भर्खरै :

असान्जले साम्राज्यवादबारे जे सिकाए

असान्जले साम्राज्यवादबारे जे सिकाए

सत्यले मात्र हामीलाई मुक्त गर्दैन जस्तो छ । पुँजीवादी समाजमा सत्यले हामीलाई बन्द कोठामा थुन्न सक्छ । जुलियन असान्जसँग यस्तै भयो । सत्तासामु उभिएर सत्य बोल्दा उनी थुनिनुप¥यो ।
आज विकिलिक्सका संस्थापक बेलायतको कुख्यात बेल्मार्स कारागारमा पिल्सिँदै छन् । उनी संरा अमेरिकामा सुपर्दगी गरिने मिति कुर्दै छन् । अमेरिकामा उनीमाथि लगाइएको आरोप पुष्टि भएको खण्डमा उनलाई १७५ वर्ष कैद सजाय हुनेछ । उनीमाथि १८ आरोप छन् । यसमध्ये १७ गुप्तचरीसँग सम्बन्धित छन् । सन् २०१० मा लाखौँ गुप्त दस्तावेजहरू प्रकाशमा ल्याएको भनेर असान्जमाथि यी आरोप लगाइएका हुन् । आरोप प्रमाणित भएमा उनी पनि समाजवादी नेता युजिन डेब्स, अराजकतावादी नेतृ एम्मा गोल्डमेन र विकिलिक्सकै विसलब्लोअर वा सचेतक चेल्सी मानिङको अवस्थामा पुग्नेछन् । युद्धको विरोध गरेको हुनाले यी तीनैजनालाई अमेरिकी कानुन ‘गुप्तचरी ऐन १९१७’ को सिकार बनाइएको थियो ।
असान्जकी पत्नी अधिवक्ता स्टेला असान्जले आफ्ना पतिलाई अमेरिका सुपुर्दगी गर्नु मृत्युदण्ड दिनुबराबर भएको बताएकी छिन् । असान्ज शारीरिक र मानसिकरूपमा नष्ट जीर्ण भइसकेका छन् । उनले अधिकतम निगरानी हुने बेल्मार्स कारागारमा पाँच वर्ष बिताइसकेका छन् । बेल्मार्सलाई बेलायतको ग्वान्टानामो खाडी भनिन्छ । त्यहाँ धेरै कैदीलाई दिनको २२ घन्टा एकान्त कालकोठरीमा राखिन्छ ।
पत्रकारिता गर्नु नै असान्जको अपराध बन्यो । असान्ज र विकिलिक्सले संरा अमेरिका र उसका साझेदार देशहरूले ‘आतङ्कवादविरोधी युद्ध’ को नाममा गरेका युद्ध अपराध र रचेका झूटहरूलाई उदाङ्ग्याए । संसारभरिका बाँकी सबै मिडियाले गरेभन्दा धेरै खुलासा एक्लै असान्जले गरे । उनले हजारौँ चुहावट भएका पत्राचार, यातना निर्देशिका, गुप्त सैन्य प्रतिवेदन र युद्धग्रस्त क्षेत्रमा सर्वसाधारणको हत्या गरिएका फुटेजहरू बाहिर ल्याए ।
विकिलिक्सले सार्वजनिक गरेको सबैभन्दा बढी हेरिएको भिडियो ‘कोलेटरल मर्डर’ थियो । यो फुटेज सन् २००७ मा इराकको राजधानी बगदादमा एउटा अपाचे हेलिकप्टरबाट खिचिएको थियो । त्यसमा दुई अमेरिकी सैन्य अधिकारीको कुराकानी देखाइएको छ । तिनीहरूलाई इराकीहरूको एउटा समूहमाथि अन्धाधुन्ध गोली हान्न अनुमति दिइएको थियो । अमेरिकी अधिकारी आदेश दिन्छन् :
तिनीहरू सबैलाई नष्ट गर ।
गोली हानिराख । हानिराख ।
हेर–हेर यी मठ्यालासलाई ।
राम्रो ।
त्यो हवाई हमलामा सात सर्वसाधारण इराकीहरू मारिए । तीमध्ये दुईजना रोयटर्सका पत्रकार थिए । घाइतेहरूलाई सघाउन खोज्दा अमेरिकी सिपाहीहरूलाई तिनीहरूमाथि गोली चलाउन आदेश दिइएको थियो । यसपालि घाइतेहरूलाई सघाउन छोडेका दुई वयस्क सर्वसाधारणको हत्या गरियो र तिनीहरूसँगै तिनका दुई बालबच्चा पनि मारिए ।
‘कोलेटरल मर्डर’ एउटा झलकमात्र थियो । यद्यपि, इराक कब्जा गर्दा सर्वसाधारण जनताको हत्या कति साधारण थियो भन्ने त्यसबाट स्पष्ट भयो ।
सन् २०१० मा विकिलिक्सले अमेरिकी सुरक्षा घेराभित्र थुनामा रहेका इराकी बन्दीहरूलाई कुटपिट गरिएको, आगो झोसिएको र कोर्रा लगाइएको खुल्ने हजारौँ दस्तावेज सार्वजनिक ग¥यो । सन् २००७ जूनमा अमेरिकी सैनिकहरूले दिएको प्रतिवेदनमा लेखिएको थियो, “एउटा पीडितलाई मोसुल जनरल अस्पतालमा सघन उपचार गरिएको थियो । उपचारका क्रममा उसको दाहिने खुट्टा, देब्रे खुट्टाका केही औँला र दुवै हातका केही औँलालाई चक्कुले तलैबाट काटियो । रसायन वा एसिडले शरीरको धेरै भाग जलेको थियो भने छाला कुहिएको थियो ।”
अर्को खुलासामा ग्वान्टानामो खाडीको अमेरिकी कारागारको निर्देशिका थियो । त्यसमा अमेरिकी सेनाले केही कैदीलाई रेडक्रसका निरीक्षकको आँखाबाट लुकाइरहेको र केही नयाँ कैदीलाई दुई हप्तासम्म एकान्त कालकोठरीमा राखेर निरीक्षकहरूलाई देखाउन निकाल्ने गरिएको उल्लेख थियो ।
सन् २०१० मा विकिलिक्सले अफगान युद्ध विवरण सार्वजनिक ग¥यो । त्यसमा ९१ हजार गुप्त दस्तावेज थिए । त्यसबाट अमेरिकी सेनाले बताएभन्दा धेरै अफगानी सर्वसाधारण मारिएको खुलासा भयो । सन् २००७ को एउटा घटनामा अमेरिकी विशेष दस्ताले ‘उच्चस्तरीय व्यक्ति’ बास बसिरहेको भनेर एउटा घरको हाताभित्र २ हजार पाउन्ड बम खसालेको थियो । अमेरिकी सेनाका वरिष्ठ कमान्डरले त्यस घटनामा १५० तालिबान लडाकाहरू मारिएको बताए । तर, विकिलिक्सका दस्तावेजहरूबाट त्यसमा कम्तीमा ३०० सर्वसाधारणको मृत्यु भएको देखियो । असान्जले ‘अफगान फाइल्स’ मा टिप्पणी लेखे, “युद्धकै समयमा प्रकाशित भएको युद्धको सबैभन्दा विस्तृत इतिहास ।”


विकिलिक्स यमनमा साउदी अरबको हस्तक्षेपमा अमेरिकाले दिएको वित्तीय र सैन्य सहायता उदाङ्ग्याउने पहिलो मिडिया पनि बन्यो । ‘यमन फाइल्स’ ले मध्यपूर्वको गरिबतम् मुलुकमा अमेरिकी खुफिया सैन्य संलग्नताको वास्तविक आकार प्रकाशमा ल्यायो । एउटा सन्देशमा यमनका राष्ट्रपति अलि अब्दुल्लाह सालेहले अमेरिकी राजदूतलाई भन्छन्, “हामीले यी बम तपाईँहरूको नभई हाम्रा हुन् भनिरहनेछौँ ।” यी तथ्य सामान्य ज्ञान बन्नुभन्दा धेरै पहिले नै विकिलिक्सले अमेरिकाले यमनमा प्रयोग गर्नका लागि साउदी अरबमा जहाजका जहाज हातहतियार पठाएको खुलासा गरेको थियो । यद्यपि, अमेरिकाले यमन द्वन्द्वमा आफ्नो संलग्नता नरहेको बताउन छोडेन ।
मूलधारका मिडियाले विकिलिक्सका खुलासाहरूबाट अकूत नाफा कमाए । तर, असान्जलाई दुःख पर्दा बेवारिसे छोडे । उनको पत्रकारिताले अमेरिकी गुप्तचर र तिनका सहयोगीहरूलाई खतरामा पारेको अपुष्ट दाबीमा मूलधारे मिडियाले होमा हो मिलाए । पोहोर साल ‘सिड्नी मर्निङ हेराल्ड’ ले आफ्नो सम्पादकीयमा जुलियनको ‘लापरबाही’ ले उनलाई ‘आफैँले खनेको रसातलमा फसाएको’ लेख्यो ।
समय बित्दै जाँदा अस्ट्रेलियाका धेरै समाचार माध्यम असान्जलाई अस्ट्रेलिया फर्काउनुपर्ने पक्षमा उभिएका छन् । उनले उदाङ्ग्याएका धेरै शक्तिशाली व्यक्तिहरू अहिले सत्तामा छैनन् । त्यसैले उनको पक्षमा आवाज चर्किएको हो । तर, धेरैजसो मिडियाले अझै पनि असान्जलाई आफूजस्तै पत्रकार नमानी प्रतिशोध साँध्ने ह्याकर ठानेका छन् । एक हदसम्म तिनीहरूको ठम्याइ ठिकै हो । असान्ज र चेल्सी मानिङजस्ता विकिलिक्सका केही स्रोतव्यक्तिले त्यही गरे जुन ‘गार्जियन’ र ‘वासिङ्टन पोस्ट’ जस्ता साधनसम्पन्न उदारवादी पत्रपत्रिकाले चाहेका थिएनन् । तिनीहरूले अमेरिकाको साम्राज्यवादका गुप्त कुरा प्रकाशित गर्थे । तर, अमेरिकी सेनाको विश्वसनीयतामाथि प्रहार गर्नेमा तिनीहरूको चासो हुन्नथ्यो । यसले गर्दा ती कार्यमा संलग्न अधिकारीहरूको करियर वा सत्ताको सिँढी उक्लिने तिनीहरूको क्षमतामा ¥हास आउन्नथ्यो ।
यतिबेला गाजामा इजरायली आक्रमणको विरोधमा ट्वीट गर्दा एबीसी रेडियोका प्रस्तोताहरूलाई हप्कीदप्की गरिएको छ । मध्यपूर्वमा संरा अमेरिकाले ठुला युद्ध गरिरहेको बेला मिडियाले दर्ज गरेका तथ्यहरू सम्झिनु समयसान्दर्भिक हुन्छ ।
ब्राउन विश्वविद्यालयले गत वर्ष जारी गरेको प्रतिवेदनमा ‘आतङ्कवादविरोधी युद्ध’ मा ४५ देखि ४६ लाख मानिस मारिएका थिए । सुरु सुरुमा अमेरिकी साम्राज्य र अस्ट्रेलियाजस्ता उसको अनुचर साझेदारहरूले आफूप्रति बफादार र सहयोगी मिडियाको भरमा सजिलै आफूले गरेका अत्याचारहरूबाट छुटकारा पाउँथे ।
त्यो युद्धको आरम्भमै एउटा नौलो आविष्कार गरिएको थियो । त्यो आविष्कार थियो – ‘साँठगाँठे पत्रकारिता’ । सेनाको विशेष दस्तामा युद्धपत्रकार लग्न थालियो । घरभित्रकै पत्रकार भएपछि आम मानिसमा भ्रम छर्न सजिलो भयो । सन् २००३ मा इराक युद्धको आरम्भमै साँठगाँठे पत्रकारको रूपमा ७७५ सम्वाददाता र फोटोपत्रकार खटिएका थिए । अमेरिकी सेनाले किन यो अभ्यास थाल्यो भन्ने प्रश्नको जवाफमा अमेरिकी जलसेनाका लेफ्टिनेन्ट कर्नेल रिक लङले दिएको जवाफ अचम्मै इमानदार रह्यो । उनले भने, “लुकाउनुपर्ने कुरा केही छैन, हाम्रो काम युद्ध जित्नु हो । आंशिकरूपमा यो सूचनायुद्ध पनि हो । यसकारण, हामीले सूचना परिदृश्यमा हावी हुन प्रयास गर्नेछौँ ।”
असान्जको पत्रकारिता र त्यसपछि उनीमाथि भएको अदालती कारबाहीले पश्चिमा प्रजातन्त्रको अन्तर कति खोक्रो छ भन्ने प्रस्ट पारेको छ । हाम्रा शासकहरू लोकतन्त्र, पारदर्शिता, जवाफदेहिता, वाक स्वतन्त्रता र मानव अधिकारजस्ता मूल्यमान्यताको महिमा गाएर थाक्दैनन् । तर, यी सबै मान्यता निःसर्त नभई साम्राज्य विस्तार गर्ने उद्देश्यप्रति समर्पित रहेछन् । साम्राज्य विस्तार राजनीतिक र कर्पोरेट स्वार्थसिद्धिकै अर्को रूप हो ।
पश्चिमा देशहरूले फरक मतलाई दबाउन साँठगाँठ गर्छन् र यस कार्यमा संलग्नहरूलाई नायकको रूपमा उभ्याउँछन् । तर, आफ्ना प्रतिस्पर्धीहरूले त्यही काम गरे त्यसको खेदो खन्छन् । पुटिनका आलोचक अलेक्सेइ नाभाल्नी आर्कटिक कारागारमा मृत अवस्थामा फेला परे । रुसी अधिकारीहरूले ‘आकस्मिक मृत्यु सिन्ड्रोम’ का कारण उनी मरेको बताए । यति भएपछि बाइडेनलाई पुगिहाल्यो । तुरुन्तै बाइडेनले नैतिक आक्रोश पोखे र पुटिनलाई त्यस मृत्युको दोषी ठह¥याए । बाइडेनले अमेरिकी संसद्मा राष्ट्रपतिले दिने वार्षिक मन्तव्यको साटो नाभाल्नीकी विधवा पत्नीलाई सम्बोधन गर्न निम्तो नै दिए । नाभाल्नीकी पत्नीले सही निर्णय लिइन् र बाइडेनको निम्तो अस्वीकार गरिन् ।
बाइडेनको पाखण्डको कुनै सीमा छैन । आज अमेरिकाले एकातिर गाजाका बालबच्चालाई भोकभोकै मार्दै छ भने उति नै बेला ती गाजावासीलाई मानव अधिकारको कुरा गर्ने अधिकार छैन भन्दै छ । सन् २०२१ मा अमेरिकाका एक पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारले एउटा गुप्त कुरा खोले । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका उच्च अधिकारीहरूले इक्वेडरको सरकारलाई लगाएर लन्डनस्थित इक्वेडरको दूतावासबाट असान्जलाई गलहत्याउने योजना पूरा नभए असान्जको हत्या नै गर्ने योजना बुनेका रहेछन् । संसारका अन्य देशले यस्तो काम गरेको भए ‘चरित्रवान्’ बन्दै अमेरिका कुर्लिहाल्ने थियो ।
असान्जको दुरावस्थाको लागि अस्ट्रेलियाका शासक खलक पनि जिम्मेवार छन् । संरा अमेरिकासँगको गठबन्धनको अगाडि असान्जको अस्ट्रेलियाली नागरिकताको कुनै अर्थ रहेन । अस्ट्रेलियाको सङ्घीय संसद्ले हालै बेलायत र संरा अमेरिकासँग ‘विषय टुङ्गयाएर श्री असान्जलाई घर फर्किने वातावरण’ बनाउन आग्रह गर्ने गरी एउटा मुख लुकाउने प्रस्ताव पारित ग¥यो । चुत्थो दन्तबजानलाई एकातिर राख्दै प्रधानमन्त्री अल्बानिजले बाइडेन सरकारलाई यस विषयमा दबाब नदिने जनाएका छन् ।
एबीसीको ‘इन्साइडर’ कार्यक्रममा प्रम अल्बानिजलाई असान्जमाथि लगाइएको आरोप रद्द गर्न बाइडेनसँग कुरा गर्नुपर्ने समय आएको छ कि छैन भनी सोधियो । त्यसमा उनले ‘छैन’ भने ।
अस्ट्रेलियाको शासक वर्ग आफू एकातिर पन्छिएर अमेरिकालाई दुनियाँ तर्साउन असान्जलाई नमुना बनाउन दिन पाएकोमा खुसी छ । त्यसै पनि अस्ट्रेलियाको संसद्ले सचेतकविरोधी र निगरानी ऐन पास गरेको छ । यो अमेरिकामा राष्ट्रपति बुशले ल्याएको ‘देशभक्ति ऐन’ जस्तै कानुन हो । अस्ट्रेलिया इराक र अफगानिस्तानमा आफूले गरेका अपराधहरू लुकाउन र अर्को युद्धको तयारीमा मन लगाउन उद्यत छ । अस्ट्रेलियाको प्रहरी अहिले ‘अफगान फाइल्स’ का दस्तावेज बाहिर चुहाउने एबीसीका पत्रकारहरूको खानतलासी गर्नमा तल्लीन छ । ती दस्तावेजले अस्ट्रेलियाली सैनिक बेन रोबट्र्स–स्मीथ र उनका भरौटेहरूका युद्धअपराध उदङ्ग्याएका थिए ।
खुफिया रहस्य र झूटबेगर पुँजीवादले काम गर्न सक्दैन । पुँजीवाद ठुलो आकारको हिंसामा निर्भर रहन्छ । नाफा र बजारसम्मको पहुँचका लागि अनेक राज्यहरू निरन्तर होडबाजीमा हुन्छन् । यसको लागि पुँजीवादमा हिंसा अनिवार्य छ । इराकमाथिको युद्ध झूटबाटै सुरु भएको थियो । बुश सरकारले सद्दाम हुसेनसँग आमनरसंहारकारी हतियार छ भन्ने झूटो हल्ला फैलायो । बेलायत र अस्ट्रेलियाजस्ता उसका आसेपासेहरूले त्यही झूट भट्याए । त्यसपछि युद्ध सुरु भयो । अपहरण र यातना ‘मानवीय व्यवहार’ बने, आमहत्यालाई ‘दिल–दिमाग जितेको’ भनियो, हमला र कब्जालाई ‘सत्ता परिवर्तन’, ‘मुक्ति’ र ‘लोकतन्त्र ल्याएको’ भनियो । मूलधारका प्रायः सबै मिडियाले यिनै झूट फलाके† प्रचार गरे । तिनीहरूभन्दा फरक असान्जले त्यसबारेमा सत्य बोले । यसैकारण, उनले ठुलो मूल्य चुकाउँदै छन् । उनी हाम्रो पूर्ण समर्थनको हकदार छन् ।
(एमआर अनलाइनबाट ।)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *