साम्राज्यवादका प्रमुख हतियारहरू
- कार्तिक १६, २०८३
(ब्राजिलको राष्ट्रपतीय निर्वाचनको नतिजाले यो देखाउँछ कि ल्याटिन अमेरिकामा अति–दक्षिणपन्थी लहर आउनु अपरिहार्य छैन ।)
८० वर्षको उमेरमा, राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले एक असाधारण राजनीतिक जित हासिल गरेका छन् । पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोसँग पहिलो चरणमा ४७ प्रतिशतका विरुद्ध ४५ प्रतिशत मतले पराजित भएपछि लुलाले सबै प्रतिकूलतालाई चिर्दै दोस्रो चरणमा ५१.८ प्रतिशत मत प्राप्त गरी शानदार जित हासिल गरे† सो चरणमा बोल्सोनारोले ४८.२ प्रतिशत मत पाएका थिए ।
लुलाको विजयले चुनावअघिका सबै सर्वेक्षणहरूलाई गलत साबित गरिदियो र चुनावी अभियानमा आएको त्यो नाटकीय पुनरुत्थानलाई सफल निष्कर्षमा पु¥यायो, जसको अपेक्षा निकै कम मानिसले गरेका थिए ।
ल्याटिन अमेरिकाको सबैभन्दा ठुलो मुलुकमा लुलाको जितले ब्राजिलमा अति दक्षिणपन्थीहरूको सत्तामा पुनरागमनलाई रोक्ने काम मात्र गर्दैन । यसले यस क्षेत्रमा दक्षिणपन्थीहरूको लगातारको चुनावी जितको शृङ्खलालाई तोडेको छ र पश्चिमी गोलाद्र्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो हस्तक्षेपकारी एजेन्डामा ठुलो धक्का पु¥याएको छ ।
पहिलो चरणमा बोल्सोनारोले अप्रत्याशित रूपमा लुलालाई पराजित गर्दा, त्यस नतिजाले ब्राजिल र त्यसभन्दा बाहिर पनि ठुलो हलचल मच्चायो । लुला सरकारको बलियो सामाजिक–आर्थिक कार्यसम्पादनलाई हेर्दा, यो हार विशेष रूपमा आश्चर्यजनक थियो । त्यसपछिका तीन हप्तासम्म एक असाधारण राजनीतिक परिचालन देखियो, जसले लुलाको मजदुर पार्टी (Worker’s Party) को सुस्त पहिलो चरणको चुनावी अभियानलाई ब्राजिलमा लोकतन्त्र र सार्वभौमसत्ताको भविष्यसँग जोडिएको एक निर्णायक अस्तित्वको लडाइँमा परिणत गरिदियो ।
आर्थिक नतिजालाई हेर्दा यो पराजयतर्फ उन्मुख सरकारको जस्तो पक्कै थिएन । सन् २०२३ देखि २०२५ को बिचमा ब्राजिलको अर्थतन्त्र कुल ९.२ प्रतिशतले वृद्धि भयो, जबकि दक्षिण अमेरिकी छिमेकी मुलुकहरूमा यो वृद्धिदर औसतमा ५.६ प्रतिशतको रह्यो । बेरोजगारी सन् २०२२ को ९.३ प्रतिशतबाट घटेर सन् २०२६ मा ५.४ प्रतिशतको ऐतिहासिक न्यून बिन्दुमा आइपुग्यो ।
ब्राजिल सन् २०२५ मा संयुक्त राष्ट्रसङ्घको भोक नक्सा (Hunger Map) बाट बाहिरिएको छ भने (जायर) बोल्सोनारोको अघिल्लो प्रशासनकालमा पुनः समावेश भएको थियो । अमेजन वन विनाश दशकयताकै न्यून स्तरमा झरेको छ, जुन लुलाको पूर्ववर्तीको पालामा देखिएको प्रवृत्तिको ठीकविपरीत हो ।
लुला प्रशासनअन्तर्गत सबै कुरा सुखद भने थिएन । लाखौँ ब्राजिलीहरू क्रेडिट कार्डको ऋणमा फसेका छन् र अत्यधिक उच्च ब्याजदरको मार खेपिरहेका छन् । अर्कोतर्फ, अनलाइन जुवाको व्यापक विस्तारले धेरै परिवारको जीविका तहसनहस पारिदिएको छ । निर्वाचनको दोस्रो चरणकोे नतिजाले समाजमा असन्तुष्टि रहेको स्पष्ट सङ्केत दिएको छ ।
लुलाले असाधारण रूपमा साहसी कदमहरू चाले – ऋण राहतसम्बन्धी व्यापक पहल र अनलाइन सट्टेबाजीमा प्रतिबन्ध, सामाजिक लाभहरूको विस्तार, इन्धनमा अनुदान र हप्तामा छ दिनको सट्टा पाँच दिन काम गर्ने व्यवस्था । यी नीतिहरूले सरकारका समष्टिगत आर्थिक (Macroeconomic) उपलब्धिहरूलाई ब्राजिलका मतदाताहरूको दैनिक जीवनमा भोगिरहेको आर्थिक चिन्ताहरूसँग पुनः जोड्ने प्रयास गरे ।
बोल्सोनारोले ब्राजिलका लागि एकदमै फरक दृष्टिकोण प्रस्तुत गरे – व्यापक सरकारी खर्च कटौती, निजीकरण, करमा कमी र सबैभन्दा महत्वपूर्ण कुरा – अपराध तथा असुरक्षाविरूद्ध कठोर कदम । उनका प्रस्तावहरूमा एल साल्भाडोरको कुख्यात कारागार प्रणालीको ढाँचामा पाँचवटा उच्च सुरक्षासहितका जेलहरू निर्माण गर्ने तथा भारी हतियारधारी अपराधीहरूविरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिने योजनाहरू समावेश थिए ।
बोल्सोनारोले सन् २०२२ को चुनाव उल्ट्याउने षड्यन्त्र गरेको अभियोगमा २७ वर्षको जेल सजाय पाएका आफ्ना बुबालाई माफी दिने, साथै सन् २०२३ जनवरी ८ मा ब्राजिलका लोकतान्त्रिक संस्थाहरूमाथि भएको आक्रमणका दोषीहरूलाई पनि आममाफी दिने प्रतिबद्धता जनाए । उनका समर्थकहरूका लागि, यो कदम उनीहरूले न्यायिक उत्पीडनका रूपमा ठानेको अवस्थालाई उल्ट्याउने एउटा अवसर थियो । अर्काेतर्फ उनका विपक्षीहरूका लागि भने यसले सत्तापलटको प्रयासलाई पुनः वैधता दिने र न्यायिक स्वतन्त्रतालाई कमजोर पार्ने खतरा निम्त्याएको थियो ।
लुलाको चुनावी अभियान नयाँ ऊर्जाका साथ फर्कियो, जसमा धेरै युवा ब्राजिलीहरू तल्लो तहबाटै सक्रिए भए । यो अभियानले मेटा (Meta) जस्ता सामाजिक सञ्जालका दिग्गज कम्पनीहरूद्वारा देखाइएका एल्गोरिदमसम्बन्धी पक्षपात – जसले बोल्सोनारालाई प्राथमिकता दिन्थ्यो – लाई समेत चिर्न सफल भयो ।
अन्त्यमा, यो चुनाव ब्राजिलको लोकतन्त्रका लागि मात्र नभई यसको सार्वभौमसत्ताका लागि समेतको लडाइँ बन्न पुग्यो । लुलाको कार्यकालभरि ट्रम्प प्रशासनले ब्राजिलको राजनीतिमा स्पष्ट रूपमा हस्तक्षेप ग¥यो; यस क्रममा दण्डात्मक भन्सार शुल्क लगाउने र जायर बोल्सोनारोविरुद्धको मुद्दा चलाउने सर्वोच्च अदालतका न्यायाधीशमाथि प्रतिबन्ध लगाउने र बोल्सोनारोका छोराको उम्मेदवारीलाई खुलेर समर्थन गर्नेजस्ता कार्यहरू गरिए ।
मई महिनामा, ट्रम्पले ओभल अफिसमा फ्लाभियो बोल्सोनारोलाई स्वागत गरे । दुई दिन पछि, विदेशमन्त्री मार्को रुबियोले ब्राजिलका दुई ठुला आपराधिक सङ्गठनहरूलाई विदेशी आतङ्कवादी सङ्गठनको रूपमा तोके – यो एउटा यस्तो कदम थियो जसका लागि फ्लाभियोले सार्वजनिक रूपमै अनुरोध गरेका थिए ।
यी वर्गीकरणहरूको प्रभाव चुनावी राजनीतिभन्दा धेरै टाढासम्म फैलिएको छ । यसले तथाकथित ‘लागूऔषध–आतङ्कवाद’ (Narcoterrorism) विरुद्ध वासिङटनले विस्तार गरिरहेको युद्धका सन्दर्भमा, ब्राजिलको भूभागभित्र अमेरिकी सैन्य कारबाहीका लागि ढोका खोल्न सक्ने सम्भावना सिर्जना गर्छ । विश्वले देखिसकेको छ कि कसरी यस्तै किसिमको विदेशी आतङ्कवादीको बिल्ला भिराउने कार्यले अमेरिकालाई भेनेजुयलामा सैन्य हस्तक्षेप गर्न र त्यहाँको बहालवाला राष्ट्रपतिलाई अपहरण गर्न सघाउ पु¥याएको थियो ।
ट्रम्पले ल्याटिन अमेरिकाको सबैभन्दा ठुलो देशलाई वासिङटनको विस्तारोन्मुख क्षेत्रीय सैन्य प्रभुत्वको प्रणालीमा तान्न खोजिरहँदा, लुलाले भने ब्राजिलको रणनीतिक स्वायत्तताको पक्षमा अडान लिएका छन्; उनले सङ्गठित अपराधविरुद्धको सहकार्य गर्दा राष्ट्रिय सार्वभौमिकताको सम्मान गरिनुपर्ने कुरामा जोड दिएका छन् ।
लुलाले यस चुनावलाई आफ्नो एकातर्फ आफ्नो बाटो आफै तय गर्ने एक सार्वभौम ब्राजिल र अर्काेतर्फ वासिङटनको भू–राजनीतिक एजेन्डामा अधीनस्थ रहने ब्राजिलबिचको छनोटका रूपमा प्रस्तुत गरेका थिए । आइतबारको चुनावी नतिजाले ब्राजिलका जनताले आफ्नो रोजाइ स्पष्ट पारिसकेको देखाउँछ ।
महत्वपूर्ण कुरा के हो भने, लुलाको जितले ल्याटिन अमेरिकामा देखिएको दक्षिणपन्थी झुकावको दिशामा एउटा मोड ल्याउन सक्छ । ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनयता, होन्डुरस, चिली र बोलिभियालगायतका देशहरूमा दक्षिणपन्थी शक्तिले लगातार चुनावी जित हासिल गरेका छन् । तर, लुलाको पुनःनिर्वाचनले यसको गति सुस्त हुँदै गएको हुनसक्ने सङ्केत गर्छ ।
यो नतिजा अमेरिकी मध्यावधि निर्वाचनको ठीक अगाडि आएको छ । यसले सम्पूर्ण अमेरिकी महादेशमा ट्रम्पको नेतृत्वको शक्तिमा ठुलो धक्का पु¥याउन सक्छ । अर्जेन्टिनामा, राष्ट्रपति हाभियर मिलेइ – जसले नियमित रूपमा लुलाको आलोचना गर्दै आएका छन् र बोल्सोनारोलाई पूर्ण समर्थन गरेका थिए – अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि जनमत सर्वेक्षणहरूमा कमजोर बन्दै गएका छन् । चिलीमा, राष्ट्रपति होसे एन्टोनियो कास्टको जनसमर्थनमा अझ तीव्र गिरावट आएको छ ।
मेक्सिकोकी क्लाउडिया शाइनबाउमले भने सायद राहतको सास फेरेकी छिन् । यदि लुलाको हार भएको भए उनलाई यो क्षेत्रमा अझ बढी एक्लो बनाउने थियो, जुन क्षेत्र मेक्सिकोको उत्तरी छिमेकी (संरा अमेरिका) तर्फ ढल्किँदैे थियो । यसको सट्टा, ल्याटिन अमेरिकाका सबैभन्दा बढी जनसङ्ख्या भएका र सबैभन्दा ठुला अर्थतन्त्र भएका दुई देशहरू निकट भविष्यसम्म दृढतापूर्वक वामपन्थी धारमै रहनेछन् ।
यस क्षेत्रमा देखिएको दक्षिणपन्थी झुकाव समाप्त भयो भनेर घोषणा गर्न अझै चाँडो नै छ । तर, लुलाको जितले यो सम्भावना उत्कर्षमा पुगिसकेको सम्भावना बढाएको छ । ब्राजिल ट्रम्पको ‘अमेरिकी महादेशहरूको ढाल’ (Shield of the Americas) मा सामेल हुने छैन; यद्यपि, ‘डनरो डक्ट्रिन’ (Donroe Doctrine) अझै एउटा खतराको रूपमा कायम छ तर यसको प्रभाव उत्कर्षमा पुगिसकेको समय सायद अब बितिसकेको हुनसक्छ ।
लुलाको जित समाजका सबैभन्दा सीमान्तकृत र अधिकारविहीनवर्गका लागि लड्दै बिताएको जीवनको सार्थकताको पुष्टि हो । यसको महत्व ब्राजिलको सीमाभन्दा धेरै परसम्म फैलिएको छ । लोकतन्त्र, बहुपक्षीयता, अन्तर्राष्ट्रिय कानुन, पर्यावरण संरक्षण र ‘ग्लोबल साउथ’ (वैश्विक दक्षिण/विकासशील राष्ट्रहरूको समूह) को सार्वभौमसत्ताका पक्षधरहरूका लागि यसले एउटा सशक्त सन्देश दिन्छ : अति दक्षिणपन्थीहरूको उदय न त अपरिहार्य छ, न त उल्ट्याउनै नसकिने खालको नै छ । ब्राजिलमा होइन । न त अन्य कतै ।
Leave a Reply