भर्खरै :

खुम्बुको पर्यटन जोगाउने भरियाहरू

खुम्बुको पर्यटन जोगाउने भरियाहरू

सल्लेरी (सोलुखुम्बु) । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा ग¥हौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरूको शरीर पसिनाले निथ्रुक्कै भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन ।
त्यसैले पर्यटकहरू लठ्ठीको साहारामा आधार शिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरू नवराज विक, मिङ्मार तामाङ, जीवन कुलुङ, दारिन्जी शेर्पा र नवराज बस्नेत भने एकैछिन थकाइ मेट्न भारी बिसाए । विभिन्न देशबाट आएका पर्यटकहरू भरियाको सहारामा सगरमाथा आधारशिविर पुग्ने रहर पूरा गर्दैगर्दा उनीहरू भने घर खर्च जोहो गर्न पर्यटकसँगै उकालो लाग्दै थिए ।
विश्वका साहसिक पर्यटन रुचाउने अधिकांश पर्यटकका लागि सगरमाथा क्षेत्र ‘बकेटलिस्ट’ को गन्तव्य भए पनि खुम्बु क्षेत्रमा उकालो लाग्दै गरेका यी र यी जस्तै भरियाका लागि भने यो आम्दानीको प्रमुख स्रोत हो । हजारौँ डलर खर्चेर सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकका साथी भरियाका लागि भने यसै क्षेत्रमा भारी बोकेर दिनमा रु. दुई हजार कमाउन पनि मुस्किल हुन्छ ।
भरिया नवराज विकले भन्नुभयो, “आधार शिविरको ठाडो बाटो रित्तै हिँड्न त गा¥हो छ । त्यसमाथि ४० केजीको झोला बोकेर पर्यटकसँगै आधारशिविरसम्मको उकालो बाटो छिचोल्नु उत्तिकै कठिन पनि छ । जति उकालो लाग्दै गयो ‘अल्टिच्युड’ पनि बढ्दै जान्छ । कठिनाइ थपिँदै जान्छ । तर, काम गरेअनुसारको पारिश्रमिक पाए त ती सबै दुःख बिर्सिन्थ्यो होला । तर, सधैभरी त्यस्तो हुँदैन । तपाईँहरूले सोचे जस्तो राम्रो कमाइ पनि हुँदैन ।”
उमेरले ४० पुग्न लागेका विक यसैगरी खुम्बुमा पर्यटकको झोला बोक्न थालेको डेढ दशकभन्दा बढी भयो । सोलुखुम्बु महाकुलुङ गाउँपालिका–१ बुङका उहाँ पर्यटकको भारी बोकेरै घरखर्च चलाउँदै आउनुभएको छ । तर, यही भारी बोक्ने काम पनि वर्षभरी भने पाइँदैन । सगरमाथा क्षेत्र घुम्नका लागि दुईवटा याम राम्रो मानिन्छ । पहिलो असोजदेखि मङ्सिर र दोस्रो फागुनदेखि वैशाख । यी दुवै यामको सुरुआतमा लुक्लामा पर्यटक बाक्लिन थालेपछि विकजस्ता भरियाहरू काम खोज्दै खुम्बु क्षेत्र प्रवेश गर्छन् । अनि लुक्लाबाट पर्यटकको झोला बोकेर गन्तव्यसम्म पुग्न सहयोग गर्छन् ।
उनीहरू सो ‘सिजन’ भरी यसैगरी काम गर्छन् र पर्यटक पातलिन थालेपछि मात्रै घर फर्कन्छन् । “श्रीमति र बालबच्चासहितको परिवार चलाउने खर्च यहीँ कमाउने हो । यहाँ काम नहुँदा घरमा कृषिलगायतको काम गर्छु । तर, ज्यान जोखिममा राखेर सगरमाथाको ‘माइनस’ तापक्रममा काम गर्दा पनि खर्च धान्नै गा¥हो हुन्छ,” विकले पीडा सुनाउनुभयो ।
विकका अनुसार दुई हजार आठ सय ६० मिटर उचाइको लुक्लादेखि पाँच हजार तीन सय ६४ मिटरको आधारशिविर पुग्न छदेखि सात दिनलाग्छ । त्यहाँबाट फर्कँदा दुईदेखि तीन दिन लाग्छ । यसरी उनीहरूले दैनिक रु. एक हजार पाँच सयदेखि रु. दुई हजारका दरले औसतमा एक टोली पर्यटकलाई सेवा दिँदा रु. १८ हजारदेखि रु. २० हजारसम्म कमाउँछन् । कमाएको पैसा खाना र बस्नमा पनि खर्च हुन्छ । खर्च कटाउँदा हातमा बच्ने पैसाले पसिनाको मोल दिँदैन ।
विकका अनुसार खुम्बु क्षेत्र पर्यटकका लागि जति महँगो छ भरियाका लागि त्योभन्दा कम छैन । उहाँले भन्नुभयो, “भरियासँग कम पारिश्रमिकको मात्रै पीडा छैन । महँगो खाना र बासको राम्रो प्रबन्ध नहुनु पनि हाम्रा लागि पीडा नै हो । पर्यटक जसरी महँगा होटलमा कहाँ बस्न पाउनु । हामी त भट्टी खोज्दै हिँड्नुपर्छ ।”
विकको जस्तै पीडा उहाँसँगै थकाइ मार्दै गरेका मिङ्मारले पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, “ब्याकप्याकसँगै खानाका लागि घरमा भुटेको मकै, रोटी र आलु बोक्नुपर्छ । पारिश्रमिकले होटलको खाना खाने हो भने त कमाएको पैसा घर पुग्दैन । भीड बढ्यो भने त सुत्नको जोहो गर्न पनि गा¥हो हुन्छ ।” उहाँका अनुसार खुम्बुको माथिल्लो क्षेत्रमा भरियाले एक छाक खानाको रु. पाँच सयदेखि सात सयसम्म तिर्नुपर्छ । “दुःखअनुसारको पारिश्रमिक त कसैले पाउँदैनन् । त्यही कहिलेकाहीँ पाइने टिप्सले दुःख भुलाइदिन्छ,” हल्का थकाइ मेटिएको अनुहारमा हल्का मुस्कान छर्दै उहाँले भन्नुभयो ।
खुम्बुका लागि भरियाहरू सस्ता ढुवानीकर्ता हुन् । गोरक्सेपमा भेटिनुभएका भरिया जीवन कुलुङले भन्नुभयो, “सवारी गुड्ने सडकको सुविधा छैन । हेलिकोप्टर, याक र जोक्पेबाट ढुवानी गर्दा महँगो हुन्छ । ढुवानीमै धेरै पैसा खर्च गर्ने भए भरियाको के काम ?” खुम्बु क्षेत्रमा पर्यटकको भारी बोक्न ओखलढुङ्गा, खोटाङलगायतका जिल्लाबाट पनि यहाँसम्म भरिया आउने गरेको उहाँले सुनाउनुभयो ।
भरियालाई छैन सम्मान
सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठुलो भूमिका छ । पर्यटकहरू खुम्बु क्षेत्रमा रहँदासम्म भरियाहरू हरपल साथमै रहन्छन् । भरियाको अभावमा लुक्लादेखि ग¥हौँ झोला बोकेर हिमाल चढ्नु जो कोही पर्यटकले सक्ने कुरा पनि हुँदैन । उनीहरू भरियाकै कारण पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न पाउँछन् ।
कैयन अवस्थामा त यिनै भरियाकै कारण कैयन पर्यटकको ज्यान पनि जोगिएको छ । खुम्बुको हावापानीसँग परिचित भरियाकै कारण मृत्युको मुखबाट बाँचेर धेरै पर्यटक घर फर्केका पनि छन् । तर, भरियाहरूले सम्मान भने पाउन नसकेको भरिया दारिञ्जी शेर्पाको गुनासो छ ।
उहाँले भन्नुभयो, “हामीहरू दिनभर भारी बोकेर उकालो चढ्दछौँ । रात परेपछि बासको चिन्ताले सताउँछ । होटलमा बास बस्न मुस्किल हुन्छ । भारी बिसाउने बित्तिकै बास खोज्दै भट्टी चहार्नुपर्छ ।”
कतिपय अवस्थामा त बास पाउन निकै सास्ती भोग्नुपरेको शेर्पाको अनुभव छ । पर्यटकका लागि होटलमा सबै सुविधा भए पनि भरियाका लागि उचित व्यवस्था नभएका भरिया नवराज बस्नेतको तर्क छ । “होटल व्यवसायीहरूले हामीलाई गर्ने व्यवहार चित्त दुख्दो हुन्छ । त्यो हामीले भोग्दै आएका छौँ । हामीलाई त लेक लाग्दा वा कुनै गा¥हो अवस्था हुँदा सहज उद्धार पनि नहुने अवस्था छ,” उहाँले गुनासो गर्नुभयो ।
‘पोर्टर हाउस’ बन्दै
खुम्बु पासाङल्हामु गाउँपालिकाले हाल भरियाहरूसँग प्रतिव्यक्ति रु. २५ का दरले शुल्क लिँदै आएको छ । तर, भरियाहरूका लागि भने उचित बन्दोबस्न हुन सकेको छैन । गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले भरियाहरूका लागि उचित बन्दोबस्त नभएको स्वीकार गर्दै पालिकाले हालै ‘पोर्टर हाउस’ अर्थात् भरिया घरको अवधारणा अघि सारेको बताउनुभयो ।
“भरियाहरूका लागि सगरमाथा क्षेत्रका विभिन्न स्थानमा पोर्टर हाउस निर्माणको प्रक्रिया अघि बढिसकेको छ । जहाँ उनीहरूका लागि खान र बस्नको राम्रो प्रबन्ध हुनेछ,” उहाँले भन्नुभयो । पोर्टर हाउसमा भरियाले निकै कम शुल्कमा खाना र बस्न पाउने उहाँको भनाइ छ । “गाउँपालिकाले पोर्टर हाउस निर्माण सुरु गरिसकेको छ । केही महिनाभित्रै सञ्चालन गर्ने गरी काम भइरहेको छ,” उहाँले भन्नुभयो ।
खुम्बुको पर्यटन बचाउन भरियाहरूले गरेको योगदानलाई कदर गर्दै पोर्टर हाउस निर्माण सुरु गरिएको उहाँको भनाइ छ । हाल नाम्चे, लुक्लासहितका क्षेत्रमा भट्टी पसलहरू प्रशस्त भएकाले समस्या नभए पनि माथिल्लो क्षेत्र थामे, दिङबोचे, दिबुचे, थुक्ला, गोरक्सेपलगायतका स्थानमा भने भरियाले समस्या भोग्नु परेको अध्यक्ष शेर्पाले बताउनुभयो । भरिया घर सञ्चालनमा आएपछि भरियाको उक्त समस्या दीगो रूपमा समाधान हुने उहाँको विश्वास छ ।
‘सीप र जाँगर भए कसैसँग हात फिजाउन पर्दैन’
‘सीप र जाँगर भए कसैसँग हात फिजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन् । नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सत्न्दा बढी नेपालीहरू हातमा राहदानी बोकेर विदेशिने गर्छन् । मासिक रु. ४०÷५० हजार कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन यहाँ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा राहदानी बनाउन पुग्ने दैनिक करिब ४० युवामध्ये झण्डै ८० प्रतिशत जतिले रोजगारका लागि खाडीमा जाने योजना सुनाउँछन् । उनीहरू भन्छन् “स्वदेशमा न त कुनै जागिर नै छ न नै । अनि विदेश नहानिएर के गर्नु ? यहाँ बसेर कामै छैन ।” तर, जिल्लाको नेचासल्यान गाउँपालिका–२ का वियश राईले भने नेपाल प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै सुरु गरेको दुग्ध व्यवसायबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।
उहाँले सुरु गर्नुभएको उद्यमबाट आफू मात्रै स्वरोजगार हुनुभएको छैन, गाउँका अन्य थुप्रै युवालाई समेत प्रत्यक्ष वा अप्रत्यक्षरूपमा रोजगार सिर्जना गर्नुभएको छ । बिहानदेखि बेलुकासम्म निरन्तर आफनो व्यवसायमा व्यस्त रहने बेफुर्सदिला व्यक्ति हुनुहुन्छ राई । बिहान सबेरै उठेर दूध सङ्कलनका भाँडाकुँडा हातमा बोकेर कहिले आफ्नै गाउँटोल त कहिले छिमेकी गाउँका कृषकहरूको घरदैलोमा पुग्नुहुन्छ उहाँ । राईले डेरी व्यवसाय तथा दुग्धजन्य परिकारहरूको बिक्रीबाट कमाएर नै परिवार पाल्ने, छोराछोरीलाई पढाउने साथै स्थानीय ब्यक्तिहरूलाई समेत रोजगार दिँदै आउनुभएको छ ।
विसं २०७९ को स्थानीय निर्वाचनमा प्रहरी नायब निरीक्षक पदबाट राजीनामा दिएर वडाध्यक्षको पदमा नेचासल्यान गाउँपालिका–२ बाट उम्मेद्वारी दर्ता गराएका उहाँ निर्वाचनमा पराजित भएपछि आफ्नै गाउँमा केही व्यवसाय सञ्चालन गर्ने र अन्य युवालाई समेत प्रेरणा दिने सोच आफूमा पैदा भएको उहाँ सुनाउनुहुन्छ । राईले भन्नुभयो, “गाउँघरमा रोजगारको बाटो छैन भन्ने र मासिक रु. ४०/५० हजार कमाइ गर्नकै लागि खाडी जाने युवाहरूको जमात असाध्यै धेरै देखेँ, म आफू त प्रहरीको जागिर छोडेर गाउँ होमिएको व्यक्ति हुँ तर गाउँका युवाको विदेश पलायनले मन छोयो र गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि मैले यो उद्यम सुरु गरेँ ।”
उहाँले २०७९ मङ्सिरबाट कोठा भाडामा लिई दूध सङ्कलन गरी दूध र दही बिक्री गर्न थाल्नुभयो । व्यवसायलाई क्रमिकरूपमा विस्तार गर्ने उद्देश्यका अघि बढेका राईले ज्ञान तथा सीपको आवश्यकता महशुस गरी आफ्नै लगानीमा इलाममा गई दुग्ध तालिम लिनुभयो ।
उहाँको लगनशीलता र मेहनत देखेर व्यवसाय विस्तारका लागि गाउँपालिकाले रु. दुई लाख आर्थिक सहयोग गरेको भए तापनि पर्याप्त भने थिएन । यसै क्रममा उहाँले गाउँपालिकामार्फत जिआइजेड नेपालअन्तर्गत रिप–ग्रिन कार्यक्रमले डेरी तालिम सञ्चालन गर्न लागेको कुरा थाहा पाउनुभयो र उहाँ गाउँपालिकाको सिफारिसमा तालिमका लागि छनोट पनि हुनुभयो । उहाँ २०८० बैशाख ५ गतेदेखि १० गतेसम्म सो कार्यक्रमले इलाममा सञ्चालन गरेको डेरी उत्पादन सीप विकाससम्बन्धी तालिममा सहभागी हुनुभयो । तालिममा देशभरबाट जम्मा भएका नव उद्यमी, सिकेका ज्ञान, सीपले उहाँलाई थप व्यावसायिक बन्ने ऊर्जा मिल्यो ।
तालिमपश्चात परिश्रम नै सबैभन्दा ठुलो हो र यसले नै मानिसलाई स्वावलम्बी बनाउँछ भन्ने पूर्ण विश्वासको साथ थप सशक्त भई उहाँले यसलाई नै मुख्य पेशाको रूपमा अँगाल्न सुरु गर्नुभयोे । उहाँले व्यवसाय समेत दर्ता गरी दूधबाट बन्ने दही, पनीर, घीउ, खुवा र आइसक्रिमजस्ता परिकारहरू नेचासल्यान गाउँपालिका साथै सदरमुकाम सल्लेरीबजारमा समेत बिक्री गर्न थाल्नुभयो ।
तालिमपश्चात् उहाँको आत्मविश्वास पनि बढ्यो, दूधका परिकारहरू उत्पादन गरी व्यवसायलाई विस्तार पनि गर्नुभयो । व्यवसाय सञ्चालनका लागि अहिले छ जनालाई रोजगार पनि दिरहनुभएको छ । उहाँको व्यवसायलाई चाहिने दूध बिक्रीबाट गाउँका करिव ६० घर कृषकहरू अप्रत्यक्षरूपमा लाभान्वित बनेका छन् । व्यवसायबाट मासिक चार लाख रूपैयाँभन्दा बढी कारोवार भइरहेको अनुमान उहाँको छ । यही आम्दानीबाट छोराछोरीको पढाइ, औषधोपचार खर्च गरेर बचेको पैसाले भाडामा लिएको जग्गामा घर निर्माण गरी भैँसीपालन व्यवसाय विस्तार गर्नुभएको छ ।
व्यवसायलाई अझ दिगो र विस्तारितरूपमा सञ्चालन गर्न आफ्नै लगानीमा कृषि तथा भैँसीफार्म सुरु गरेको उहाँको भनाइ छ । चार माउभैँसीबाट सुरु गरिएको फार्ममा २० माउभैँसी बनाउने योजनाका साथ आफू अघि बढेको राईले बताउनुभयो । गाउँघर र छिमेकीहरूलाई समेत पशुपालन र दूध उत्पादनमा उहाँले प्रोत्साहन गर्दै आउनुभएको छ ।
सदरमुकाम सल्लेरीमा मात्रै दैनिक सात सय लिटरभन्दा बढीको दूध खपत हुन्छ भने नेचासल्यानमा दैनिक १०० लिटरसम्म दूध खपत हुने गरेको उद्यमी राईको भनाइ छ । जिल्लामा व्यावसायिक पशुपालन र दूध उत्पादन फस्टाउन नसक्दा डेरी व्यवसाय सञ्चालनमा चुनौती थपिएको उहाँले बताउनुभयो । “जिल्लाका किसानहरूले परम्परागत ढङ्गबाट वस्तुभाउ पाल्दै आएका छन्, व्यावसायिक दूध उत्पादनको अवधारणा अझै विकास हुन सकेका छैन, युवाहरू जति सबै खाडीमा छन्, यहाँ गाईभैँसी पाल्ने जनशक्ति पर्याप्त छैन,” राईले भन्नुभयो ।
जिल्ला सदरमुकामदेखि गाउँघरसम्ममा दूध मात्र नभई दुग्धजन्य परिकारको माग र खपत उच्च रहेको छ । दूध, दही, मही, पनिर, खुवा, दूधबाट बन्ने मिठाइहरू धेरै माग रहेको उहाँले बताउनुभयो । उत्पादित वस्तुहरूलाई सहज बिक्री वितरणका लागि काठमाडौँका बजारहरू तथा अन्तर्राष्ट्रिय बजारहरूसँग समेत समन्वय गरिरहेको राई बताउनुहुन्छ ।
व्यवसायप्रतिको जिम्मेवारी तथा दिगो व्यवसायका लागि व्यक्तिमा ज्ञान तथा सीपको आवश्यकता हुन्छ भन्ने राम्ररी बुझ्नुभएका राई यस्ता तालिमहरू खर्च गरेर भए पनि लिन छुटाउनु हुन्न । रिपग्रीन कार्यक्रमद्वारा सञ्चालित तालिमपछि उहाँले विभिन्न वस्तुहरू उत्पादन गरी थप आम्दानी बढाउन सफल हुनुभएको हो । सीप र काम गर्ने जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ, घर व्यवहार सम्हाल्न सक्ने र आफ्नो आवश्यकता टार्न कसैसँग हात फिजाएर माग्न नपर्ने उहाँको तर्क छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *