वर्ष २०८२ माघ महिनामा चौथो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने जानकारी दिनुभयो ।
उहाँले भक्तपुर दरबार क्षेत्रमा अवस्थित सुनढोका, ५५ झ्याले दरबार, ताहा फल्चा, टौमढीको ५ ङातापोल्हँ, भैरवनाथको मन्दिरलगायतका काष्ठकला, धातुकला, प्रस्तरकलाको उत्कृष्ट नमुनाहरू जस्ताको तस्तै संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी र कर्तव्य हो भन्दै ती सम्पदा संरक्षण गरी त्यसैलाई आयस्रोतको रूपमा विकास गर्दै नगरपालिकाले विद्यालय, कलेज, अस्पतालबाट सेवाहरू प्रदान गरिरहेको बताउनुभयो ।
विभिन्न प्राविधिक कारणले भक्तपुरको लाल बैठक अझै पुनःनिर्माण हुन नसकेको बताउँदै उहाँले सम्पदा संरक्षण गर्नु सबैको साझा जिम्मेवारी र कर्तव्य भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नगरलाई उदाहरणीय बनाउने उद्देश्यलाई साकार पार्न ‘सय वर्षपछिको भक्तपुर’ लाई मार्गदर्शनको रूपमा काम गरिरहेको बताउँदै ‘सबैको प्रयासबाट हामी गर्न सक्छौँ’ भन्ने प्रतिबद्धताका साथ नगरपालिका अगाडि बढिरहेको जानकारी दिनुभयो ।
भनपाले सम्पदा संरक्षणमा खेलिरहेको भूमिकाबारे प्रस्ट पार्दै उहाँले भनपाले स्थानीय पाठ्यक्रम लागु गरी ९२ वटै विद्यालयहरूमा भक्तपुरको कला संस्कृतिबारे पठनपाठन भइरहेको, विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको तथा सांस्कृतिक गुरुहरूको सम्मानलगायतका कार्यहरू गर्दै आइरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सम्मेलनमा प्रस्तुत हुने प्रस्तुतिले नीति निर्माण गर्ने निकायलाई सहयोग हुनेमा विश्वास व्यक्त गर्दै सम्पदा संरक्षणमा छुट्टै पहिचानको महत्व धेरै हुन्छ र स्थानीय स्रोत साधन तथा सीपलाई प्रयोग गर्ने विषयलाई सम्मेलनमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले सरकारी तहबाटै सम्पदा संरक्षणको लागि सुरु भएका प्रयासका दृष्टान्तहरू प्रस्तुत गर्दै दाताहरूले आफ्नो स्वार्थसहित सम्पदा संरक्षणमा सहयोग गर्नेतर्पm सजग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्राध्यापक लिवास पैmजुले स्वागत मन्तव्य राख्नुभएको थियो भने युरिका राजवंशीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *