साम्राज्यवादका प्रमुख हतियारहरू
- कार्तिक १६, २०८३
कुनै पनि राष्ट्रमा पुस्तान्तरण त्यस राष्ट्रका युवाको सोच, अभिभावकको अनुभव, समाजको चेतना र राज्यको दूरदृष्टिमा निर्भर हुन्छ । समाज केवल मानिसहरूको समूह होइन† यो विचार, संस्कार, सम्बन्ध, जिम्मेवारी र साझा सपनाहरूको सङ्गम हो । नेपालको सन्दर्भमा पुस्तान्तरणको चर्चा गर्दा हामीले आर्थिक विकास, शिक्षा, रोजगारी, प्रविधि र राजनीतिक स्थिरताका साथै परिवार, समाज र राष्ट्रमा बढ्दै गएको युवा र अग्रज पुस्ताबिचको दुरीलाई गम्भीरतापूर्वक बुझ्न आवश्यक छ । किनकि, फरक पुस्ताबिचको सहकार्य र समन्वयबिना समुन्नत राष्ट्र निर्माण गर्न कठिन हुन्छ ।
आज नेपाली समाज परिवर्तनको एउटा महत्वपूर्ण मोडमा उभिएको छ । एकातिर परम्परा, संस्कृति, पारिवारिक मूल्य र सामूहिकताको लामो इतिहास छ भने अर्कोतिर आधुनिक शिक्षा, प्रविधि, विश्वव्यापीकरण, व्यक्तिगत स्वतन्त्रता र नयाँ जीवनशैलीप्रतिको आकर्षण बढ्दो छ । यी दुई पक्षबिच सन्तुलन कायम गर्न सके नेपाली समाजले नयाँ सम्भावनाको ढोका खोल्न सक्छ तर संवाद र समझदारीको अभाव भए यही परिवर्तन द्वन्द्व, निराशा र सामाजिक दुरीको कारण बन्न सक्छ ।
नेपाली समाज, शक्ति र सम्भावना
नेपाल प्राकृतिक, सांस्कृतिक र मानवीय सम्पदाले समृद्ध देश हो । यहाँको भौगोलिक विविधता, सांस्कृतिक बाहुल्यता, सहिष्णुता, सामुदायिक सहयोग र पारिवारिक सम्बन्ध समाजका महत्वपूर्ण शक्ति हुन् । कठिन परिस्थितिमा एक अर्कालाई सहयोग गर्ने नेपालीहरूको परम्परा आज पनि हाम्रो सामाजिक पुँजी हो ।
त्यसैगरी, युवा जनशक्ति नेपालको अर्को ठुलो सम्भावना हो । उचित शिक्षा, सीप, प्रविधि र अवसर उपलब्ध गराउन सके युवाले कृषि, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, उद्यमशिलता, अनुसन्धान र सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्छन् । विश्वका विभिन्न देशमा रहेको नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई स्वदेशको विकाससँग जोड्न सके त्यसले भविष्य निर्माणमा थप ऊर्जा प्रदान गर्न सक्छ ।
नेपाली समाजको अर्को सकारात्मक पक्ष परिवर्तनप्रतिको बढ्दो चेतना हो । नयाँ पुस्ता पुराना समस्यामाथि प्रश्न उठाउन, समानता खोज्न, आफ्नो अधिकार बुझ्न र नयाँ सम्भावना पहिचान गर्न इच्छुक छ । यसलाई केवल विद्रोहका रूपमा होइन, समाजलाई सुधार्ने अवसरका रूपमा बुझ्नुपर्छ ।
कमजोरी र चुनौती : पुस्तान्तरण र भविष्य निर्माण
सम्भावना प्रशस्त भए पनि नेपाली समाज अनेक चुनौतीबाट मुक्त छैन । गुणस्तरीय शिक्षामा असमान पहुँच, बेरोजगारी, सीप र रोजगारीबिचको दुरी, राजनीतिक अस्थिरता, भ्रष्टाचार, सामाजिक विभेद, आर्थिक असमानता र अवसरको असन्तुलित वितरणले विकासको गतिलाई कमजोर बनाएको छ ।
अर्कोतर्फ, प्रमाण र तर्कभन्दा हल्ला, पूर्वाग्रह र भावनाको आधारमा प्रतिक्रिया जनाउनु हाल युवा पुस्तामा देखिएको चुनौती हो । सामाजिक सञ्जालले सूचना र अभिव्यक्तिको अवसर विस्तार गरेको छ तर गलत सूचना, अनावश्यक तुलना र देखावटी जीवनशैलीले विशेषगरी युवाको मानसिकता तथा पारिवारिक सम्बन्धमा असर पारिरहेको छ । हालको परिस्थितिमा अग्रज पुस्ताले युवा पुस्तालाई सामाजिक सञ्जालका हाउगुजीमा मात्र नरमाई जीवन र जगतमा समय व्यतीत गर्न उचित मार्गदर्शन गर्नुपर्छ ।
विदेश पलायन पनि बहुआयामिक चुनौती बनेको छ । विदेशमा शिक्षा र रोजगारी खोज्नु आफैमा गलत होइन तर स्वदेशमा सम्भावना नदेखेर युवाहरू बाध्यतावश विदेश पलायन भई देशले आफ्नो सिर्जनशील जनशक्ति गुमाइरहेको छ । त्यसैले, युवा पुस्तालाई देशमै बस्न, काम गर्न र भविष्य देख्न सक्ने वातावरण निर्माण गर्नु अग्रज पुस्ताको दायित्व हो ।
एउटै घरमा दुई फरक संसार : पुस्ताबिचको दुरी
आज नेपाली परिवारभित्र देखिने एउटा महत्वपूर्ण समस्या फरक पुस्ताबिचको दुरी हो । अभिभावक र छोराछोरी एउटै परिवारका सदस्यका रूपमा एउटै छानामुनि रहे तापनि उनीहरूको सोच, प्राथमिकता, सपना र जीवनप्रतिको दुष्टिकोण फरक हुनसक्छ । अभिभावकले जीवनलाई सङ्घर्ष, अभाव, त्याग र जिम्मेवारीको अनुभवबाट बुझेका हुन्छन्, उनीहरूका लागि स्थिर पेसा, आर्थिक सुरक्षा, सामाजिक प्रतिष्ठा र पारिवारिक मर्यादा सफल जीवनका महत्वपूर्ण आधार हुन् । उनीहरूले आफ्ना सन्तानले आफूले भोगेका दुःख नदोहो¥याऊन् भन्ने चाहन्छन् तर यसैले उनीहरूको चिन्ता प्रायः माया, सुरक्षा र भविष्यप्रतिको जिम्मेवारीबाट जन्मिएको हुन्छ ।
तर, नयाँ पुस्ता फरक सामाजिक परिवेश र प्रविधिका वातावरणमा हुर्किएको छ । इन्टरनेट, सामाजिक सञ्जाल, विश्वव्यापी अवसर, आधुनिक शिक्षाले उनीहरूको सोच विस्तार गरेको छ । उनीहरूको आफ्नो रुचिअनुसार करियर रोज्न, स्वतन्त्र निर्णय लिन, मानसिक स्वास्थ्यलाई महत्व दिन र जीवनलाई आफ्नै दृष्टिकोणबाट अघि बढाउन चाहन्छन् ।
यहीबाट द्वन्द्व सुरु हुनसक्छ, अभिभावकलाई सन्तानको स्वतन्त्रता लापरबाहीजस्तो लाग्न सक्छ भने सन्तानलाई अभिभावकको अनावश्यक नियन्त्रणजस्तो लाग्न सक्छ । अभिभावकले आफ्नो अनुभवलाई अन्तिम सत्य ठान्न सक्छन्, जबकि छोराछोरीले पुरानो पुस्ताको अनुभवलाई वर्तमान परिस्थितिसँग नमिल्ने ठान्न सक्छन् ।
वास्तवमा, दुवै पक्षको दृष्टिकोणमा केही सत्यता रहन सक्छ । अनुभवबिनाको उत्साहले गलत निर्णय निम्त्याउन सक्छ तर नयाँ सोचलाई अस्वीकार गर्ने कठोरताले सम्भावनाका ढोका बन्द गर्न सक्छ । समस्या पुस्ता फरक हुनु होइन† समस्या फरक विचारलाई बुझ्ने धैर्य र संवादको कमी हुनु हो ।
अभिभावकका पीडा र अपेक्षा
अभिभावकले आफ्ना सन्तानको भविष्यका लागि आर्थिक, शारीरिक र भावनात्मक रूपमा ठुलो त्याग गरेका हुन्छन् । आफ्नो इच्छा अधुरो राखेर सन्तानलाई राम्रो शिक्षा दिनु, उनीहरूको आवश्यकता पूरा गर्नु र सुरक्षित भविष्य सुनिश्चित गर्नु धेरै अभिभावकको जीवनको मुख्य उद्देश्य हुन्छ तर जब सन्तानले उनीहरूको सुझाव अस्वीकार गर्छन्, परिवारसँग समय बिताउन चाहँदैनन् वा आफ्ना निर्णयमा अभिभावकलाई सहभागी गराउँदैनन् तब उनीहरू उपेक्षित महसुस गर्न सक्छन् । विशेष गरी वृद्धावस्थामा सन्तानसँगको भावनात्मक दुरीले एक्लोपन, असुरक्षा र निराशा बढाउन सक्छ ।
अर्कोतर्फ, कतिपय अभिभावकले आफ्ना अधुरा सपना सन्तानमार्फत पूरा गर्न खोज्छन् । आफूले रोज्न नसकेको पेसा, प्राप्त गर्न नसकेको प्रतिष्ठा वा समाजमा स्थापित हुन नसकेको स्थान सन्तानले प्राप्त गरून् भन्ने अपेक्षा राख्छन् । तर, सन्तानको क्षमता, रुचि र परिस्थिति नबुझी आफ्ना इच्छा थोपर्नु उचित हुँदैन । अभिभावकले बुझ्नुपर्ने कुरा के हो भने सन्तानको सफलता उच्च तलब, प्रतिष्ठित पद वा सामाजिक प्रशंसाबाट मात्र मापन हुँदैन । उनीहरू जिम्मेवार, आत्मनिर्भर, नैतिक र सन्तुष्ट नागरिक बन्नु पनि उत्तिकै महत्वपूर्ण उपलब्धि हो ।
छोराछोरीका कठिनाइ र मौन दबाब
पुस्तान्तरणको समस्यामा छोराछोरीका पीडा पनि उत्तिकै महत्वपूर्ण छन् । आजका युवाले प्रतिस्पर्धात्मक शिक्षा, रोजगारीको अनिश्चितता, आर्थिक दबाब, सामाजिक सञ्जालबाट उत्पन्न तुलना र भविष्यप्रतिको अन्योलसँग जुध्नु परेको छ । यस्तो अवस्थामा उनीहरूलाई परिवारबाट प्रोत्साहन र भावनात्मक सहयोग आवश्यक हुन्छ । तर, कहिलेकाहीँ उनीहरूले आफ्नो रुचिअनुसारको विषय पढ्न, मनपर्ने पेसा रोज्न वा आफ्नो समस्या व्यक्त गर्नसमेत कठिनाइ महसुस गर्छन् । अरूका सन्तानसँग तुलना गरिनु, सफल हुन नसक्दा अपमानित हुनु, भावनात्मक समस्यालाई कमजोरी ठानिनु र प्रत्येक निर्णयमा प्रश्न उठाइनुले उनीहरूको आत्मविश्वास कमजोर बनाउन सक्छ ।
कतिपय युवा आफ्नो मनको कुरा अभिभावकसँग खुलस्त भन्न सक्दैनन्, किनकि उनीहरूलाई आलोचना, गाली वा गलत बुझाइको डर हुन्छ । त्यसपछि उनीहरू आफ्ना समस्या साथीभाइ वा सामाजिक सञ्जालमा सीमित गर्न पुग्छन् । यसले परिवारभित्र बाहिरी रूपमा सामान्य देखिने तर भित्रभित्रै भावनात्मक दूरी सिर्जना गर्छ । युवाले पनि बुझ्नुपर्छ कि स्वतन्त्रता भनेको जिम्मेवारीबाट मुक्ति होइन । आफ्नो निर्णयको परिणाम स्वीकार गर्नु, अभिभावकको चिन्ता बुझ्नु, परिवारको आर्थिक तथा भावनात्मक अवस्थाको सम्मान गर्नु र असहमतिलाई मर्यादित ढङ्गले व्यक्त गर्नु परिपक्वताको परिचय हो ।
पुस्तान्तरणलाई दुरी होइन, शक्तिमा बदल्ने उपाय
दुई पुस्ताबिचको दुरी हटाउनु एउटा पुस्ता अर्को पुस्ताजस्तै बन्नु मात्र होइन । बरु दुवैले फरक अनुभव र दृष्टिकोणलाई सम्मान गर्नु हो ।
पहिलो, परिवारमा खुला संवादको वातावरण निर्माण गर्नुपर्छ । अभिभावकले छोराछोरीको कुरा बिचमै काटेर निर्णय सुनाउनुभन्दा पहिले उनीहरूको भावना र तर्क सुन्नुपर्छ । छोराछोरीले पनि असहमति व्यक्त गर्दा अपमानजनक शब्द प्रयोग नगरी आफ्नो विचार स्पष्ट पार्नुपर्छ ।
दोस्रो, निर्णय प्रक्रियामा सहकार्य आवश्यक छ । शिक्षा, करियर, विवाह, आर्थिक योजना वा विदेश जाने निर्णयजस्ता विषयमा आदेश र विद्रोहको बाटोभन्दा छलफल, तथ्य र साझा जिम्मेवारीको बाटो रोज्नुपर्छ ।
तेस्रो, प्रविधि र संस्कृतिबिच सन्तुलन कायम गर्नुपर्छ । युवाले आधुनिक ज्ञान र प्रविधि अपनाउँदै नेपाली भाषा, संस्कृति, इतिहास, सामाजिक उत्तरदायित्व र मानवीय सम्बन्धको महत्व बुझ्नुपर्छ । त्यसैगरी, अभिभावकले पनि नयाँ प्रविधि, बदलिँदो रोजगारीको स्वरूप र आधुनिक पुस्ताका आवश्यकताबारे सिक्न तयार हुनुपर्छ ।
चौथो, मानसिक स्वास्थ्य र भावनात्मक सुरक्षालाई महत्व दिनुपर्छ । दुःख, डर, असफलता र अन्योलबारे कुरा गर्न पाउनु कमजोरी होइन । परिवार यस्तो ठाउँ हुनुपर्छ जहाँ मानिसले आफ्नो समस्या सुनाउँदा अपमान होइन, समझदारी प्राप्त गरोस् ।
पाँचौँ, विद्यालय, समुदाय र राज्यले पनि पुस्ताबिच सहकार्य बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ । अन्तरपुस्ता संवाद, सीप आदानप्रदान, सामाजिक सेवा र सामुदायिक गतिविधिले पुरानो पुस्ताको अनुभव तथा नयाँ पुस्ताको ऊर्जा एकै ठाउँमा ल्याउन सक्छ ।
पुस्तान्तरणमा राज्य, समाज र युवाको भूमिका
नेपालमा पुस्तान्तरण परिवारको सुधारमा मात्र सीमित छैन । यसका लागि राज्य, शैक्षिक संस्था, निजी क्षेत्र, नागरिक समाज र प्रत्येक नागरिकको भूमिका आवश्यक छ ।
समाजले जातीय, लैङ्गिक, भौगोलिक र आर्थिक विभेद कम गर्दै सबै नागरिकलाई समान अवसर उपलब्ध गराउनुपर्छ । युवा पुस्तालाई पनि समाजका विभिन्न गतिविधिमा सरिक गराई, आवश्यकताबमोजिम उचित जिम्मेवारी दिई समाजप्रतिको उत्तरदायित्व बुझाउनुपर्छ । सामाजिक विषयमा निर्णय गर्ने अधिकार अनुभवी व्यक्तिलाई मात्र होइन, युवालाई पनि हुन्छ भन्ने भाष्य निर्माण गर्नुपर्छ । युवा पुस्ता र अग्रज पुस्ताबिच समदुरी कायम गरी समुन्नत, परिष्कृत र आधुनिक समाजको मार्गचित्र कोर्नुपर्छ । परम्पराको नाममा अन्यायलाई संरक्षण गर्नु हुँदैन तर आधुनिकताको नाममा उपयोगी सांस्कृतिक मूल्यलाई तिरस्कार पनि गर्नु हुँदैन ।
युवाले आफ्नो अधिकारसँगै कर्तव्यलाई पनि बुझ्नुपर्छ । नयाँ विचार प्रस्तुत गर्नु, प्रश्न उठाउनु र परिवर्तनको माग गर्नु महत्वपूर्ण छ† तर त्यससँगै अध्ययन, सीप विकास, इमानदारी, उद्यमशीलता र सामाजिक उत्तरदायित्वमा पनि जोड दिनुपर्छ । विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशको विकाससँग जोड्ने अवसर खोज्नु पनि पुस्तान्तरणको एउटा बाटो हो ।
त्यस्तै, अभिभावक र अग्रज पुस्ताले आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्दा आदेशभन्दा प्रेरणा र नियन्त्रणभन्दा विश्वासलाई प्राथमिकता दिनुपर्छ । अनुभव र नवीनताको सहकार्यबाट मात्र दीर्घकालीन परिवर्तन सम्भव हुन्छ ।
निष्कर्ष : पुस्तान्तरणको आधार आपसी विश्वास
नेपाली समाजमा पुस्तान्तरणको विषय न त केवल अग्रज पुस्ताको सोचमा सुरक्षित छ, न त नयाँ पुस्ताको उत्साहमा मात्र निर्भर छ । हाम्रो भविष्य यी दुई पुस्ताबिचको सहकार्य, सम्मान, संवाद र साझा जिम्मेवारीमा निहित छ ।
पुरानो पुस्तासँग अनुभव छ, नयाँ पुस्तासँग नयाँ सम्भावना छ । पुरानो पुस्ताले सङ्घर्षबाट सिकेको धैर्य र जिम्मेवारीलाई नयाँ पुस्ताको सिर्जनशीलता, प्रविधि र परिवर्तनप्रतिको उत्साहसँग जोड्न सकियो भने नेपाली समाजले ठुलो फड्को मार्न सक्छ । हामीले बुझ्नुपर्ने मूल कुरा के हो भने विकास अग्ला भवन, ठुला सडक र आर्थिक वृद्धिमा मात्र सीमित हुँदैन, यसले सम्मानित नागरिक, सक्षम युवा, सुरक्षित बालबालिका, आत्मसम्मानसहित बाँच्न सक्ने ज्येष्ठ नागरिक र संवाद गर्न सक्ने परिवार निर्माण गर्नुलाई पनि इङ्गित गर्छ ।
आजका अभिभावकले सन्तानलाई विश्वास गर्न सिक्नुपर्छ र आजका सन्तानले अभिभावकको अनुभवलाई सम्मान गर्न । राज्यले युवालाई अवसर दिनुपर्छ र युवाले अवसरलाई जिम्मेवारीमा बदल्नुपर्छ । समाजले परिवर्तनलाई स्वीकार गर्नुपर्छ तर आफ्नो मानवीयता र उपयोगी सांस्कृतिक मूल्यलाई पनि जोगाउनुपर्छ ।
अन्ततः नेपाली समाजको उज्ज्वल भविष्य पुस्ताबिचको दुरी बढाएर होइन, उनीहरूबिचको पुल बलियो बनाएर निर्माण हुनेछ । राम्रो भविष्य निर्माण गर्ने जिम्मेवार सहयात्रीका रूपमा स्वीकार गर्नसक्यौँ भने समृद्ध, समावेशी र संवेदनशील नेपाल निर्माण गर्ने सपना साकार हुनसक्छ ।
Leave a Reply