साम्राज्यवादका प्रमुख हतियारहरू
- कार्तिक १६, २०८३
(हाल रास्वपा सरकारका जिम्मेवार व्यक्तिहरू तथा मन्त्रीहरूले बिनाअध्ययन र जानकारी नेपाल–भारत सम्बन्धका बारेमा गलत अवधारणा र अभिव्यक्ति दिँदै आएको हुँदा सबै पाठकको लागि नेपाल–भारत सम्बन्धका गलत समझदारीहरू र सही समाधानका उपायहरूको लागि
नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘नेपाल–भारत सम्बन्ध र भारत’ पुस्तकको खण्ड १ को अध्याय ३ लाई साभार
गरिएको छ –सं.)
श्रीमन नारायण बनारसमा बसेका नेपाली कम्युनिस्टहरूलाई ‘चीन समर्थक, तर रुस समर्थकजस्तो नक्कल गर्नेहरूसँग, नेपाल सरकार ‘सशङ्कित’ भएकोले छिट्टै ‘प्रस्ट्याउन’ चाहनुहुन्थ्यो । तर, समयले बताइदियो कि श्रीमन नारायणको त्यो ठम्याइ पनि उल्टो सिद्ध भयो । बनारस बस्ने नेपाल कम्युनिस्ट पार्टीको एक गुटले रुसी संशोधनवादको ‘विरोध’ भन्ने गर्छ । तर, ‘बङ्गलादेश’ बारे भारतीय थिचोमिचोको समर्थन ग¥यो र नेपाल–भारत वाणिज्य वार्ताबारे चमेरे नीति लियो । बनारसकै अर्को गुटले रुसलाई ‘सामाजिक–साम्राज्यवाद’ भन्न स्वीकार नगरेको मात्रै होइन कि समर्थनसमेत गर्छ, यो गुट अहिले दिल्लीमा कुञ्जिएको छ । आखिर नेपाल सरकारलाई ‘सशङ्कित’ पार्ने र ‘आतङ्कित’ पार्ने तत्व ‘चीन समर्थक’ कम्युनिस्टहरू नभएर भारत समर्थक, अझ इन्दिरा समर्थक प्रजातन्त्रवादी नै साबित भए । यसमा पनि श्रीमन नारायणको ठम्याइ तासको घरजस्तै भत्क्यो । हो, उहाँको त्यस ठम्याइले बनारस बस्ने केही नेपाली कम्युनिस्टहरूलाई एक अनावश्यक दबाब प¥यो होला भन्ने अनुमान गर्न सकिन्छ ।
श्रीमन नारायणले नेपालमा आफ्नो प्रयास नेपाल–भारतको आपसी सम्बन्धसम्म मात्रै सीमित नराखेर चीनविरोधी गतिविधिका सबै प्रयासहरू गर्नुभएको थियो भन्ने उहाँकै भनाइहरूबाट प्रस्ट छ । नेपाल–चीन सम्बन्धमा तीतोपना ल्याउने उहाँको प्रयासले केही नगरे पनि नेपाललाई चीनबाट पाइने नेपाल तराईका केही विकास योजनाहरू भने जरुरै रोकिए । नेपाल–चीन सम्बन्ध धमिल्याउने कुरामा उहाँ असफल जरुरै हुनुभयो किनभने त्यो उहाँको सीमाभन्दा बाहिरको कुरो थियो । नेपाल तराईमा चीनको सहयोगबाट बनिने रद्द भएका योजनाबाट चीनलाई होइन, नेपाललाई फाइदा हुन्थ्यो र भारतलाई होइन, नेपाललाई नोक्सान भयो । मित्रताको निम्ति कहिलेकाहीँ सानातिना योजनालाई त्याग्नु अथवा तीतो घुटको पनि मीठो मानी निल्नुपर्ने हुन्छ । श्रीमन नारायण यसमा नेपालमा सफल हुनुभएको थियो ।
तर, उहाँको ‘भारत र नेपाल’ को एक तीतो सारांश–नेवार वा केही नेपाली जनसमुदाय ‘चीन समर्थक’ र ‘भारतविरोधी’ र ‘माओवादी’ हुन् भन्ने ठम्याइलाई प्रस्ट नगरी हुन्न । तथ्यले साबित गर्नेछ कि उहाँको त्यो ठम्याइ मौलिकरूपले खोटो छ । उहाँ जस्तै भारतका अरू पनि नेपालविद्हरूमा त्यसबारे खोटो ठम्याइ छ । वास्तविक स्थिति र तथ्यबाट उहाँहरूलाई जिब्रो टोक्न लगाउनेछ र आफ्नो ठम्याइमा पुनःविचार गराउन घच्घच्याउनेछ ।
जातीयरूपले नेवारहरूमात्रै होइनन्, नेपालका कुनै पनि जाति भारतविरोधी छैनन् । तर, राजनैतिकरूपले नेपालका सबै जातिका जनता भारतीय एकाधिकार पुँजीको थिचोमिचोको विरोधी छन् । यो नेपाली जनतामा बढ्दै गएको राष्ट्रिय भावना र प्रजातान्त्रिक भावनाको विकासको लक्षण हो । अर्को शब्दमा नेपाली समाजमा वर्गीय चेतनाको विकासको सङ्केत हो । त्यस्तै नेपाली जनता चिनियाँ जनताको साम्राज्यवाद र उपनिवेशवादविरोधी सङ्घर्ष र अडानलाई समर्थन गर्छन् र तिनीहरूको आश्चर्यजनक चौतर्फी विकासलाई एक एसियाली र छिमेकी देशको नाताले प्रशंसा गर्छन् र त्यसको सिको पनि गर्छन् । यसलाई नै ‘चीन समर्थक’ संज्ञा दिने हो भने भारत नै एसियामा सबभन्दा पहिलो र सबभन्दा ठुलो ‘चीन समर्थक’ थियो । आज नेपाली जनता चीनको विकास र प्रगतिबाट प्रभावित भएजस्तै हिजो भारतको स्वतन्त्रता आन्दोलन र प्रगतिबाट प्रभावित थिए । के यस दृष्टिले नेपाल ‘भारत समर्थक’ हो ? आज नेपालको घर–घरमा माओ त्सेतुङ र चीनका तस्बिरहरू देखिएजस्तै भगत सिंह, चन्द्रशेखर ‘आजाद’, सुभाषचन्द्र बोस, गान्धी, नेहरू र भारतका तस्बिरहरू छन् । कोठाको एक कुनामा ताजमहल पनि पाउनु हुन्छ । नेपालको प्राचीन हरेक मन्दिरको ढोका र तोरणमा चीनको ‘ड्राय्गन’ (छेफो) का मूर्ति, सिंह र चिनियाँ कला कुँदिएको हुन्छ भने देव–देवता हिन्दू धर्मशास्त्रअनुसार कुँदिएको हुन्छ । यसले थाहा हुन्छ– श्रीमन नारायणको ‘चीन समर्थक’ धारणा एक दृष्टिदोषमात्रै हो । हाइड्रोजन र अक्सिजनको योगले नयाँ वस्तु पानीको अस्तित्व भएजस्तै चिनियाँ र भारतीय संस्कृतिको योगबाट नेपालले नयाँ कला र संस्कृतिको विकास ग¥यो । यसकारण, नेपाललाई ‘चीन समर्थक’ को तक्मा लगाउन खोज्नु वा नेपाललाई ‘भारत समर्थक’ बनाउन खोज्नु दुवै त्यतिकै अवास्तविक हुन् । हो, नेपालका प्रगतिशील तत्व ‘माओवादी’ छन्, जस्तै भारतीय र संसारका अरू प्रगतिशील तत्व हुन्छन् । किनभने, ‘माओवादी’ लाई ‘भारत विरोधीवाद’ को रूपमा लिनु त दर्शन र विज्ञानलाई साँघुरो शब्दावलीमा थुन्नु जतिकै हो । माओ त्सेतुङ विचारधारा त साम्राज्यवाद अन्तिम अवस्थामा डुबिरहेको र समाजवाद विश्वव्यापी विजयतिर बढिरहेको युगको माक्र्सवाद हो । यो हाम्रो युगको लेनिनवाद हो । माओ त्सेतुङ विचारधारालाई एक विश्वव्यापी विज्ञानको रूपमा अध्ययन गर्नुपर्ने दर्शन हो । यसकारण, यसबारे श्रीमन नारायणको हेराइ सा¥है काँचो र केटाकेटी छ । जातीयरूपले हेरेको खण्डमा नेपालको कम्युनिस्ट आन्दोलनमा नेवार माक्र्सवादीहरूको योगदान कम छैन (प्रसङ्गले गलत अर्थ नलागोस् भनेर भनिहालूँ–माक्र्सवाद र माक्र्सवादीहरूलाई जातीय घेराभित्र गुन्नु माक्र्सवादविरोधी कुरा हो ।) तर, सङ्ख्याको हिसाबले तिनीहरूको आकार सानो छ । मनमोहन अधिकारी, डी.पी. अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, कमलराज रेग्मी, केदारनाथ खनाल, लीलाराज उपाध्याय, बासुदेव ढुङ्गाना, भरतमोहन अधिकारी, कमल कोइराला, राधा घिमिरे, पुण्य आचार्य आदि ठुलो सङ्ख्यामा ब्राह्मण जातिबाट राष्ट्रिय र अञ्चलीय नेताहरू देखापरेका थिए । त्यस्तै प्रगतिशील साहित्य फाँटमा श्यामप्रसाद उपाध्याय, गोविन्दप्रसाद लोहनी, भवानी शर्मा, मदनमणि दीक्षित, धनुषचन्द्र गौतम, बालकृष्ण पोखरेल, सरिता ढकाल, आनन्ददेव भट्ट, कृष्णप्रसाद शर्मा, ‘सर्वहारा’, देवीप्रसाद ‘पोखरेल’ (केबुलपुरे किसान), अरविन्द रिमाल, गोविन्द भट्ट आदि थिए । नयाँ पुस्तामा पनि ब्राह्मण परिवारबाट थुप्रै कम्युनिस्ट नेताहरू देखापरेका छन् । एकदेव गुरु, मदन पोखरेल, हरेराम शर्मा, मधुगुरु आदि पश्चिम नेपालबाट देखिन्छन् भने पूर्वबाट शिवप्रसाद शिवाकोटी, श्रीनारायण ओली, धर्म घिमिरे, राधा मैनाली, ऋषि देवकोटाजस्ता नयाँ नेताहरू थपिँदै छन् । प्रगतिशील साहित्यको फाँटमा पनि मोदनाथ प्रश्रित, गोविन्द ज्ञवाली, रामचन्द्र भट्टराई, यू.के. झापा, प्रकाशचन्द्र मैनाली, मोहनचन्द्र अधिकारी आदि विभिन्न ब्राह्मण परिवारबाट लेखक, कवि र कलाकारहरूको नयाँ पुस्ता माथि उठ्दै छन् ।
त्यस्तै अरू जातिबाट डा. केशरजङ्ग रायमाझी, हिक्मत सिंह, कमर शाह, निर्मल लामा, पी.एन. राणा, मोहनविक्रम सिंह, कृष्णराज बर्मा, विष्णुकुमार तुम्बाहम्फे, सहिद उद्दीन, मकबुल शाह, सूर्यनाथ यादव, हरदयाल, जयगोविन्द आदि नाउँ चलेका कम्युनिस्ट नेताहरू देखापरेका थिए । नयाँ पुस्तामा हर्षबहादुर खड्का, डम्बर बान्या (क्षेत्री) मङ्गलमणि सुनार, बुद्धसिंह मेचे आदि देखापरेका छन् । साहित्यको फाँटमा भूपी शेरचन, टी.आर. विश्वकर्मा, पी.वी. सिंह, डी.वी. सिंह, मदन भण्डारी, गणेश पण्डित, पदमसिंह कार्की, गाउने साहिँलो आदि देखापरेका थिए र देखा पर्दै छन् । मजदुर र किसान आन्दोलनमा काम गर्दागर्दै सहिद भएका र पछि रोगले मरेकाहरूमध्ये एकदेव आले, मुखलाल महतो, कंछु यादव, अघोरी यादव, डी.पी. शर्मा, कैलाशपति र झापाबाट नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन्द्र राजवंशी, रामनाथ दाहाल आदि र अरू ठाउँमा सहिद भएका थुप्रै नेता र कार्यकर्ता ब्राह्मण र अरू जातिका छन् ।
नेवार जातिबाट पुष्पलाल श्रेष्ठ, तुल्सीलाल अमात्य, शम्भुराम श्रेष्ठ, रामबहादुर श्रेष्ठ पुराना नेताहरूमध्ये हुन् भने सिद्धिलाल सिंह, आजाद, बी.ए. कृष्ण, विष्णु मानन्धर, नरेश शाक्य आदि नयाँ पुस्तामा आउँछन् । प्रगतिशील साहित्यको फाँटमा हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, माणिकलाल श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ आदि प्रमुख छन् । सहिद हुनेहरूमा नेपाली काङ्ग्रेसको सरकारको गोलीबाट चिनियाँकाजी श्रेष्ठ र पञ्चायती व्यवस्थाको गोलीबाट झापाका नारायण श्रेष्ठ हुन् । माथिका ब्राह्मण, क्षेत्री र अरू जातिहरूको तुलनामा नेवार जातिबाट कम नेताहरू र साहित्यकारहरू देखापरेका छन् । साँचो भन्ने हो भने नेवार, ब्राह्मण र क्षेत्री जातिका बुद्धिजीवीहरू नै पहिले माक्र्सवादी दर्शनको नजिक पुगे । तिनीहरूले नै देशका अरू जाति र मजदुर – किसानहरूमा साम्यवादी विचारहरू फैलाएका थिए । आज त्यो विचारधारा देशको तल्लो जाति र वर्गमा पुगिसकेको छ । माक्र्सवाद एक मानसिक शक्ति हो, नेपालमा अब त्यो भौतिक शक्तिमा फेरिने अवस्थामा छ ।
माथिका सबै तथ्यहरूले नेपालमा प्रगतिशील विचारधारा र कम्युनिस्ट सिद्धान्त फैलिनुमा जातिवादी कारण होइन बरु त्यो त नेपाली जनताको राजनैतिक चेतनाको विकासको फल हो भने सावित गर्छ । (तर यस कुरालाई भने बिर्सनु हुन्न कि माथि उल्लेख गरिएका कति व्यक्तिहरूले आफ्नो प्रगतिशील विचार र कम्युनिस्ट सिद्धान्तलाई त्यागिसकेका छन् ।) हिन्दू–सामन्ती राज्यहरूमा ब्राह्मण जातिले अरू जातिको तुलनामा पढाइ–लेखाइ र अरू क्षेत्रमा विशेष सहुलियत पाएको हुन्छ, जसमा ऐतिहासिक पृष्ठभूमि छ । ब्राह्मण जाति स्वयं पहिले शासकवर्गका थिए । समाजको विकासले श्रम विभाजन सुरु भयो र श्रम विभाजनले समाजलाई दक्षता दियो र समाज अगाडि बढ्यो । दास युग सामन्त युगमा भित्रिँदै गयो । ब्राह्मण जाति शासकवर्गबाट शासनको बौद्धिक पक्षमा दक्षता हासिल गर्दै गयो ।
अब त्यो जाति गुरुकुलका कुलपति, शिक्षा, कला र संस्कृति, अनि नीति विधि–विधानका हर्ताकर्ता भए । विद्या, अध्ययन र अध्यापन तिनीहरूको पेसा बन्यो । संस्कृत विद्यालयहरूमा छात्रवृत्ति पाएर बौद्धिक विकास गर्ने सहुलियत पाउँदै गए । त्यस पेसा र सहुलियतले गर्दा नै अरू जातिको तुलनामा ब्राह्मण जातिबाट बढी सङ्ख्यामा बुद्धिजीवीहरू तयार हुन गएको हो । बुद्धिजीवीहरू माक्र्सवादजस्तो वैज्ञानिक दर्शनप्रति आकर्षित हुनु स्वाभाविक पनि हो । यो कुरो भारतमा पनि लागू छ । भारत धर्मनिरपेक्ष र गणतान्त्रिक देश मानिए पनि जातीय सहुलियतको सामन्ती संस्कार भने बाँकी नै छ । यो हिन्दू साम्राज्यकै सिलसिला र बाँकी बक्यौता हो । यसकारण, भारतीय कम्युनिस्ट आन्दोलनका पुराना नेताहरू ब्राह्मण र अरू माथिल्ला जातिबाटै धेरै थिए । आज पनि भारतका कति राज्यहरूमा यो अपवाद छैन । त्यस्तै नेपालमा पनि राणाकालमै आर्थिकरूपले अगाडि बढेका, शाह र राणाहरूका गुरु–पुरोहित, पण्डित र चाकडीबाज ब्राह्मण परिवारले जागिर, बक्सिस, जमिनदारी पाएर आर्थिकरूपले सबल भए । तिनीहरूकै छोरा–छोरीहरू भारतका विभिन्न सहरहरूमा संस्कृत र अङ्ग्रेजी शिक्षा हासिल गर्ने मौका पाउँदै गए । अध्ययनकै सिलसिलामा तिनीहरू भारतीय स्वतन्त्रता आन्दोलनको आँधीबेहरीमा हुरिए । त्यसकै प्रभावले तिनीहरूमा पनि देशभक्ति र साम्राज्यवादविरोधी भावना बढ्दै गयो । भारतीय प्रगतिशील जनताकै संसर्गमा तिनीहरू माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारासम्म पुगेका थिए ।
Leave a Reply