भर्खरै :

खराब नियत बोकेको पार्टी र नेताको हातमा सत्ता पुग्दा जनताले दुःख पाए

खराब नियत बोकेको पार्टी र नेताको हातमा सत्ता पुग्दा जनताले दुःख पाए

भक्तपुर, १२ चैत । “राजनीति तपस्या, त्याग र बलिदानको क्षेत्र भएकोले राजनीतिमा एउटा पुस्ताले सङ्घर्ष गरेर पनि नपुग्ने हुन्छ† यसकारण, नयाँ पुस्तालाई क्रान्तिकारी बनाउनु जरुरी छ । पुँजीवादी सरकारले नयाँ पुस्ता (युवा) लाई विद्यालय र विश्वविद्यालयको शिक्षा नदिने, वैदेशिक रोजगारीमा पठाउने र चेलीबेटी बेचबिखनसमेत गर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले गणेश माध्यमिक विद्यालय भार्वाचोको आयोजनामा नेमकिपाका अग्रज कार्यकर्ता तथा गणेश माविका संस्थापक ज्ञानबहादुर न्याइच्याईको १३ औँ स्मृति सभामा सोमबार व्यक्त गर्नुभएको हो ।
सचिव सुवालले राजनीतिमा पारिवारिक दुःख वा अन्य पीडा भए पनि रोएर बस्ने होइन सामना गनुपर्नेमा जोड दिँदै दुई सय वर्षअघि सामन्तवाद र भूदास प्रथाविरुद्ध लडेका खान्दानी वर्गका छोराछोरीहरूले साइवेरियाको सजायलाई स्वीकार गरे तर आत्मसमर्पण नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दरबार अर्थात सामन्ती र पुँजीवादी राजनीतिको नेतृत्व गरेकाहरूबाट देशलाई धोका भइरहेको छ । सन् १८१६ को सुगौली सन्धिको बेला नेपालको प्रतिनिधित्व गरेर गएका गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले आ–आफ्नो लागि बेलायती–भारतसँग भारतमा जग्गा जमिन जोडेर नेपालको सीमा खुम्च्याएका थिए । राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायत भ्रमण गएपछि अङ्गे्रजको भक्त भए भने बेलायती उपनिवेशको विरोध गरेका भारतीय कामदार जनतालाई दबाउन जङ्गबहादुर नेपाली सेना लिएर गएको हुँदा सर्वहारा वर्गका नेता कार्ल माक्र्सले राणा प्रधानमन्त्री जङ्गबहादुरलाई बेलायती साम्राज्यवादको ‘कुकुर’ बताएका थिए ।”
गोर्खाका राजा नरभूपाल शाहको छोरा पृथ्वीनारायण शाहले भक्तपुरका राजा रणजीत मल्लका छोरासँग मित लगाएर काठमाडौं उपत्यकामा आक्रमण गरेको इतिहासबारे चर्चा गर्दै उहाँले भारतीय शासक वर्ग दलालहरूले निर्वाचनमा स्थानीय जनताको भेषभूषा लगाएर नेपाली जनतालाई धोका दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा दरबारका शाह र राणाहरूबिचको वैवाहिक सम्बन्धबाट पनि शासन सत्ता लम्ब्याइएको थियो । अहिले सिंहदरबारको नेतृत्व गरेकाहरू सुन तस्करी गर्ने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने, ललिता निवासको सरकारी जग्गा र थबहीको सरकारी कमलपोखरी व्यक्तिको नाममा दर्ता गराई भवन बनाउन दिनेहरू हुन् । देशभक्त र क्रान्तिकारीहरूले सरकारको देशघाती कामको विरोध गर्नु आवश्यक छ ।”
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले ज्ञानबहादुर न्याइच्याई किसान परिवारमा जन्मिए तापनि जीवनपर्यन्त पार्टीको सिद्धान्त अविचलितरूपले अँगाल्ने, सरसफाइ अभियानका अभियन्ता, स्पष्ट वक्ताका रूपमा चिनिने व्यक्तित्व थिए भन्दै नयाँ पुस्ताले अग्रजहरूले खनेको गोरेटोलाई फराकिलो पार्न लाग्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले नेता न्याइच्याई कुनै किसिमको स्वार्थमा नफसी देशभक्तिपूर्ण आन्दोलनमा समर्पित रहने योद्धा हुन् भन्नुभयो ।
भनपा वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले पार्टीको नीति निर्देशनअनुसार वडा समितिले शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा सामाजिक कार्यमा वडावासी र स्थानीयसँग छलफल र सहकार्य गर्दै निर्णय प्रक्रियामा जाने गरेको बताउनुभयो ।
विद्यालयका संस्थापक सदस्य कृष्णबहादुर दुगुजूले विद्यालय जीवन नभएको तत्कालीन समयमा भक्तपुरको पश्चिमी भेगमा गणेश माविको स्थापना गरेको चर्चा गर्दै स्थलगत निरीक्षण गरी निर्णय प्रक्रियामा जाने व्यवहारले जनताको पक्षमा निर्णय हुने विश्वास नेता न्याइच्याईमा रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक गणेशराम थुसाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका १० जना विद्यार्थीहरूलाई ज्ञानबहादुर स्मृति छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा शिक्षिका सुशीला न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *